आठ वर्षपछि निर्देशिका कार्यान्वयनमा कडाइ

नेपाली उत्पादन प्रयोग गर्न सार्वजनिक निकायलाई सरकारको सर्कुलर/निर्देशन

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । सरकारले मातहतका निकाय र आयोगहरूलाई अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रूपमा नेपाली उत्पादन प्रयोग गर्ने सर्कुलर जारी गरेको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीनै तहका सरकार, मन्त्रालय, आयोग र मातहतका सार्वजनिक निकायलाई स्वदेशी उत्पादनको उपभोग बढाउन सर्कुलर जारी गरेको हो ।

मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका, २०७१ को प्रभावकारी कार्यान्वयन तथा सहजीकरणका गर्न सबै निकायलाई आग्रह गरेको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्वन्धि निर्देशिका २०७१ आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । निर्देशिका आएको आठ वर्षपछि सरकारले प्रभावकारी कार्यान्वयनमा ल्याउन खोजेको हो । निर्देशिकाविपरीत सरकारी निकायले विदेशी सामान प्रयोग गर्दै आएका थिए ।

अब १५ प्रतिशतसम्म महँगो भए पनि सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने भएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भए तापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको छ ।

मन्त्रालयका अनुसार सरकारी निकायले स्टेसनरी, फर्निचर (फिक्चर्स, मेसिनरी औजार जस्ता सामान खरिद गर्दा नेपाली नै गर्ने नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी किन्नुपर्ने छ । सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेसनरी, फर्निचर–फिक्चर्स, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म सबै नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

सामान खरिद गरेको विवरणबारे पनि अनुगमन हुनेछ । मन्त्रालयका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षण गर्दा नेपाली वस्तु खरिद भए/नभएको सम्बन्धमा प्रतिवेदन कैफियत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक निकायले स्वदेशी वस्तु खरिद गरेको विवरण तीन÷तीन महिनामा निर्देशिकाको दफा १३ बमोजिमको केन्द्रीय कार्यान्वयन तथा अनुगमन समितिमा विद्युतीय माध्यमबाट इमेल पठाउनुपर्ने छ ।

स्वदेशी मालसामान वा वस्तुको उत्पति प्रमाणपत्रको विवरण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल चेम्बर अफ कमर्स तथा मातहतका निकायले आफ्नो वेवसाइटमा प्रकाशन गर्ने र सार्वजनिक निकायले सो विवरणलाई समेत आधार लिई स्वदेशी वस्तु खरिद गर्नुपर्ने छ । स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस २५ गते मुख्यसचिव र सचिवहरूलाई स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले स्वेदशी उत्पादन प्रयोग गर्दै बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादन र उपभोगलाई जोड दिन निर्देशन दिनुभएको थियो ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा स्वेदशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गरी बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुको उत्पादन र उपभोगलाई जोड दिने उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?