कञ्चनपुर । सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिँदैछन् । सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमबाट पहिलोपटक एकसाथ पाँच खेलाडी राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।
कबड्डीका निवर्तमान मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले राष्ट्रिय टिममा आफ्नो जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा यहाँका पाँच खेलाडी सहभागी हुने बताउनुभयो । ‘दशमध्ये पाँचजना खेलाडी सुदूरपश्चिमबाट पर्नु सामान्य विषय होइन,’ उहाँले भन्नुभयो, ‘खेलाडीको नियमित प्रशिक्षण, लगन र मिहिनेतले विश्वकपसम्म पुग्ने अवसर पाए ।’
मुलुकको प्रतिनिधित्व गर्दै जुनियर विश्वकप खेल्न जानेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रकाश गिरी, आकाश भट्ट, विजय दमाईका साथै कैलालीका रामु टमाटा र गणेश पार्की रहनुभएको छ । जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछन् ।
त्यस्तै, कबड्डी खेलाडी आकाश भट्टले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताउनुभयो । ‘बन्द प्रशिक्षणमा पनि प्रशिक्षण राम्रो भएको छ,’ उहाँले भन्नुभयो, ‘पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन दिन्नौँ ।’ विश्वकपमा सहभागी भीमदत्त नगरपालिकाका तीनैजना खेलाडी महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा दुई वर्षयता र कैलालीबाट छनोट भएका दुई खेलाडी भारतको मुम्बैमा प्रशिक्षणरत हुनुहुन्थ्यो ।
‘सुदूरपश्चिमबाट सातजना खेलाडी विश्वकपका लागि बन्द प्रशिक्षणमा थिए,’ निवर्तमान मुख्य प्रशिक्षक भट्टले भन्नुभयो, ‘सातमध्ये पाँचजना खेलाडी छनोटमा परे ।’ विसं २०३७ देखि ०३९ सम्म मुलुककै अब्बल सुदूरपश्चिमको कबड्डी टिमले अहिले पनि खेलाडी तयार गर्न र पदक दिलाउने काममा अग्रसर नै रहेको भट्टको भनाइ छ ।
सिनियरतर्फ कञ्चनपुरबाट लक्ष्मण अधिकारी, प्रेम थापा, डम्बर बडुवाल र महिलातर्फ सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले विश्वकप कबड्डी खेलिसकेको विगत छ । कञ्चनपुरमा कबड्डीको प्रशिक्षण सञ्चालनमा आएयता कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको छ ।
त्यसैगरी सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप खेलेका यहाँका पूर्वराष्ट्रिय खेलाडी लक्ष्मण अधिकारीले आफू दोस्रो विश्वकपमा नेपालको टिममा उपकप्तान रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच