बागलुङमा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याड

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । महिला सुरक्षाकर्मीलाई निर्वाचनमा उच्च मनोबलका साथ खटाउन र स्वास्थ्य सजकता अपनाउनका लागि प्याड वितरण गरिएको हो ।

निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीहरूलाई लक्षित गरी एक÷एक थान स्यानीटरी प्याड र प्रत्येक मतदानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङमा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टेड्रसको सहयोग तथा जिल्ला प्रहरी कार्यालय बागलुङ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको संयोजनमा जिल्लामा निर्वाचनको सुरक्षामा खटिएका ६७ महिला प्रहरी र २६१ म्यादी महिला प्रहरीलाई एक/एक थान स्यानीटरी प्याड वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीसमेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । जिल्लाका सबै निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि ३०० थान स्यानीटरी प्याड वितरण गरिएको छ भने सबै मतदानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ ।

महिलाहरू निर्वाचनमा दूरदराजमा खटिएको समयमा हुनसक्ने महिनावारीलाई लक्षित गरी आदर्श सञ्चार सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्यानीटरी प्याड वितरणमा प्रहरी कार्यालयसँग मिलेर सहकार्य गरेको आदर्श सञ्चार सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी जिसीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?