राजनीतिले फेर्‍यो अर्को कोल्टो

हिमालय टाइम्स
Read Time = 6 mins

हिजोदेखि नेपालको राजनीतिले अर्को कोल्टो फेरेको छ । यो स्वाभाविक थियो । गत आमनिर्वाचनको परिणाम देख्दा हुनुपर्ने पनि यस्तै थियो । तर, सत्ता गठबन्धन र निर्वाचनमा समेत तालमेलमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैको हठका कारण लामो समयदेखि भइरहेको गठबन्धन टुटेर एउटा निश्चित बाटोबाट अगाडि बढिरहेको राजनीति बाटो बदलेर अर्कातिर लागेको थियो । यसपछि गठबन्धनमा रहेका तत्कालीन दलहरूमा निराशा छाएको थियो भने नेकपा एमाले संसद्को दोस्रो दल भएर पनि सरकारमा बाजी मारेका कारण हालीमुहाली नै उसको स्थापित हुन गएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत बनेको थियो र त्यसको हालीमुहाली पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै थियो ।

यसले गर्दा नेपाली कांग्रेस पार्टी एक नम्बरमा रहँदारहँदै पनि यस पार्टीको राजनीति सधैँका लागि समाप्त भएको अनुमान एमाले र माओवादीको गठबन्धनमा सामेल सम्पूर्ण पार्टीहरूको थियो । नेपाली कांग्रेसले लामो समयदेखि नेपालको राजनीति देख्दै, भोग्दै र बेहोर्दै आएका कारण यसलाई ती पार्टीको यो क्षणिक आत्मरति हो भन्ने बुझेको थियो । त्यसैले उक्त पार्टीका नेताहरूबाट सरकारको स्थायित्वका बारे अपत्यारिला अभिव्यक्तिहरू आइरहेका थिए । उक्त कुरा अहिले आएर पूरा भएको देखिएको छ । राजनीति भनेको म्युजिकल चेयर खेलजस्तै हो । त्यसमा सबै सबैका अगाडि हुन्छन् र सबै सबैका पछाडि हुन्छन् । गोलाइमा घुमेपछि यसो हुनु स्वाभाविक नै हो ।

राजनीति पनि त्यस्तै हो, सधैँका लागि कसैले पनि जितेको हुँदैन, त्यसको कुनै अवधि हुन्छ । एक पटक जित्नेले पनि आफूलाई उक्त पद सधैँका लागि प्राप्त भएको ठान्नु गलत हो । हालैको समीकरण जसरी बन्न पुग्यो दुई महिनाअघि नै त्यसै हुनुपथ्र्यो । एमालेले नेपाली कांग्रेसलाई सत्ताबाहिर राख्ने प्रयास गर्दा ऊ त्यसबेला सफल बनेको मात्रै थियो । नेपाली कांग्रेस सधैँका लागि ‘स्विप अफ’ भएको शैलीमा पार्टीहरू र जनताले समेत बुझ्न पुगेका कारण नेपाली कांग्रेस पनि ज्यादै निराश भएको अवस्था थियो । नेपाली कांग्रेसका कार्यकर्ताहरूमा ज्यादै निराशा पैदा भएका कारण यस्तो अवस्था सबै शीर्ष नेताहरूकै कारणबाट पैदा भएको हो भन्ने बुझाइले गर्दा शीर्ष नेताहरूले कार्यकर्ताको आक्रोशको सामना गर्नुपरेको थियो ।

तर, राजनीति म्युजिकल चेयर भएका कारण अप्ठ्यारो अवस्थामा ज्यादै निराश र अनुकूल अवस्थामा ज्यादै उत्तेजित बन्नु ठीक होइन । अवस्था छिटोछिटो बदलिन सक्छ । त्यसकारण पर्खाइमा रहनुपर्ने हुन्छ । दुई महिना पहिलेको सरकारको गठबन्धन यति छिट्टै भताभुंग भयो । भोलि पनि यस्तो अवस्था नआउला भन्ने छैन । हाल आठ दलले नेपाली कांग्रेस पार्टीलाई राष्ट्रपतिमा विजय गराउने गरी सहमति गरेका छन् । पालोफेरोेमा प्रधानमन्त्री चलाउने सहमति पनि भएको छ । पहिलेदेखि अडानका साथ बसेको नेकपा एकीकृत समाजवादीले पनि सरकारको नेतृत्व पाउने गरी सम्झौता भएको छ । माओवादी सत्तामा छँदैछ र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ ।

अब नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीबाट पनि सरकारको नेतृत्व हुने सम्झौता भएको छ । पार्टीहरू मिलेर अन्य विभिन्न सम्झौताहरूसमेत गरी नेपालको राजनीतिलाई अर्को बाटोतिर मोडेका छन् । नेपाली कांग्रेसले राष्ट्रपति पाउने भएपछि पार्टीभित्रैबाट पनि अनेकौं नामहरू आएका थिए तर नेपाली कांग्रेसले सर्वसम्मत निर्णय गरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सिफारिस गर्न सफल भएको छ । नेपाली जनताको अबको अपेक्षा भनेको सरकारको स्थिरताको हो । उक्त स्थिरता नेपालको भावी राजनीतिले नेपाली जनतालाई प्रदान गर्न सकोस् । यति अपेक्षा गर्नु नेपाली जनताको अधिकार पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?