संसद बैठकपछि सांसदहरुकाे प्रतिक्रिया

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताउनुभएको हो । उहाँले सरकारलाई पूर्णता दिन सम्पूर्ण रुपले गृहकार्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘अब सरकारले चाँडै पूर्णता पाउँछ । काममा केन्द्रीत हुनुपर्ने समय छ । सम्पूर्ण शक्ति अब काममा लगाउनुपर्छ । डेलिभरी दिनुपर्छ । अब त सरकारले पूर्णता पाउनेतिरै सम्पूर्ण गृहकार्य हुन्छ ।’

नेकपा(एमाले)का सचिव गोकर्ण बिष्टले एमाले प्रतिपक्षमा बसेर भएपनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने प्रतिक्रिया दिनुभयो । उहाँले जनताको हितमा पार्टीले भुमिका निर्वाह गर्ने र सरकारलाई सोही अनुरुप दबाब दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एमाले सरकारमा रहेको अवस्थामा राष्ट्र र जनताको हितमा कामहरु सम्पादन गर्ने, कार्यान्वयन गर्नेगरी भुमिका निर्वाह गर्छ । सरकार बाहिर रहेको अवस्थामा पनि राष्ट्र र जनताको हीतमा नै मुद्दा उठाउँछ, सरकारलाई दबाब दिन्छ । जनताका हितका लागि भुमिका निर्वाह गर्छ । एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने कुरा छैन ।’

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सरकारले छिटोभन्दा छिटो पूर्णता पाउने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले गर्नुभएको प्रतिवद्धताहरु द्रुत गतिमा कार्यान्वयन हुने बताउनु भयो । त्यस्तै उपमहासचिव शर्माले शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरुको गठबन्धन भएकाले अहिलेको सत्तारुढ गठबन्धन प्राकृतिक गठबन्धन भएको बताउनु भयो । गठबन्धन संसदको पूर्ण कार्यकाल अगाडी बढ्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘आज भोलि सरकार निर्माण बारे छलफल हुन्छ र छिटोभन्दा छिटो सरकारले पूर्णता पाउँछ । कार्यविभाजन हुन्छ । त्यसपछि प्रधानमन्त्रीज्युले गर्नुभएका प्रतिवद्धताहरु द्रुत गतिमा कार्यान्वयनको दिशामा अगाडी बढ्छ । प्राकृतिक गठबन्धन भएको छ । शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु पक्षधरहरुको गठबन्धन हो । निर्वाचनमा पनि बनेको गठबन्धन थियो । त्यो गठबन्धन स्वभाविक रुपले अगाडी बढेको छ । संसदको पूर्ण कार्यकाललाई अगाडी बढाउँछ ।’

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि आफ्नो पार्टी छिट्टै सरकारमा सहभागि हुने बताउनु भयो । यद्यपी चैत ८ गते पार्टीको कार्यकारिणी समिति बैठकले निर्णय गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘सरकारमा सहभागि चाँडै भइन्छ । चाँडै सरकारले पूर्णता पाउँछ । हाम्रो कार्यकारिणी बैठक ८ गते छ, त्यसले निर्णय गर्छ । यहाँ अहिले जति दलले समर्थन गर्नुभएको छ, संघीयता लोकतन्त्र र गणतन्त्रप्रति पुरै प्रतिवद्ध पार्टीहरु छ । परिवर्तनका मुद्दामा सहमत पार्टीहरु जहिल्यै पनि एक भएर जान्छन् । त्यो हामीले गर्न पनि आवश्यक छ ।’

उहाँले गठबन्धनले परिवर्तनका मुद्दाहरु बोकेको भन्दै आगामी दिनमा पनि एक भएर अगाडी बढ्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?