उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित, संविधानको रक्षा पहिलो प्राथमिकतामा राख्ने प्रतिक्रिया

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । उपराष्ट्रपति पदको लागि शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झालाई पराजित गर्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । जसपा संसदीय दलका नेतासमेत रहनुभएका यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभयो । यादवले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार प्राप्त गर्नुभयो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाउनुभएका यादवले १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिए ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३१४ मतभारभन्दा बढी मत ल्याएर निर्वाचित हुनुभएको हो । यस्तै, निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ आठ हजार ११२ र संघीय संसद्तर्फ आठ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गर्नुभयो । आफ्नो पार्टी नेकपा एमालेबाहेक अन्य कुनै पनि दलको औपचारिक समर्थन प्राप्त गर्न नसक्नुभएकी एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार संसद् भवन, बानेश्वरमा भएको मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मत दिएका थिए ।

चारजना प्रदेशसभा सदस्यको मत बदर भएको छ । जनमत पार्टीकी उम्मेदवार ममता झालाई २३ संघीय सांसद र १५ प्रदेशसभा सदस्यले मत दिए । उम्मेदवार झाले प्रदेशतर्फ ७२० र संघतर्फ एक हजार ८१७ गरी दुई हजार ५३७ मतभार प्राप्त गर्नुभएको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जनमतका उम्मेदवार झालाई राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक समर्थन गरेको थियो । लोसपा र नागरिक उन्मुक्ति पार्टी उम्मेदवारी मनोनयन दर्ताकै क्रममा समर्थक र प्रस्तावक बनेका थिए । यस्तै, जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् एक सांसदको मत पाउनुभएको छ । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बन्नुभएकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको थियो । उपराष्ट्रपतिमा निर्वाचित यादव बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुनुहुन्छ । यादव जसपा संसदीय दलका नेतासमेत हुनुहुन्छ । यादव २०६४ मा बारा–२ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । यस्तै, २०७४ र २०७९ को संसदीय निर्वाचनमा पनि यादव सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । तीनवटै मधेश आन्दोलनमा सक्रिय सहभागी हुनुभएका यादवले वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ ।

राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने मेरो पहिलो भूमिका हुन्छ : उपराष्ट्रपति यादव
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । उपराष्ट्रपतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै यादवले भन्नुभयो, ‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको जे काम र अधिकार छ । त्यसैअनुसार संविधानको पालना गर्ने, रक्षा गर्ने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने मेरो प्राथमिकता र भूमिका हुनेछ । नेपाललाई समतामूलक र समृद्ध मुलुकको रूपमा विकास गर्ने काममा मेरो भूमिका रहनेछ ।’

किरियापुत्री सांसदले पनि गर्नुभयो मतदान
उपराष्ट्रपति पदका लागि शुक्रबार भएको निर्वाचनमा किरियापुत्री सांसदले मतदान गर्नुभएको छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले नयाँ बानेश्वरस्थित संसद् भवनबाट मतदान गर्नुभएको हो । पिता लोकराजको निधनमा आशोच बारिरहनुभएका बरालले शुक्रबार बिहान पोखराबाट हवाईजहाजमार्फत काठमाडांै आएर मतदान गर्नुभएको हो । मतदानलगत्तै सांसद बराल पोखरा फर्किनुभएको थियो । संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा आएर मतदान गरेको सांसद बरालले बताउनुभयो ।

भोट हाल्न ट्रमा सेन्टरबाट एम्बुलेन्समा संसद् भवन
जनता समाजवादी पार्टी (जसपा)का सांसद मोहमद अब्दुल कलाम आजाजले ट्रमा सेन्टरबाट संसद् भवन नयाँ बानेश्वर पुगेर उपराष्ट्रपति चुनावमा मतदान गर्नुभएको छ । मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्रीसमेत रहनुभएका आजाद खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराईरहनु भएको थियो । आजादले ट्रमा सेन्टरबाट एम्बुलेन्समार्फत मतदानस्थल पुगेर मतदान गर्नुभएको हो ।

उपराष्ट्रपति निर्वाचनको मतदानमा अनुपस्थित सांसदहरू
मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । संघीय संसद्का ३३४ सांसद र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्य उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् । संघतर्फका जम्मा ३३४ सांसदमध्ये रवि लामिछानेको पद रिक्त भएको र टेकबहादुर गुरुङ निलम्बनमा परेकाले दुई पद रिक्त छन् । उपराष्ट्रपति निर्वाचनको मतदानमा संघतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १४ र नेपाल मजदुर किसान पार्टीका एकजना सांसद मतदान नगरी तटस्थ बसे । यसैगरी, रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको तथा सांसदहरू चन्द्र भण्डारी, वर्षमान पुन र मनोरमा शेरचन बिरामी हुनुभएकाले उपस्थित हुनुभएन । साथै, सहनाज रहमानको निधन भएको थियो भने लक्ष्मी महतो कोइरी मुद्दाका कारण मतदानमा अनुपस्थित थिए । प्रदेशसभा सदस्यतर्फ राप्रपाका २८ र नेमकिपाका तीन सदस्य मतदान नगरी तटस्थ बसे भने जसपाका एक सदस्य अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

राष्ट्रपतिद्वारा प्रदेश र संघीय सांसदलाई शीतलनिवासमा निम्तो
राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरूलाई शनिबार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गर्नुभएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू पनि काठमाडौंमै छन् । उनीहरू समेतलाई राष्ट्रपति पौडेलले धन्यवाद दिन शीतलनिवास बोलाउनुभएको हो । राष्ट्रपति पौडेलले सांसदसँगै राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि आमन्त्रण गर्नुभएको छ । लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शीतलनिवासमा आमन्त्रण गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?