परोपकारी व्यक्तित्व : विष्णुप्रसाद

विनोद दाहाल वत्स
Read Time = 30 mins

विष्णुप्रसाद गौतम मेरा लागि परिचित नाम होइन । मेरा लागि कतैबाट पनि उहाँ सुपरिचित हुनुहुन्नथ्यो । काठमाडौंको वनस्थलीमा एउटा समाजसेवी संस्था छ, ‘हेड्स नेपाल’ । त्यहाँका प्रतापराज वन्तसँग मेरो बेलाबेलामा भेट भइरहन्छ । उहाँले नै मलाई विष्णुप्रसाद गौतमका बारेमा बताउनुभयो ।

समाजसेवी गौतमका बारेमा जानकारी भएपछि मैले उहाँसँग भेट्ने चाहना गरेँ । उहाँलाई खोज्दै उहाँको निवाससम्म पुगेँ । केही वर्षदेखि उहाँ बिरामी हुनुहुँदोरहेछ । उच्च रक्तचापले मिर्गाैलालाई असर पारेको र दुवै मिर्गौलामा समस्या देखापरेपछि खानपानको परहेजमा रही नियमित रूपमा औषधि खाइरहेको अवस्थामा दुर्घटना पर्नु भएपछि झन् उहाँमा कठिन समस्या थपिएको रहेछ । घरबाट खासै कतै जान नसक्ने गरी थला परेकाले श्रीमतीले एक दिन पनि नछोडिकन सेवा गरिरहनुपर्ने उहाँको अवस्था । केही वर्ष पहिले दुर्घटनामा परेर स्पाइनल कर्डमा क्षति पुगेपछि उहाँ राम्ररी हिँड्डुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको रहेछ । वसुन्धराको नजिकै चक्रपथबाट बाहिर दश मिनेट जति हिँडेपछि उहाँको निवासमा पुग्न सकिने रहेछ ।

म टोखा नगरपालिका वडा-५ श्रीटोल हाइट वसुन्धरास्थित उहाँको निवासमा पुगेँ । पुग्नासाथ कुराकानीमै तल्लिन भइयो । दुई घण्टा जति हामीले भलाकुसारीमै बितायौँ । विष्णुप्रसाद गौतम २०१४ साल असार ८ गते पालुङ पाल्पामा जन्मिनु भएकोे हो । पालुङ हाल रिब्दिकोट गाउँपालिकामा पर्छ । उहाँका पिता पद्मनाथ गौतमका दुईजना पत्नीहरू तेजकुमारी र यमकुमारी गौतममध्ये उहाँ यमकुमारीतर्फको हुनुहुन्छ । उहाँका पिताका आठजना सन्तानमा उहाँ दोस्रो हुनुहुन्छ । दिदी कमलापछिको हुनुहुन्छ उहाँ ।

राम, कपिल र द्वारिका तीन भाइ तथा सीता, गीता र लक्ष्मी तीन बहिनीहरू हुनुहुन्छ उहाँका । उहाँका बुबा पद्मनाथ राजनीति एवं समाजसेवामा लागेका एक प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । उहाँको ज्योतिषशास्त्रमा र विशेषगरी साइतमा गहिरो विश्वास थियो । आमा यमकुमारी पनि अति मिलनसार र सहयोगी भावना भएकी नारी हुनुहुन्थ्यो ।

२०३२ साल फागुनमा पाल्पा भुटुका द्यौरालीका कृष्णप्रसाद आचार्य र ठगिसरा आचार्यकी छोरी निर्मलासँग उहाँको विवाह भयो । वैवाहिक बन्धनमा बाँधिएपछि उहाँहरूका चार सन्तानमा जुम्ल्याहा छोरीमध्येकी कान्छी छोरी सानैमा बितेकी हुनाले हाल एकजना छोरा सुदन गौतम र दुईजना छोरी गंगा–जमुना हुनुहुन्छ । करिब डेढ वर्षकी छोरीको अल्पायुमै भएको निधनले आफूहरू निकै मर्माहत भएको उहाँ सुनाउनु हुन्छ । उहाँका सबै छोराछोरीको विवाह भइसकेको छ । बुहारी ईशा केसी र नातिनी अभान्सी गरी उहाँको जम्मा पाँच जनाको परिवार छ । गौतमले नेपालका ४० भन्दा बढी जिल्लाको भ्रमण गर्नुभएको छ भने विदेश भ्रमणमा भारत, मलेशिया, सिंगापुर, थाइल्याण्ड र अमेरिकाको भ्रमण गर्नुभएको छ ।

लेखनमा विद्यमान अनेकौं वादतर्फ उहाँलाई कुनै चासो छैन, आफूले जे जति लेख्नुभएको छ, सेवाभावबाट प्रभावित भएर लेख्नुभएको छ । नेपालमा लेखेर बाँच्न सक्ने अवस्था चाहिँ बनिसकेको छैन भन्नुहुन्छ गौतम ।

उहाँका हजुरबा चन्द्रमणि गौतम त्यसबेला नै अक्षर चिनेको र धार्मिक शास्त्रहरूको अध्ययन गरेको व्यक्ति हुनुहुन्थ्यो । त्यसैले विष्णुप्रसाद गौतमले हजुरबाबाट सामान्य अक्षर चिन्ने र पढ्ने लेख्ने काम विद्यालय जानुभन्दा पहिले नै गरिसक्नु भएको थियो । विष्णुप्रसाद यस्तै परिवेशको परिवारमा जन्मिनु भएका उहाँमा सानैदेखि यस्ता कार्यप्रतिको सचेतता थियो । हजुरबाबाट सुनेका कारण उहाँलाई धेरै धार्मिक स्तोत्र कण्ठ थिए । त्यतिबेला पालुङमा पढाइको राम्रो व्यवस्था नभएको हँदा हजुरबाले घरबाट टाढा अर्थात् कुसुम खोलामा रहेको भवानी स्कुलमा लिएर जानुभयो । घरैमा साक्षर भएर जानुभएका कारण सुरुमै तीन कक्षामा भर्ना पाउनुभयो । उहाँले विद्यालयमा पढाएको छिटै नै बुझ्न थाल्नुभयो ।

घरबाट आउजाउ गर्न गाह्रो भएकाले बुढो मावलीमै बसेर पढ्न थाल्नुभयो । पछि पालुङमै आई चण्डिका प्राविमा भर्ना हुनुभयो र प्राथमिक तहको पढाइ पूरा गर्नुभयो । चण्डिका प्राविबाट प्राथमिक तहको पढाइ सक्नासाथ उहाँ माध्यमिक तहको पढाइका लागि पाल्पाकै भवानी माविमा भर्ना हुनुभयो र त्यहीँबाट माध्यमिक तहको पढाइ पूरा गर्नुभयो । त्यतिबेला पालुङमा शिक्षकको अभाव भएका कारण एसएलसी परीक्षा दिएपछि चण्डिका प्राविमा हेडमास्टरका रूपमा रहेर केही समय पढाउनुभयो । उहाँको पढाइले यसरी निरन्तरता पाइरहृयो । उहाँले प्रमाणपत्र तह पाल्पाकै त्रिभुवन बहुमुखी क्याम्पसबाट, जनप्रशासन क्याम्पस काठमाडौंबाट डिपिए (डिप्लोमा इन पब्लिक एडमिनिस्ट्रेसन) र काठमाडौंकै कीर्तिपुर क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर पूरा गर्नुभयो ।

गौतमले २०३७ साल जेठमा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय अनुसन्धान विभाग बालुवाटारबाट सहायक पदमा सेवा सुरु गर्नुभयो र त्यहाँ धेरै कुरा सिक्ने मौका पाउनुभयो । यसका साथै अध्ययनलाई पनि निरन्तरता दिनुभयो । फलस्वरूप २०३८ साल चैतमा नेपाल बैंकको अधिकृतस्तरमा नाम निकाल्न उहाँ सफल हुनुभयो । नेपाल राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर नेपाल बैंकबाट प्रदान गरिएको पूर्वसेवा प्रवेश तालिम लिई २०३९ साल वैशाखदेखि नेपाल बैंकको सिद्धार्थनगर शाखा भैरहवाबाट नेपाल बैंक लिमिटेडको जागिर सुरु गर्नुभयो । भैरहवाबाट २०३९ सालमा सुरु गरेको उहाँको जागिरे जीवनले २०६८ साल चैतमा अनिवार्य अवकाश लिएपछि विश्राम लियो ।

उहाँले यसबीच कार्यालय प्रमखका रूपमा स्याङ्जाको चापाकोट सुन्तलेटार, गोरखाको घ्याम्पेसाल, पर्वतको कुश्मा, सर्लाहीको मलंहवा, तथा रूपन्देहीको भैरहवामा रहेको सिद्धार्थनगर शाखा र अन्त्यमा बुटवलमा रहेको खस्यौली शाखामा सहायक शाखाप्रबन्धकका रूपमा सेवा गर्नुभयो । त्यहीँबाट पेन्सनमा सेवा निवृत्त हुनुभयो । यसरी नेपाल बैंकमा ३० वर्ष लामो अवधि सेवा गरेबापत उहाँले प्रशंसापत्र तथा प्रतीकसहित दीर्घसेवा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । यसैमा सन्तोष मान्नुभएको छ । विष्णुप्रसाद आपूmलाई मध्यम वर्गीय परिवारको भन्न रुचाउनुहुन्छ । हाल उहाँ अवकाश प्राप्त जीवन बिताइरहनुभएको छ । उहाँ सेवामा छँदा आफूले अरूले भन्दा भिन्न खास केही काम नगरे तापनि आफू आफ्नो कामबाट सन्तुष्ट छु भन्नुहुन्छ । यसका पनि केही कारण हुन सक्छन् । सेवामा छँदा बैंकको रकम हिनामिना गरेको र भ्रष्टाचारका कारण धेरै मेनेजरहरू विवादमा र विभागीय कारबाहीमा पर्ने गरेको उहाँले देख्नुभएको छ तर आपूmले त्यस्तो केही नगरेको बताउनुहुन्छ उहाँ । यसरी आफू सन्तुष्ट हुनेगरी काम गर्नसक्नुमात्र उहाँको एक प्रकारको सफलता नै मान्नुपर्छ ।

उहाँलाई साहित्यमा पनि रुचि छ । उहाँ छन्दको ज्ञान पनि राख्नुहुन्छ तर लेखनमा त्यति धेरै सक्रिय हुनुहुन्न । उहाँका पुस्तकाकार कृतिहरू छैनन् तर फुटकर रचना भने थुप्रै रहेछन् । तिनको कुनै साहित्यिक महत्व रहला भन्ने नलागेर विभिन्न पत्रपत्रिकामा प्रकाशित आफ्ना रचनालाई उहाँले संरक्षण गर्नु भएन । अहिले उहाँले तिनको साहित्यक महत्व बुझ्नुभयो तर तिनलाई संग्रह गर्न चाहेर पनि अशक्तताका कारण समर्थ हुनुभएको छैन । उहाँलाई यसमा दुःख पनि लागेको छ । यस्ता फुटकर रचनामध्ये लघुकथा, मुक्तक तथा केही त छन्दमा लेखिएका कविता थिए भन्नुहुन्छ उहाँ । कुराका सिलसिलामा थाहा भयो- उहाँहरू आफू (विष्णुप्रसाद गौतम, निर्मला गौतम) प्रकाशक भएर दैनिक संक्षिप्त आत्मशुद्धि वैदिक कार्यतालिका नामक पुस्तिका पनि स्वामी कृष्णानन्द परमहंसको सम्पादनमा छाप्नु भएको रहेछ ।

हेड्स नेपालको वार्षिक स्मारिका ‘हेड्स नेपाल दर्पण- २०७८’ मा प्रकाशित ईश्वरचन्द्र बानियाँले लेख्नु भएको ‘परोपकारको विकल्प परोपकार’ शीर्षकको विष्णु गौतमका बारेको लेखले नै मलाई उहाँका सम्बन्धमा केही लेख्न मन लाग्यो । उक्त लेख र अध्यात्म चिन्तनमा आधारित सेवा गरौँ भन्ने आशयको विष्णुप्रसाद गौतमको कविताबाट प्रभावित भएर पनि म उहाँको निवाससम्म उहाँलाई खोज्दै पुगेको थिएँ । हेड्स नेपालका माध्यमबाट पनि उहाँले समाजसेवाका लागि योगदान गर्दै आउनुभएको छ । उक्त लेखमा उल्लेख भएनुसार उहाँ हेड्स नेपालको आजीवन सदस्य हुनुहुन्छ र सो संस्थाले स्थापना गरेको शैक्षिक कोषमा एक लाख रुपैयाँ राखिदिनु भएको छ । त्यसका साथै मासिक एक हजार योगदान गर्दै आउनुभएको छ । उहाँ सो संस्थाको केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो, हाल स्वास्थ्यका कारण बस्नुभएको छैन । यसका अतिरिक्त हेड्स नेपालको बेलाबेलामा सञ्चालन गर्ने विभिन्न अभियानमा समेत सहयोग पुर्‍याउँदै आउनुभएको छ । उहाँ अरूतिर पनि विभिन्न समाजसेवी संस्थाहरूमा संलग्न रहनुभएको छ । अब उहाँले आफ्नो सम्पूर्ण ध्यान रुचिका साथ यही क्षेत्रमा केन्द्रित गर्दै आउनु भएको छ ।

लेखनबाट सामाजिक विसंगतिलाई उजागर गर्ने चाहना राख्नुहुन्छ र समाजवादी सोच राख्नुहुन्छ । लेखनमा विद्यमान अनेकौं वादतर्फ उहाँलाई कुनै चासो छैन । आफूले जे जति लेख्नुभएको छ सेवाभावबाट प्रभावित भएर लेख्नुभएको छ । नेपालमा लेखेर बाँच्न सक्ने अवस्था चाहिँ बनिसकेको छैन भन्नुहुन्छ गौतम तर उहाँको दृष्टिकोणमा आत्मसन्तुष्टि र सेवाभावबाट लेख्नेहरू भने धेरै छन् । उहाँ आपूm भने आत्मसन्तुष्टिका लागि लेख्ने गर्छु भन्नुहुन्छ । उहाँ बैंकिङ क्षेत्रको जागिरमा तल्लिन हुनु नपरेको भए साहित्यमै समर्पित हुन्थेँ होला भन्नुहुन्छ । उहाँको विचारमा साहित्य समाजलाई केही दिन सक्ने खालका हुनुपर्छ । साहित्य मानिसलाई सत्मार्गतिर लगाउने खालको हुनुपर्छ भन्ने उहाँलाई लाग्छ । हाल उहाँ चाहेर पनि केही गर्न सक्ने अवस्थामा हुनुहुन्न किनकि उहाँ बिरामी हुनुहुन्छ । उहाँले कतै कोरेको कविताको अंश सान्दर्भिक भएका कारण यहाँ पनि उद्धृत गर्दै भन्नुहुन्छ, ‘हिँड्दाहिँड्दै यत्तिकैमा मर्न पाए हुन्थ्यो, छिट्टै राम्रो ठाउँमा डेरा सर्न पाए हुन्थ्यो । सानातिना राम्रा काम त गरिराखेकै हो, अझै गर्व गर्ने कार्य गर्न पाए हुन्थ्यो ।’ रूपन्देहीमा गाडी दुर्घटनामा परेर उहाँको स्पाइनल कर्डमा समस्या आयो । हाल उहाँ पेरिफेरल न्यूरोप्याथीले पीडित अवस्थामा हुनुहुन्छ । राम्रोसँग बस्न, खान, हिँड्न, डुल्न मिल्दैन । वाकरका भरमा हिँड्नुहुन्छ, राम्रोसँग उभिनसमेत मिल्दैन ।

उहाँको रुचि साहित्य, संगीत नाचगान, छन्दका कविता वाचन श्रवणमा पनि रहेको छ । उहाँ समाजसेवामा समर्पित हुनुहुन्छ । उहाँ लेखनलाई पेशा पनि हो भन्नुहुन्छ तर लेखनलाई थोरैले मात्र पेशा बनाएका छन् र धेरैका लागि शोखको विषय हो भन्ने ठान्नु हुन्छ । नेपालमा लेखेर बाँच्न सकिने अवस्था चाहिँ अझै बनिनसकेको उहाँको धारणा छ । उहाँलाई उहाँको राजनीतिक आस्थाका बारेमा सोधेको प्रश्नको उत्तर पनि उहाँले निर्भीकताका साथ दिनुभयो, ‘म समाजवादमा विश्वास गर्छु तर हाल नेपालका लागि संघीयता घाँडो भएको छ’, उहाँ भन्नुहुन्छ । उहाँले जीवनको लामै यात्रा गर्नुभयो । पछाडि फर्किएर हेर्दा आफू कहाँ आइपुगेको जस्तो लाग्छ त ? भनेर सोधेको प्रश्नको उत्तरमा उहाँ सोचेनुसार नै त भएको छैन तैपनि अहिलेसम्म त ठीक ठाउँमै आइपुगेको छु जस्तो लाग्छ भन्नुहुन्छ । पैसाको अभाव भएर तीर्थ गर्न पाइएन अनि बिरामी हुँदा औषधोपचार गर्न पाइएन भन्ने अवस्था भएन भन्ने उहाँलाई लागेको छ । धेरै सम्पत्ति कमाउन नसके पनि अभावको जीवन बाँच्नु परेन भन्ने उहाँलाई लाग्ने गर्छ ।

हालका दिनमा मुद्राको महत्व घटिरहेको छ । यसको कारक उहाँ सरकारलाई देख्नुहुन्छ । ‘सरकारबाट गम्भीरता अपनाइएन, तथ्यका आधारमा विश्लेषण गरिनुपर्नेमा सबै स्वार्थको पछि लागे । नयाँ केही बनाइएन र पुरानाको संरक्षण पनि गरिएन’ उहाँ यसरी आफ्नो धारणा राख्नुहुन्छ । नेपालको बैंकिङ क्षेत्रमा कहिलेकाहीँ नक्कली सुन र कमसल जग्गा धितो राखेर ऋण लिने गरेका घटना नभएका होइनन् र यस्ता काममा बैंकका कर्मचारीहरूको समेत संलग्नता रहने गरेको भन्ने सुनिन्छ । यस क्षेत्रमा यी लगायत यस्ता विकृति धेरै छन् भन्ने उहाँले देख्नुभएको छ । यस्ता विकृतिलाई हटाउँन उहाँले सबैभन्दा पहिलो कुरा नै निर्णय गर्ने व्यक्तिमा इमानदारी हुनुपर्ने देख्नुभएको छ ।

विष्णु गौतम भन्नुहुन्छ, ‘हुन त इमानदारी हरेक क्षेत्रमा आवश्यक हुन्छ, त्यसमा पनि आर्थिक कारोबार हुने बैंकिङ क्षेत्रमा यसको अति नै आवश्यकता छ । स्वस्थ बैंकिङ क्रियाकलापका लागि बैंकका कर्मचारीमात्र इमानदार भएर पुग्दैन ग्राहकको नियत पनि उत्तिकै सफा र स्पष्ट हुनु आवश्यक पर्छ । कमसल जग्गा धितोमा राखेर बढी मूल्यांकन गराएर बढी ऋण स्वीकृतिका लागि आउने ग्राहक अथवा कमसल गहना धितो राखेर कर्जा लिन आउने ग्राहकले आफ्नो कर्जा गर्जो टार्नेभन्दा पनि बैंकलाई ठग्ने नियत अथवा मनसायले आएर बैंकका कर्मचारी फसेका उदाहरण, विभिन्न संघसंस्था, स्थानीय निकायका कर्मचारीहरूबाट चेकमा दस्तखत चोरेर मिलाएर, रकम थपघट गरेर विश्वासघात भएका कुराहरू, मृतव्यक्तिको वृद्धभत्ता भुक्तानी लिएका कुराहरू गलत नियतले भएगरेका क्रियाकलाप हुन् ।’ त्यसैले ठगीबाट बच्न बैंक बढी चनाखो हुनु आवश्यक छ भन्ने उहाँलाई लाग्छ ।

त्यस्तै, सहकारी संस्थाहरूले जम्मा भएको रकम लिएर हिनामिना गरी सदस्यहरूलाई अलपत्र पार्ने गरेको घटना पनि बारम्बार दोहोरिने गरेको पाइन्छ । यस्ता घटना बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा आर्थिक अनुशासन र जवाफदेहिता बचाउने नीति नियमको व्यस्था गर्नुपर्ने हुन्छ । बैंकठगी, घोटाला काण्डहरूको बिगबिगी छ । केवाइसीले केही हदसम्म नियमिततामा सघाउ पुगेको छ, तापनि मूल्यांकनमा इन्टेग्रिटीको अत्यन्त महत्वपूर्ण स्थान रहन्छ । सबैभन्दा ठूलो कुरा इन्टेग्रिटीको वा नियत र निष्ठा हो, उहाँ भन्नुहुन्छ । शिक्षा क्षेत्रमा नैतिक शिक्षा, व्यावहारिक र व्यावसायिक शिक्षा संस्कृत भाषाको ज्ञान, नेपाली भाषाको ज्ञान, ह्रस्व-दीर्घमा प्राथमिकता दिएर स्तरीयता कायम गर्नु आवश्यक छ भन्ने उहाँलाई लाग्छ । उहाँ अहिले सबैमा व्यक्तिवादी चिन्तन रहेको र यसबाट देशलाई धोका हुनसक्ने भएका कारण सरकारले यसका लागि अभिभावकत्व लिन सक्नुपर्छ भन्नुहुन्छ । यो सबै अवस्था जनताप्रति उत्तरदायी हुनुपर्ने सरकारले आफूले अभिभावकत्व नलिएका कारणले पैदा भएको उहाँले ठान्नुभएको छ । अनुशासन, इमानदारी र देशप्रेम महत्वपूर्ण गहना हुन् । यसलाई युवाहरूले आत्मसात गर्नुपर्छ भन्नुहुन्छ गौतम ।
सेवा गरेपछि जुन आनन्द मिल्छ त्यसको तुलना अरू केहीसँग हुन सक्दैन । उहाँ यही मान्यताका आधारमा यसको पालना गर्नुहुन्छ । उहाँको अहिलेको शारीरिक अवस्थाबाट चाहिँ आफू उक्त आनन्दबाट वञ्चित हुनुपरेकोमा अलिक दुःखी बन्न पुग्नु भएको छ उहाँ । उहाँ कुनै परोपकारी काममा जाँदा २०७७ साल चैत १ गते बुटवलबाट पश्चिममा दुर्घटनामा परेर अहिलेको अवस्थामा पुगेको हुँ भन्नुहुन्छ । बाहिरफेर घुम्ने, डुल्ने र विभिन्न परोपकारी संस्थाको कार्यक्रममा गइरहने मानिस यसरी घरैमा बसिरहँदा उहाँलाई शून्यताको महसुस भइरहेको छ, एकांगी जीवनले सताइरहेको छ । त्यसैले त उहाँ भन्नुहुन्छ :
निसर्गको फन्दाभित्र फसेजस्तो भा’छ ।
अहिले मलाई दिउँसै बास बसेजस्तो भा’छ ।।
तर, उहाँले छिमेकी, आफन्त, घरपरिवार, साथीभाइ सबैंको सरसहयोग, सद्भाव र स्नेह पाइरहनु भएको छ । यसकारण आफू उहाँहरू सबैप्रति ऋणी भएको ठान्नुहुन्छ । उहाँ सम्झिनु हुन्छ, राष्ट्र बैंकमा जागिर खाँदा भरतकृष्ण शर्माले नेपाली भाषालाई सम्मान गर्न र आफ्नो कमजोरी सुधार गर्न प्रेरित गर्नुभयो । शर्माकै सुझाब अनुसार उहाँले कृष्णप्रसाद पराजुलीको ‘राम्रो रचना मीठो नेपाली’ पढ्नुभयो र आफ्नो भाषिक कमजोरीमा सुधार गर्नुभयो । उहाँलाई डा.लक्ष्मणबहादुर हमालले पनि अगाडि बढ्न सधैं हौसलाका साथ प्रेरित गर्नुभयो । उहाँको माया र महत्वपूर्ण योगदानप्रति आपूm सधैं आभारी रहेको उहाँ बताउनुहुन्छ । यसरी नै टुलराज बस्यालबाट पनि उहाँलाई सामान्य ज्ञानका लागि प्रेरणा प्राप्त भयो भने भोगेन्द्र बस्नेतको लेखनशैलीबाट पनि उहाँ प्रभावित भएको बताउनुहुन्छ ।

त्यसैले उहाँ भाषा साहित्यको उन्नयनमा निकै चासो राख्दै आउनुभएको छ र यस क्षेत्रमा निकै सचेत हुनुहुन्छ । यसरी प्राविधिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूले समेत आफ्नो भाषालाई माया गरेको देखेपछि उहाँ जो नेपाली भाषा र साहित्यका क्षेत्रमा लाग्नुभएको छ उहाँहरूले अझै बढी यही क्षेत्रमै समर्पित हुनुपर्ने देख्नु भएको छ । जागिरे जीवनमा राजनसिंह भण्डारी, भवानीदेवी शर्मा, केशरप्रसाद, श्रेष्ठ बिर्सैनै नसकिने नाम हुन् भन्नुहुन्छ उहाँ ।

बैंकिङ क्षेत्रमा कहिलेकाहीँ नक्कली सुन र कमसल जग्गा धितो राखेर ऋण लिनेदिने गरेका घटना पनि नभएका होइनन्, यस्ता काममा बैंकका कर्मचारीहरूको समेत संलग्नता रहने गरेको भन्ने पनि सुनिन्छ । यस्ता विकृतिलाई हटाउन उहाँले निर्णय गर्ने व्यक्तिमा इमानदारी हुनुपर्ने देख्नुभएको छ ।

योगी नरहरि नाथले कसैको पनि मासु र आँसु खानुहुँदैन भनेको कुराले आफूलाई छोएको बताउनुहुन्छ । शाकाहारी भोजनले मानिसमा दया र करुणाको भाव जगाउनमा मद्धत पुग्ने उहाँको अनुभव छ । शान्ति र सद्भावका लागि मान्छे तड्पिरहेको र संवेदनशीलता हराउँदै गएको हालको हाम्रो समाजमा यस कुरालाई बेलैमा मनन गर्नुपर्ने उहाँको ठम्याइ छ । यसै प्रसंगलाई जोड्दै उहाँ थप्नुहुन्छ, ‘हामी सबैले महसुस गरेकै कुरा हो, हामी जीवनमा सुख र शान्ति चाहन्छौँ । जीवनमा शान्तिको ठूलो महत्व छ । व्यक्तिगत तबरमा शान्तिका लागि ध्यानको आवश्यकता रहन्छ र ध्यानका लागि सात्विक आहार जरुरी छ । त्यसैले स्वास्थ्य र सार्थक जीवनका लागि बेलैमा शाकाहारी जीवन शैली अपनाउनुमा नै सबैंको कल्याण छ ।’

‘वर्तमानमा गरेका कर्मले नै आउँदो समयमा आफूलाई मूल्यांकन गर्ने अवसर दिन्छ । ‘हाल म यही बोध गरिरहेको छु’ उहाँ यसरी अध्यात्मबारेको आफ्नो धारणा राख्नुहुन्छ । गौतम भन्नुहुन्छ-‘आध्यात्मिक क्षेत्रमा मलाई प्रा.डा.वेणीमाधव ढकाल, शक्तिमाता लीलादेवी न्यौपाने, सत्यनारायण झा, आनन्दमूर्ति गुरुमाँ, एवं गुरुदेव परमहंस ज्ञानेश्वर महाराज (कुरुक्षेत्र) तथा जीवन विज्ञानका एलपी भानु शर्मा र रमेश नेपालको प्रेरणा र मार्गदर्शनको छाप परेको छ, उहाँहरूप्रति सदैव कृतज्ञ छु ।’ उहाँ जीवनविज्ञान, मानवसेवा आश्रम, समता स्कुल, राष्ट्रिय परोपकार महासंघ, पोखरा साथै भारतको नारायण सेवा संस्थान आदिसँग कुनै न कुनै रूपमा जोडिनुभएको छ । अरूतिर पनि विभिन्न समाजसेवी संस्थामा उहाँ संलग्न रहनुभएको छ । अब उहाँले आफ्नो सम्पूर्ण ध्यान रुचिका साथ यही क्षेत्रमा केन्द्रित गर्दै आउनुभएको छ । आफू काम गर्न सक्ने हुँदाहुँदै नोकरी अवधि ३० वर्ष पुगेका कारण अनिवार्य अवकाश लिनुपर्दाको पीडा भने उहाँमा रहेको पाइन्छ ।

गौतमका कविताका केही अंश :
परोपकारको विकल्प नै परोपकार हो ।
यही निचोड हो तथा सबै पुराण सार हो ।।
परोपकार कर्म हो सदावहार धर्म हो ।
सही विवेकको सदा प्रयोग खास मर्म हो ।।
सधैं-सधैं चिसो हुने हिमालको विशेषता ।
दयालुको निसर्ग नै मनुष्यको विशेषता ।।
(परोपकारबाट)
हाम्रो व्यवस्था र जनताको साइनो जोडिएन ।
हाम्रो गलत परम्परा अझै तोडिएन ।।
धिक्कार छ ! हामीलाई हाम्रो समाजलाई ।
मानिसलाई दिसा खुवाउन अझै छोडिएन ।।
घुमीफिरी रुम्जाटार भने जस्तै चाला ।
हाम्रो यात्रा विकासतर्फ अझै मोडिएन ।।
(अपरिवर्तनबाट)
साहित्यका सचेत पाठक तथा समाजसेवाका अग्रणी व्यक्तित्व विष्णुप्रसाद गौतमलाई सुस्वास्थ्य र दीर्घजीवनको कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?