बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै उपसभामुखको असन्तुष्टि

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले बैठकमा खालि सिट देख्दा देखिन थालेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा सांसदविहिन हुँदा आफुलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताउनु भयो ।

उहाँले आफुले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताउनु भयो । उहाँले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनि प्रश्न समेत गर्नुभयो । उपसभामुख रानाले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयाे, ‘तपाईहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खालि खालि सिट हुन्छ । मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ । मलाई त प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन । म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु । मन दिएर, दिल दिएर काम गर्छु । तर त्यसरी कति माननीयज्यूहरु नआउनु हुँदाखेरी मलाई एकदमै दुःख लाग्छ । भोलि हामीले जनतालाई के उत्तर दिने ? त्यस्तो पनि लाग्छ । र मैले कसरी हुन्छ मेरो ठाउँबाट कसरी मैले उहाँहरु सँग साथी जस्तो भएर जनताको कुराहरुलाई हामीले सम्बोधनमा अनुशासित भएर, मर्यादित भएर उठाउने छौँ र विधेयकहरु बनाउने छौँ । कति विधेयकहरु निष्क्रिय बनेको छ ।’
उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताउनु भयो । आफु उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसि जनताका कुराहरु सुन्न जिल्ला–जिल्लामा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माननीयहरुले मलाई आमा भन्नुहुन्छ, आमा नै त्यहाँ उपसभामुख हुनुभयो भने कर्णालीको कुरालाई पनि उठाउनुहुन्छ । सुदूरपश्चिमको कुरालाई पनि उठाउनुहुन्छ । हिमालको कुरा उठाउनुहुन्छ । उहाँले एउटै व्यवहार गर्नुहुन्छ भन्ने उहाँहरुको एउटै स्वर थियो । त्यसैले आज मैले उपसभामुख हुने मौका पाएको छु । अनि गठबन्धनले पनि भोट दिए । सबैले मन पराएर म उपसभामुख भएकी छु । मैले मेरो पाँच वर्षको कार्यकाललाई हतोत्साही नभइकन अविचलित भएर, निडर, तटस्थ भएर आम नेपाली जनताहरुको आवाजलाई मैले सम्बोधन गर्ने प्रयास गर्नेछु । म राजधानीमा मात्रै बस्ने होइन जुम्ला, कर्णाली, अन्यपनि मैले योजना बनाएको छु । उपसभामुख भएको एक महिना भएको छैन मैले पाँचवटा जिल्ला भिजिट पनि गरिसकेँ । खर्च छ । दुःख छ तरपनि जबसम्म हामी फिल्डमा गएर बुझ्दैनौँ । जनताका आवाजहरु आफ्नै कानले सुन्दैनौँ, आफ्नै आँखाले देख्दैनौ, तबसम्म त्यो कुराहरु संवेदनशिल भएर हुँदैन ।’

उपसभामुख रानाले महिलाहरु समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुला रुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने बताउनु भयो । राज्यका निकायमा ५० प्रतिशत महिला पु¥याउन प्रयास गर्नुपर्ने उहाँको भनाई छ । महिलाहरु पार्टीको ‘रबरस्ट्याम्प’ बन्नु नहुने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामी महिलाहरुले महिलाहरुलाई हरेक तहमा ३३ प्रतिशत भन्दैछौँ भने ५० प्रतिशत, त्योभन्दा बढेर पनि जानसक्ला । त्यहाँ हामीले प्रयास गर्नुपर्छ । महिलाहरुलाई समावेशिता र समानुपातिकताको आधारमा पद दिने होइन । हामी एउटा राजनीतिक पार्टीको रबरस्ट्याम्प हुने होइन । हामीले आफ्नो ठाउँमा आफ्नो भुमिका खोजिहाल्नु पर्छ । आफ्नो काम पनि गर्दै जाने, काम गर्ने मान्छेलाई कसैको अधिकार, कसैको पर्मिशन चाहिँदैन भन्छु म । काम गरेपछि झुक्नैपर्छ जो पनि मान्छे । म त्यो भन्छु ।’

उपसभामुख रानाले सिमान्तकृत बालबालिका, असहाय बालबालिका र ज्येष्ठ नागरिकका लागि देशले राम्रो कानून नबनाएको देखेर आफू राजनीतिमा आएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?