६ महिनादेखि अलपत्र छ म्याग्दीमा निर्माणाधिन रावण पार्क

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 12 mins

म्याग्दी । म्याग्दीमा निर्माणाधिन रावण पार्कको निर्माणकार्य विगत ६ महिनादेखि अलपत्र परेको छ । हिन्दूहरुको धार्मिक ग्रन्थ रामायणमा खलपात्रको रुपमा चित्रण गरिएका रावणको मुर्तिसहितको उक्तपार्क आर्थिक अभावका कारण अलपत्र परेको हो ।

पार्क बेनी नगरपालिका, ५ पुलाश्रममा निर्माण गर्न लागिएको हो । संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक बर्षदेखी बेनी नगरपालिकासँगको साझेदारीमा पुलाश्रममा ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण थालिएको थियो ।

पार्क ०७९ फागुनमा निर्माण पुरा गर्ने सम्झौतामा उल्लेख भएपनि गत वर्ष बेनी नगरपालिकाले निर्माण प्रगति विवरण नबुझाएकोले मन्त्रालयले भुक्तानी रोकेपछि पार्क निर्माण अलपत्र परेको हो ।

मन्त्रालयको ७० प्रतिशत र बेनी नगरपालिकाको ३० प्रतिशत नगद लगानी हुने गरी अघिल्लो ०७७ फागुनमा १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँमा धर्म एस. कास्यप जेभी कलंकी काठमाण्डौले ठेक्का लिएको थियो ।
साझेदारी सर्त अनुसार पार्कको घेरावार, संरक्षण र जमिन सम्याउने समेतका काम भएको र रावणको मुर्ति समेत निर्माण सुरु गर्न नगरपालिकाले ठेकदार कम्पनीलाई रनिङ विल भुक्तानी गरेको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलाश्रम क्षेत्रमध्य ४ रोपनी क्षेत्रफलमा मात्र रावण पार्क बनाउन लागिएको हो ।

‘मन्त्रालयले गत आवमा भुक्तानी रोकेपछि रावण पार्क निर्माण स्थगित छ’ बेनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले भने ‘चालु आवमा मन्त्रालयले सुरु किस्ता १५ लाख पठाएको छ । तर हामीसँग थप बजेट नभएकोले काम गराउन सकेका छैनौं ।’
मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँले काठमाण्डौमा बनेको मुर्ति ल्याई प्रतिस्थापन गर्ने र बाँकी काम थप श्रोत जुटाई काम गर्ने र पार्क अलपत्र परेकोले मन्त्रालयमा थप बजेट निकासाकालागी अनुरोध गर्न जाने तयारीमा नगरपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनु भयो ।

हिन्दु धार्मिक ग्रन्थमा असुर राजा (राक्षस) को रुपमा चरितार्थ गरिएका चर्चित पात्र रावणको मुर्तिसहित बन्न लागेको संभवत नेपालको पहिलो पार्क हो । पुलाश्रममा रहेका ऋषिमुनी मन्दीर, हवन कुण्ड, रावणको नाभी गाडिएको स्थानलाई यथावत संरक्षणगरी ६ मिटर अग्लो रावण मुर्तिसहित बगैचा, विश्रामस्थल, घेरावार र जमिन संरक्षण समेतका पूर्वाधार निर्माण गर्ने योजना छ ।

महाभारतका मुख्य पात्र मध्यका रावणलाई राक्षस भनी घृणा गर्ने र रामलाई देवता मानी पुज्ने समाजमा रावण पार्क निर्माण थालिएपछि स्थानीयले भने पर्यटन प्रर्वद्धन भै पुलाश्रमको महत्व झन बढ्ने ठानेका छन् । म्याग्दी उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष प्रमोद श्रेष्ठको अगुवाईमा ०६६ सालमा बनेको रावण पार्कको अवधारणा लाई बेनी नगरपालिकाले गुरुयोजना तयार गरी कार्यान्वयन गरेको हो ।

ठेक्का प्राप्तीपछि कार्यस्थलमा पुगेको निर्माण कम्पनीका इन्जिनियर सन्तोष ओझाका अनुसार रावणमुर्क्तित काठमाडौंमा कुँद्न थालिएको छ । रावण पार्क रहने पुलाश्रमबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यकासाथी म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसमेत जिल्लाका अधिकांश भुगोल तथा पर्वतको जलजला गाउँपालिका राम्रोसंग दृश्यावलोकन गर्न सकिन्छ ।
सदरमुकाम बेनीदेखी पश्चिम उत्तरमा करीव १५ सय मिटर उचाइमा अवस्थित तपोभुमि पुलहआश्रममा रहेको होमकुण्डमा प्राचिन चरुको अवशेष (खरानी रंगको चिम्टाइलो माटो) अझै पनि देख्न र हेर्न सकिन्छ । पुलस्त्य ऋषिको वास्तविक आश्रमको स्वरुप कस्तो थियो किटानसाथ भन्न सकिने आधार छैन । तर वर्षौदेखि पुलाश्रममा पुलस्त्य समेत ऋषिहरुको ढुङ्गाका आकृति कोरी पूजा गर्ने गरिएको छ । पुलाश्रम मन्दीरमा देवी–देवताको नभै ऋषिहरुको पूजाअर्चना गरिन्छ ।

विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक हो म्याग्दीको पुलाहाश्रम क्षेत्र

हिन्दूहरुका धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराण,रामायण र महाभारतमा वर्णन गरिएको पुलहाश्रम क्षेत्र म्याग्दी जिल्लामा पर्दछ ।
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ ।

पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ ।
पुराणका अनुसार यही क्षेत्रमा रामायणमा खल पात्रको रुपमा वर्णन गरिएका लंकाका राजा रावणको जन्म भएको थियो ।
रावणको जन्म भएको यही ठाउँमा संसारकै एक मात्र रावणपार्क बनाउने उद्धेश्यले बेनी नगरपालिकाले योजना निर्माण गरेर पार्क निर्माणको जिम्मा ठेकेदारलाई दिएको थियो ।

पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार गर्ने योजना थियो । पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको थियो । तर, भएको कामको समेत भुक्तानी नभएको भनेर ठेकेदार कम्पनीले काम रोकेर हिडेपछि रावणको मुर्ती राख्ने पार्कमा झार उम्रिएको छ भने आसपासका क्षेत्रमा माटो थुप्रिएको छ। मन्दिर आसपासका क्षेत्र उजाड देखिन्छ । यहाँको पहिलेको संरचनासमेत भताभुङ्ग भएको छ । काम लथालिङ्ग छ ।

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५,पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम सकिएपनि थप पूर्वाधारमा बजेट अभावले भविष्य के हुने भन्ने अन्योलता रहेको छ ।

परिकल्पना भएको एक दशकसम्म विवाद र अलमलले अलपत्र परेको अवस्थामा बेनी नगरपालिकाको पहलमा तथा निरन्तर सक्रियताले बजेटको सुनिश्चितता सँगै पौराणिक प्रमाणलाई यथावत् राखेर आश्रम आसपासको क्षेत्रमा बगैंचा, विश्रामस्थल, लगायत आसपासका क्षेत्रमा घेराबार सहितको पूर्वाधार बनाउने काम सुरु गरिएको अवस्थामा अहिले रोकिएको स्थानीयबासी शिव बानियाँले जानकारी दिनुभयो ।
‘ठेकेदारले यहाँको स्रोत नै लुटे, स्थानीयसँग समन्वय समेत गरेन्,पहिलेको सुन्दरतालाई झन कुरुप बनाए’ बानियाँले भन्नुभयो । स्थानीयले अहिले रोकिएको काम, ठेकेदार, स्थानीय सरोकारवाला निकाय लगायतको बेवास्ताले अस्तब्यस्त भएको बताएका छन् ।

काठमाडौंमा रावणको मुर्ति बनाउने काम सकिएपनि बजेट अभाव भएपछि बेनी नगरपालिकाको लोकप्रिय योजनामा केन्द्रबाट बजेट प्राप्त हुन नसकेको बेनी नगरपालिकाले जनाएको छ ।

पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रावण पार्क बनाउन घेरावार सहितको संरचनाको तयारी गरिएको थियो ।

डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाउनुपर्नेमा अहिले बजेट अभावमा योजना अलपत्र परेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनु भयो ।

२३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा केन्द्रबाटै बजेट नआएपछि काम रोकिएको नगरपालिकाले जनाइएको छ ।समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट बागलुङ र पर्वत जिल्लाको विभिन्न भूगाग सँगै आधा दर्जन हिमश्रृंखला समेत देखिन्छ ।
पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ ।

सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ ।

ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको कुरा श्रीमद्भागवत महापुराणमा उल्लेख भएको पुलह, पुलस्त्य मन्दिरका पुजारी जगदिश सुवेदीले बताउनु भयो । उहाँका अनुसार ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?