पछिल्लो तीन वर्षमा इन्धन र गाडी मर्मतमा तीन करोड २५ लाख खर्च

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 7 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा सवारी मर्मत र इन्धनमा तीन करोड २५ लाख १३ हजार ३५० रुपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले तीन वर्षमा गाडी मर्मतमा मात्रै एक करोड ६४ लाख ४९ हजार २९४ रुपैयाँ र इन्धनमा एक करोड २५ लाख १३ हजार ३५० रुपैयाँ खर्च गरेको विवरण प्राप्त भएको छ ।

विवरण अनुसार तीनवटा गाडी, ट्याक्टर, व्याकहो लोडर, दमकल र मोटरसाईकलसहित आर्थिक वर्ष २०७७/२०७८ मा ४९ लाख ९३ हजार ७१४ रुपैयाँ, आर्थिक वर्ष २०७८/२०७९ मा तीनवटा गाडी, ट्याक्टर, व्याकहो लोडर, दमकल र मोटरसाईकलसहित ६८ लाख २४ हजार ६३० र आर्थिक वर्ष २०७९/२०८० मा तीनवटा गाडी, व्याकहो लोडर र मोटरसाईकलसहित ४६ लाख ३० हजार ९५० रुपैयाँ मर्मतमा खर्च भएको छ ।

यस्तै, ईन्धनतर्फ आर्थिक वर्ष २०७७÷२०७८ मा तीनवटा गाडी, ट्याक्टर, व्याकहो लोडर, दमकल र मोटरसाईकलसहित ४८ लाख एक हजार ४८३ रुपैयाँ, आर्थिक वर्ष २०७८/२०७९ मा तीनवटा गाडी, ट्याक्टर, व्याकहो लोडर, दमकल र मोटरसाईकलसहित ६६ लाख २४ हजार ९८० रुपैयाँ र आर्थिक वर्ष २०७९/२०८० मा तीनवटा गाडी, मोटरसाईकल र व्याकहो लोडरसहित ४६ लाख ३७ हजार ५९३ रुपैयाँ ईन्धनमा खर्च भएको छ ।

तत्कालिन मेयर दिपनारायण रिजाल, उपमेयर विणादेबी राईको कार्यकालमा खरीद गरिएको दमकल आर्थिक वर्ष २०७७/२०७८ र आर्थिक वर्ष २०७८/२०७९ मा मर्मत गरिएको र दमकललाई इन्धन खरीद गरिएको देखिन्छ । तर, २०७७ चैत ३१ गते रत्नपार्कस्थित गणेश फर्निचर उधोगमा आगलागी हुँदा दमकल आए पनि पानी फाल्न सकेको थिएन । त्यसयता जिल्ला समन्वय समितिको अगाडी र कुना सडकमा थन्किएर बसेको दमकलमा पनि खर्च भएको देखिएको छ ।

त्यतिकै थन्किएर बसेको दमकल वर्तमान मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको कार्यकाल(२०७९ जेठ ६ गते सपथ/पदभार ग्रहण)सुरु भएपछि २०७९ पुस ९ गते बाम्राङको झिसेपुमा भएको आगलागीमा मात्रै दमकल पुगेको देखिएको थियो । त्यसयता दमकल थन्किर बसेको छ । चल्ने अवस्थामा छैन ।

नगरमा कस-कसले प्रयोग गर्छन गाडी,मोटरसाईकल
नगरपालिकामा मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई र प्रमुख प्रशासकीय अधिकृतले गाडी प्रयोग गर्छन् । हाल प्रशासकीय अधिकृत नभएकाले गाडी चलेको छैन ।

उपमेयर विसन राई, लेखा अधिकृत राजकुमार राई, सहायक पाँचौ शौधन राई, इन्जिनियर रामह्रदय पटेल, कृषि प्रसार अधिकृत तेजप्रकाश आचार्य, सव ईन्जिनियर नविन आचार्य, अभिनय मल्ल, संजय राई, सह लेखापाल नवराज रिजाल, सवारी चालक युवराज गुरुङ, कार्यालय सहयोगी मोहन दुलालले एक/एकवटा मोटरसाईकल र कम्प्युटर अपरेटर डार्विन राईले एकवटा स्कुटर प्रयोग गरिरहेका छन् ।

कुन वडामा कति मोटरसाइकल ?

नगरपालिकाको १५ वडामध्ये हाल दिक्तेल, बाम्राङ, खाल्ले, बुवालुङ, निर्मलीडाँडामा मोटरसाइकल छैन । जालपा र बिजयखर्कमा एक/एकवटा नयाँसहित तीन/तीनवटा मोटरसाइकल रहेको पाईएको छ । जालपाका वडाध्यक्ष दान बहादुर राईले भर्खरै सात लाख ३९ हजारमा खरीद गरिएकोे होन्डा एक्सआर १९० सीसीको र सचिव पवन श्रेष्ठले पूरानै मोटरसाइकल प्रयोग गरिरहेका छन् । अर्को मोटरसाइकलको प्रयोगकर्ता थाहा नभएको नगरपालिकाले जनाएको छ ।

बिजयखर्कमा तीनवटा मोटरसाइकलमा एकवटा वडाध्यक्ष राम बहादुर कट्वालले प्रयोग गर्ने गरेको र दुईवटाको प्रयोगकर्ता थाहा नभएको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष कटवालले भर्खरै तीन लाख ४९ हजारमा खरीद गरेको होन्डा एक्सआर १६० सीसीको बाईक प्रयोग गर्छन् ।

लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले पनि भर्खरै छ लाख ४९ हजारमा खरीद गरेको होन्डा एक्सआर १५० सीसीको, नेर्पाका वडाध्यक्ष माधव राईले पूरानै, दोर्पा चिउरीडाँडा ७ का वडाध्यक्ष हरीप्रसाद चौलागाँई र वडा सचिव प्रभुराम कटवालले पूरानै एक/एकवटा, सोल्मामा वडासचिव गोमादेवी ढकाल र प्रदिप ओलीले पूरानै मोटरसाइकल चलाउने गरेका छन् ।

पाथेकाका वडाध्यक्ष मुगाधन राईले भर्खरै छ लाख ४९ हजारमा खरीद गरेको होन्डा एक्सआर १५० सीसीको, खार्मीका वडाध्यक्ष ईख बहादुर राईले भर्खरै सात लाख ४९ हजारमा खरीद गरेको होन्डा एक्सआर १९० सीसीको र नुनथलाका वडाध्यक्ष भगेश्वर राई, वडा सचिव चिरञ्जिवि आचार्य तथा बुईपाका वडाध्यक्ष दिनेश राईले पूरानै एक/एकवटा मोटर साइकल प्रयोग गरिरहेका छन् ।

जानकारी अनुसार वडा कार्यालयबाट फिर्ता भई नगरपालिकामा विग्रेको अवस्था ५ थान मोटरसाइकल छन् । दिक्तेल, खार्मी, खाल्ले, लफ्याङ र बाम्राङले पूरानो मोटरसाइकल फिर्ता गरेको हो । नगरपालिकामा १३, वडाहरुमा १७ तथा विग्रेका ५ गरी नगरपालिकामा जम्मा ३५ वटा मोटरसाइकल रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?