दृष्टि पाएपछि ८२ जना बृद्धबृद्धा दंग : डाक्टरसँगै गीत गाएर नाँचे विरामी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

गलेश्वर । म्याग्दीको बेनीका ८४ वर्षिय दलबहादुर खड्का जीवनमै सवैभन्दा बढी खुसी हुनुहुन्छ । विगत पाँच वर्षदेखि मधुरो मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा बुधवार (आज) सम्पन्न तीन दिने निःशुल्क आँखाको शल्य क्रिया शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने हुनुभएको हो ।

जिल्लाको बेनी नगरपालिका– २ खबराका खड्का शल्यक्रिया पश्चात स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकहरुसँग गीत गाएर नाँच्दै खुसी व्यक्त गर्नुभयो । डाक्टरले आँखाको शल्यक्रिया गरेपछि स्पष्ट रुपमा आँखा देख्ने भएको खड्काले बताउनुभयो ।

त्यसैगरी बेनी नगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया पछि आँखा देखेको खुसीमा चिकित्सककै अघि नाचेर रमाइलो गर्नुभयो ।
खड्का र विकजस्तै ८२ जना बृद्धबृद्धाहरु बुधवार (आज) शल्यक्रिया पछि आँखाले संसार हेर्न पाउँदा दंग पर्नुभएको छ ।

बेनी अस्पतालमा चैत ५ गतेदेखि संचालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्र ज्योती संघ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताउनुभयो । “धेरै मोतियाविन्दु बृद्धबृद्धामा देखिएको छ, मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया गरिएको छ” उहाँले भन्नुभयो ।

नेत्र ज्योती संघ म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र माईकल बाउर एण्ड फ्रेण्ड, बाडेन बाडेन जर्मनीको आर्थिक सहयोगमा सम्पन्न शिविरबाट ८ सय ६९ जनाको आँखाको परिक्षण गरिएको नेपाल नेत्र ज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो । गाउँगाउँमा नेत्र ज्योती संघले आयोजना गरेको शिविरबाट भेटिएका मोतियाविन्दुको शल्यक्रिया पनि बेनीमा संचालित शिविरमा गरिएको उहाँको भनाइ थियो ।

बेनी नगरपालिका–५ की ७० वर्षीया पार्वती बानियाँले देख्न छाडेको ३ वर्ष भए पनि मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको थिएन ।

“पोखरा जाने समय र पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न सकेकी थिइनँ,” उहाँले भन्नुभयो “बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि गुमेको ज्योति सस्तोमा शल्यक्रिया गरेर फर्कियो ।”

यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्न पोखरा जाने झन्झट अन्त्य भएको संघका सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

“एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र ३ दिन लाग्छ। शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ,” उहाँले भन्नुभयो ।

धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाबिन्दु र जलबिन्दु हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाइ सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको सुझाव छ ।

शिविरमा हिमालय आँखा अस्पताल पोखरबाट ६ जनासहित ८ जनाको प्राविधिक टोलीले आँखा परिक्षण र मोतियाविन्दुको शल्यक्रिया गर्नुभएको थियो । नेत्र ज्योती संघले शिविर सम्पन्न गराउन सहयोग गर्नुहुने प्राविधिक टोली र सहयोग दातालाई सम्मान गरेको छ ।
स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा २ हजार २ सयको नेत्र परीक्षण गरिएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,” उहाँले भन्नुभयो ।

रघुगंगा गाउँपालिकाको पाखापानी, मंगलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो ।

हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले उपचार गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?