हिमा गाउँपालिकाद्वारा बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान थालनी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि अभियानको थालनी गरेको छ । गाउँपालिकाको-५ वडाका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको घोषणा समेत गरेको छ । वडाभित्र रहेका ४ देखि १६ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको घोषणा गरेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।

कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको भन्दै सो वडाका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको वडाका रुपमा घोषणा गरिएको छ । अध्यक्ष शाहीले भन्नुभयो,“ बाँकी अरु वडालाई क्रमणगतमा घोषणा गरिने भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल जुम्लाको प्राविधिक सहयोगमा उक्त वडालाई शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको घोषणा गरेको अध्यक्ष शाहीको भनाइ छ । ”

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले घोषणा गर्ने मात्र ठुलो कुरा होइन यसलाई कार्यान्वयन गरी परिमाणमुखी र नतिजा आउने गरी काम गर्ने हिमा गाउँपालिकाको काँधमा आएको जिसस प्रमुख आचार्याले बताउनुभयो । उक्त वडाभित्र रुपाकोट आधारभूत विद्यालय बाँजागाड र कालिका माध्यमिक विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले जानकारी दिनुभयो ।

गाउँपालिका र किर्डाक नेपाल जुम्लाको समन्वयमा विद्यालय भर्ना अभियान सुरु भएदेखि नै बालबालिका विद्यालयको पहुँचमा पु‍र्‍याउन विभिन्न क्रियाकलाप गरिएको थियो । गत माघ २५ देखि विद्यालय भर्ना अभियान सुरु भएकोमा प्रत्येक बालबालिकाको घरघरमा पुगेर विद्यालय बालबालिका पठाउन हरेक अभिभावकलाई आग्रह गरेको उपाध्यक्ष सुर्पणा शाहीले बताउनुभयो । कालिका माविमा ६३० जना विद्यार्थी भर्ना भएकामा रुपाकोट आधारभूत विद्यालयमा २८३ विद्यार्थी भर्ना भएको हिमा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाका कर्मचारीहरु, शिक्षकहरु, किर्डाक नेपालका कर्मचारीहरु र जनप्रतिनिधिहरु प्रत्येक घरदैलोमा पुगेर अभिभावकलाई शैक्षिक चेतनाबारे सचेतनाका कार्यक्रम समेत गरेको गाउँपालिकाका प्रवक्ता रतन बहादुर शाहीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?