चार दलको ग्रिन सिग्नल पाएसँगै पुरानो गठबन्धन ब्युँताउने कसरतमा कांग्रेस

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दलहरुले भेटघाट र छलफललाई तीव्र पारेका छन् । एकाएक पुस १० अप्रत्यासित भत्किएको पुरानो गठबन्धन फेरि ब्युँताउने जिम्मा नेपाली कांग्रेसले लिएको छ ।

कांग्रेसका शीर्ष नेताले आज एकैदिन पटक पटक गरी अन्य चार दलका शीर्ष नेतासँग छलफल अघि बढाएका थिए । कांग्रेस पाँच दलीय गठबन्धन ब्यूँताउन सकेसम्म प्रयासमा लागेको छ । त्यसका लागि कांग्रेसभित्र सघनरुपमा छलफल चलिरहेको कांग्रेसकै नेताहरुले बताएका छन् । आज दिनभरको छलफलमा सहभागी कांग्रेसका एक नेताका अनुसार राष्ट्रपति निर्वाचनका लागि पुरानै गठबन्धनलाई ब्युँताउनेबारे अन्तिम निष्कर्ष निकाल्ने तयारी भइरहेको छ । सम्भवत भोलि साँझसम्ममा निर्णयमा पुगिने उनले बताए । उनले भने, ‘पुराना गठबन्धनभित्रका दलहरुका नेताहरुबीच छलफल भयो, भोलि पुनः छलफल गरेर साँझसम्म एउटा निष्कर्षमा पुग्छौं ।’

पाँच दलीय पुरानो गठबन्धन ब्युँताउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले बुधबार दिनभर चरणबद्ध तत्कालीन गठबन्धनका सबै दलका नेताहरूसँग छलफल गर्नुभएको थियो ।

कांग्रेस सभापति देउवाले आज नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग आफ्नै निवासमा चरणबद्ध छलफल गर्नुभएको थियो भने बेलुका कांग्रेस शीर्षहरूसहित बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक वार्ता गर्नुभएको थियो । त्यसक्रममा राष्ट्रपति निर्वाचनमा विगतको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे सघनरूपमा छलफल भएको हो ।
छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनका कुरा कोट्याउँदै कांग्रेस नेताहरूले पाँच दलीय गठबन्धनलाई फेरि व्युँताउनुपर्ने धारणा राखे भने प्रतिउत्तरमा अन्य दलका नेताहरुले पनि करेक्सन गरेर जान सकिने बताएका थिए ।

राष्ट्रपति भने नेपाली कांग्रेसलाई नै दिएर अगाडि बढ्ने विषयमा लगभग सहमति समेत भइसकेको ती नेताले बताए । कांग्रेसको राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने उनले दाबी गरे ।

ठूलो दलको हैसियतले राष्ट्रपति कांग्रेसलाई नै दिने विषयमा लगभग सहमति भएको उनले बताए । त्यसमा पनि रामचन्द्र पौडेललाई बनाउने कि कृष्णप्रसाद सिटौलालाई भन्ने विषयमा पार्टी भित्र छलफल हुन भने बाँकी रहेको उनले बताए ।

बुधबार साँझ प्रधानमन्त्रीको निवासमा भएको छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी हुनुहुन्थो ।

त्यसअघि देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग छलफल गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?