भयावह बन्दै आत्महत्या, ५ महिना दाङमा ९९ जनाले गरे आत्महत्या

विवेक खड्का दाङ, संवाददाता
Read Time = 6 mins

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले दाङमा आत्महत्या दर भयावह बन्दै गएको देखाउँछ ।

गत ५ महिनाको अवधिमा ९९ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गरेको प्रहरीले यसलाई आत्महत्याको उच्च दर भनेको छ । प्रहरीका अनुसार गत वर्षदेखि आत्महत्याका घटनामा अस्वाभाविक वृद्धि भइरहेको देखिन्छ ।

प्रहरीले आत्महत्या हुनुका विभिन्न कारणहरू केलाएको छ । यीमध्य डिप्रेसन यसको प्रमुख कारण प्रहरीले भनेको छ । ‘डिप्रेसनका कारण आत्महत्या गर्नेहरू बढी देखिएका छन्’, जिल्ला प्रहरी कार्यालय दाङका डिएस्पी एवम् प्रवक्ता जनकबहादुर मल्लले भन्नुभयो, ‘यी लगायत अन्य विभिन्न विषयहरू यसका कारणका रूपमा जोडिएका छन् ।’ प्रहरीले आत्महत्या घटना नियन्त्रणका लागि चुनौती रहेको बताउँछ ।

मानसिक रोग विशेषज्ञ डाक्टरले आफ्नो सहज दैनिक जीवनयापन महसुस नै प्रमुख उपायका रूपमा अथ्र्याउँछन् । मानसिक रोग विशेषज्ञ डा. अरविन्द भुसालले आत्महत्याको प्रमुख कारण अहिले डिप्रेसन नै रहेको बताउनुहुन्छ। कुनै न कुनै मानसिक समस्याका कारण डिप्रेशनमा पुग्ने र अन्त्यमा आत्महत्याको बाटो रोज्ने गरेको देखिएको डा. भुसालले जानकारी दिनुभयो । ‘आफूले केही गर्न नसकेको भनेर मानसिक रूपमा समस्या भएको मान्छे डिप्रेसनमा पुग्छ अनि उसले आत्महत्याको गलत बाटो रोज्छ’, डा. भुसालले भन्नुभयो, ‘अहिलेका घटनाक्रमलाई हेर्ने हो भने डिप्रेसनकै कारण आत्महत्या गर्ने बढी देखिएका छन् ।’ यसका लागि हरेक नागरिकले आफ्नो दैनिकीलाई सहज बनाउनु पर्ने उहाँको भनाइ छ । हरेक व्यक्तिमा ठुला इच्छा हाबी हुने र ती इच्छा आकाङ्क्षा पूरा नहुँदा मानसिक समस्या भई डिप्रेसनको शिकार बन्ने गरेका विभिन्न उदाहरण रहेको डा. भुसाल बताउनुहुन्छ तर आफ्नो अवस्थामै आफूलाई शान्त पार्न सकेको खण्डमा मानसिक समस्या नहुने उहाँको भनाइ छ ।

‘आफ्नो दैनिक जीवनयापन जस्तो छ त्यही अवस्थामै आफूलाई रमाउन सिक्नु पर्छ’, डा. भुसालले भन्नुभयो, ‘तर अहिले विभिन्न प्ल्याटफर्ममा देखिने अरूको प्रगतिका कुराहरूले अरूलाई विक्षिप्त बनाउँदै मैले चाहिँ केही गर्न सकेन भन्ने सोँच हाबी भइदिन्छ अनि मान्छे मानसिक रोगको शिकार बन्दै डिप्रेसनमा पुग्छ ।’ डिप्रेसनपछि लागूऔषध सेवन आत्महत्याको अर्को प्रमुख कारण रहेको डा.भुसाल बताउनुहुन्छ । लागूऔषध सेवनले मानसिक समस्या पार्ने र यसले नागरिकलाई अप्रत्यासित निर्णय गर्न बाध्य गराउने उहाँले वताउनुभयो ।

दाङ सहित लुम्बिनी प्रदेशमै आत्महत्याको रूप डरलाग्दो रहेको प्रदेश सरकार बताउँछ । यो प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको मानसिक समस्याका कारण प्रदेशमा आत्महत्याको दर उच्च रहेको भन्दै यसको न्यूनिकरणका लागि चुनौती रहेको धारणा छ । फलतः प्रदेश सरकारले आत्महत्या रोकथामका लागि कार्ययोजना समेत बनाएको छ । कार्ययोजना अनुसार मानसिक समस्या न्यूनिकरण र आत्महत्या रोकथामका लागि सचेतना कार्यक्रम गर्ने भनिएको छ । सोही कार्ययोजना अनुसार कार्यक्रम गर्न दाङ प्रहरी पनि लागिरहेको छ । जिल्लामा आत्महत्याको दर बढ्दै गइरहेको भन्दै प्रहरीले स्थानीय तहमार्फत् टोलसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएस्पी मल्लका अनुसार यो कार्यक्रम गर्न जिल्ला समन्वय समितिका संयोजक नित्यानन्द शर्माको संयोजकत्वमा एक समिति समेत निर्माण गरिएको छ । उहाँका अनुसार जिल्लामा डिप्रेसनका कारण आत्महत्याका धेरै घटना भएका छन् । विशेष गरी युवा उमेर समूहका नारिकमा यो समस्या देखिने गरेको छ । आफूले चाहेको वा इच्छ्याएको चिज प्राप्त नहुँदा डिप्रेसनमा पुगेको र आत्महत्याको निर्णयमा पुग्ने गरेका घटना जिल्लामा बढी छन् । यसैगरी प्रेममा असफलता, दीर्घ रोगलगायतका समस्या आत्महत्यासँग जोडिएको प्रहरी बताउँछ । पाँच महिनाको अवधिमा ९९ जनाले आत्महत्या गरेको जिल्लामा एक सय ६३ जनाले आत्महत्या प्रयास गरेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?