सुमन र अनिताले जिते शैलुंग अल्ट्रा म्याराथन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालका सुमन कुलुंगले शैलुंग अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जित्नुभएको छ । ५५ किलोमिटरको दूरी ५ घण्टा २६ मिनेट ५८ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फ कुलुंगले उपाधि जित्नुभएको हो । यस्तै, ७ घण्टा २ मिनेट ५६ सेकेण्डका साथ महिलातर्फ अनिता राईले उपाधि जित्नुभयो । विजयी भएबापत कुलुंग र राईले नगद ७५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको अल्ट्रा म्याराथनको पुरुषतर्फ दोस्रो स्थानमा वेदबहादुर सुनार रहनुभयो । उहाँले उक्त दूरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गर्नुभयो । सुनारले नगद ४० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै, ५ घण्टा ४४ मिनेट २२ सेकेण्ड समयका साथ दुर्गाराज बुढा तेस्रो स्थानमा रहनुभयो । बुढाले नगद १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

बागमती प्रदेश खेलकुद विकास समितिको विशेष सहयोगमा आयोजित अल्ट्रा म्याराथनको महिलातर्फ ७ घण्टा ३७ मिनेट २२ सेकेण्ड समयका साथ मञ्जु रावत द्वितीय र ७ घण्टा ४४ मिनेट ५८ सेकेण्ड समयका साथ रसिला तामाङ तृतीय हुनुभयो । रावतले नगद ४० हजार र रसिलाले नगद १५ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

५५ किमीको अल्ट्रा म्याराथनको पुरुषतर्फ अमेरिका, युकेका चार विदेशीसहित २२ जना र महिलातर्फ पाँचजनाको सहभागिता रहेको थियो ।
सुनापती गाउँपालिका, दोरम्बा शैलुंग गाउँपालिका र खाँडादेवी गाउँपालिकाको सह-आयोजनामा भएको प्रतियोगिताको २५ किमीको पुरुषतर्फ मोहनदेव जोशी ३ घण्टा ८ मिनेट ३९ सेकेन्ड समयका साथ पहिलो, ३ घण्टा १० मिनेट १० सेकेण्ड समयका साथ देवराज महतारा दोस्रो र ३ घण्टा १४ मिनेट १५ सेकेण्डका साथ होमलाल श्रेष्ठ तेस्रो हुनुभयो । यस्तै, महिलातर्फ ४ घण्टा १९ मिनेट ५४ सेकेण्ड समयका साथ नितु तामाङ पहिलो, ४ घण्टा २२ मिनेट ४८ सेकेण्डका साथ राज्यलक्ष्मी रावल दोस्रो र ४ घण्टा ५५ मिनेट ३६ सेकेण्ड समयका साथ स्विडेनकी लिन्या गोल्सेटर तेस्रो हुनुभयो ।

विजयी खेलाडीहरूले क्रमशः ३५, २० र १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस विधामा पुरुषतर्फ न्युजिल्याण्डका एक खेलाडीका साथै ६१ जना र महिलातर्फ स्विडेनकी एक खेलाडीका साथ २१ जनाको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?