वसन्तको बहार : लालीगुराँसको वनबाट सेता हिमाल हेर्नपाउँदा पर्यटक दंग

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 8 mins

म्याग्दी । वसन्त ऋतुको सुरुआतसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रंगीविरंगी लालीगुराँसले रंगिएका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससंग रमाउन आन्तरिक तथा वाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थीहरु वनतिर जान थालेका छन् ।

विगतका दुईवर्ष विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरसको त्रास र लकडाउनका कारण पर्यटक नहुँदा लालीगुराँस वनमै फुलेर ओइलाएको थियो । तर, यस वर्ष कोरोना संक्रमणको त्रास नभएपछि लाली गुराँससंग रमाउन पर्यटकहरु लेकलेकमा पुग्न थालेका छन् ।

वसन्त ऋतुको आगमनसंगै प्रकृतिले पनि नयाँ स्वरुप धारण गरेको छ । राताम्यै फुलेका लालीगुराँस र वनजंगलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । उत्तरपट्टि चाँदी जस्तै सेता हिमालहरु हेर्दै गुराँससंग रमाउन आन्तरिक तथा वाह्य पर्यटकहरु म्याग्दीका पर्यटकीय स्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गा श्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा पुग्न थालेका छन् । यी ठाउँहरुमा गुराँसको ठूला जंगल छन् ।

नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। पृष्ठभूमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटकहरु मख्ख परेका स्थानीय युवा संचारकर्मी सुरेन गुरुङले जानकारी दिनुभयो ।

घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाका अनुसार अहिले गुराँससंग रमाउन पर्यटकहरु आउन शुरु गरेका छन् । दुईवर्ष अघिसम्म दैनिक पाँच सयजनाको हाराहारीमा पर्यटक आउने गरेकोमा कोभिडका कारण गतवर्ष र त्यसको अघिल्लो वर्ष सुन्य रहेपनि यस वर्ष दैनिक एकसयको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटकहरु घोडेपानी पुगेका छन् ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घर पर्यटक स्तरका होटल हुन् । पर्यटकहरु आउन थालेपछि होटल व्यवसायीहरु पनि खुसी भएका छन् ।

घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदाय स्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ । घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन् । जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जंगल मासिएपछि यस्तो नियम बनाएका हुन् । एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ गरिएको घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउन विद्यार्थी र पर्यटकहरु पुगेका छन् । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ ।
घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुँराले जंगल राताम्मे बनेका छन् ।

लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया फागुन,चैत र वैशाखमा फुल्ने गर्दछ ।  म्याग्दीका वनमा अहिले ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएका छन् । बोटभरी ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षिक हुने भएकाले हरेकको मन तान्ने गरेको छ । वनैभरी ढकमक्क लालीगुराँस फुलेपछी गाउँबस्ती नै सुन्दर देखिएको छ । वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भएपनि यस तर्फको ध्यान जान नसकेको वन तथा वनपैदावर र वातावरणको क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणी सापकोटाले बताउनुभयो । जन्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउन समेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ ।

म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ,। लालीगुराँसको बोटदेखि फुल सम्म विभिन्न औषधी निर्माणको लागी प्रयोग हुदै आएको छ । म्याग्दीमा प्रशस्त लालीगुराँसको जंगल रहेकोले आगामी दिनमा प्रशस्त आम्दानी श्रोत जुट्ने देखिन्छ ।
जिल्लाका विभिन्न स्थानमा लाली गुराँको जुस बनाउने उधोग स्थापना गर्ने क्रम पनि बढ्दै गएको छ ।प्रचार प्रसारको कमीको कारण यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फुलहरु विक्रि हुन सकेको छैन। गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लोभ्याउने गरेको स्थानीयले बताएका छन् ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?