बागमतीका मुख्यमन्त्रीलाई पुनः विश्वासको मत लिन कति सहज ?

डिबी शर्मा
Read Time = 4 mins

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ गते विश्वासको मत लिनुहुने भएको छ । चैत ८ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत दिनुहुने भएको हो । त्यसका लागि चैत ८ गते प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।

राष्ट्रपति चुनावअगाडि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएको वा सरकारलाई समर्थन गरेका कुनै दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

राप्रपाले सरकारमा सहभागी आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाएको थियो । गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री रहेका छन् । गत पुस २५ गते जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । उहाँ प्रदेशसभाका पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपाको, नेकपा एकीकृत समाजवादी, र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

११० सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन ५६ सांसदको समर्थन चाहन्छ । बागमतीमा कांग्रेसका सबैभन्दा धेरै ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी)का ७, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । केन्द्रमा बनेको नयाँ समीकरणअनुसार मुख्यमन्त्री जम्मकट्टेललाई माआवादीसहित कांग्रेस र एकीकृत समाजवादीको समर्थन मिल्ने सम्भावना छ । यसो हुँदा उहाँले सहजै विश्वासको मत पाउने देखिन्छ । बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ । उहाँलाई ३ माघमा प्रदेशसभा बैठकमा उपस्थितमध्ये १०५ सांसदले विश्वासको मत दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?