डढेलो लाग्ने जंगल एकातिर, जागरण सप्ताह कार्यक्रम अर्कोतिर

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । हावाहुरी र सुख्खा मौसम सुरु भएसँगै खोटाङको दुई वटा सामुदायिक वनमा डढेलो लाग्यो ।
जिल्लाको केपिलासगढी गाउँपालिका–४ बाक्सिला र बासपानीको सिमानास्थित सामुदायिक वन र रावाबेंशी गाउँपालिका–४ डुम्रेधारापानीको कालिका भगवती सामुदायिक वनमा २७ फाल्गुणमा डढेलो लाग्दा ठूलो क्षति भयो ।

दुईवटै वनमा डढेलो कसले लगाएको भन्ने अझै खुलेको छैन । केही समय अघि बुईपाकै वनमा पनि डढेलो लाग्यो ।
हावाहुरी र सुख्खा मौसम सुरु भएसँगै डढेलोबाट सामुदायिक वनहरु नष्ट हुने क्रम सुरु भएको छ । डढेलो लाग्ने सिजन सुरुभएसँगै दिक्तेलबजारमा सचेतनाको कार्यक्रम पनि भएको देखिएको छ ।

डिभिजन वन कार्यालय खोटाङले जंगल एकातिर वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम अर्कोतिर(दिक्तेलबजारमा) समापन गरेका छन् ।

सामुदायिक वनहरु गाउँघरमा हुँदा वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम दिक्तेलबजारमा गरिनुले यसको प्रभावकारितामा प्रश्न उठेको छ ।

वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह अन्तर्गत डिभिजन वन कार्यालयले मंगलबार दिक्तेलबजारको रत्नपार्कदेखि वाणिज्य बैंकसम्म प्रभातफेरी निकाल्यो । प्रभातफेरीपछि जिल्ला समन्वय समितिको समिक्षालय हलमा कार्यक्रम गरी जागरण सप्ताहको समापन पनि गरिएको वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख जगदिश रेग्मीले डढेलो लाग्ने तरिका, त्यसलाई निभाउने उपाय, त्यसको असर र व्यवस्थापनको विषयमा प्रस्तुति दिनुभएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईले जनचेतनामूलक कार्यक्रम जनस्तरमा गएर गर्नुपर्ने बताउनु भयो । वन डढेलो, आगलागिजस्ता विषयहरुमा जनचेतनाका कार्यक्रम वर्षमा एकदिन मात्र नभएर हरेक दिन गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र गोरखनाथ गण मुडे ब्यारेकलाई डिभिजन कार्यालयले डढेलो नियन्त्रण गर्ने सामाग्री हस्तान्तरण गरिएकोे छ । जिल्ला प्रशासन कार्यालय संयोजक र डिभिजन वन कार्यालय सदस्य सचिव रहनेगरी अग्नि नियन्त्रक सञ्जाल पनि गठन गरिएको छ ।
सञ्जालको सदस्यमा जिल्ला प्रहरी कार्यालय, गोरखनाथ गण मुडे ब्यारेक, शसस्त्र प्रहरी वल नेपाल, नम्बर ७ गुल्म हलेसी, सामुदायिक उपभोक्ता महासंघ, निजि पारिवारिक वन संघ, कृषि कार्यालय, नगरपालिका÷गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत प्राधिकरण र पशु विकास कार्यालय छन् ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?