खोटाङमा शिक्षकहरुको खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा रहेको सरस्वती आधारभूत विद्यालयले शिक्षकहरुको जिल्ला स्तरीय दुई दिवसीय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगिता गराउने भएको छ ।

फागुन २३ गतेदेखि २४ गतेसम्म विद्यालयको प्राङगणमा नकआउटको आधारमा प्रतियोगिता गराउन लागिएको विद्यालयले सूचना जारी गरेर जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी हुन खेल सञ्चालन हुने मिति अगावै सम्बन्धित शिक्षकको नियुक्ती तीन महिना पुगेको, विद्यालयको लोगो र खेलाडीको परिचय खुल्ने पोशाक अनिवार्य हुनुपर्ने तथा खेलमा सहभागीताका लागि १ हजार ५५५ रुपैयाँ दर्ता शुल्क लाग्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार १११, दोश्रोले ७ हजार ७७७ र तेश्रो हुनेले ४ हजार ४४४ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । १० पुषमा अजय बस्नेतको अध्यक्षतामा बनेको नयाँ विद्यालय व्यवस्थापन समितिले शिक्षकको शाररिक तन्दुरुस्ती र विद्यालयमा सञ्चालनार्थ दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिन ब्याडमिन्टन प्रतियोगिता गराउन लागिएको हो ।

सरकारले कक्षा १ देखि कक्षा ६ सम्मका विधार्थीलाई शनिबार बाहेक अन्य दिनमा दिवाखाजा कार्यक्रम अन्तर्गत १५ रुपैयाँ उपलब्ध गराउने रहेछ । योे महङ्गीमा १५ रुपैयाँले केही पनि आउँदैन। विधार्थीले शिक्षा र स्वास्थ्यको सुविधा पाउनुपर्छ, शिक्षा जति आवश्यक छ, स्वास्थ्य त्यतिकै आवश्यक छ भनेर शिक्षा र स्वास्थ्यलाई सँगै लैजाने उद्देश्यले १५ रुपैयाँमा विद्यालयले श्रोत खोजी २५ रुपैयाँ थपेर दिवाखाजाका लागि ४० रुपैयाँ दिंदै आईरहेको विव्यास अध्यक्ष बस्नेतले बताउनुभयो ।

आम्दानीको श्रोत नभएको विद्यालयमा विधार्थीलाई २५ रुपैयाँ थप गरेर दिंदै जाँदा आर्थिक बोझ बढ्दै गएकाले दिवाखाजा कार्यक्रमलाई प्रभावकारी र निरन्तरता दिनै ब्याडमिन्टन प्रतियोगिता गराउन लागिएको विव्यास अध्यक्ष बस्नेतको भनाई छ । ब्याडमिन्टन प्रतियोगिताले सामुदायिक विद्यालयप्रति आम मानिसको धारणा बदल्न र शैक्षिक सुधारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?