काठमाडौं । ‘हामीसँग, हाम्रो लागि होइन’ भन्ने नाराका साथ विश्व डाउन सिण्ड्रोम दिवस-२०२३ मनाइएको छ । हरेक वर्ष मार्च २१ लाई विश्व डाउन सिण्ड्रोम दिवस रूपमा विश्वभरि नै मनाउने गरिन्छ । डाउन सिण्ड्रोम समाज, नेपालले राजधानीमा डाउन सिण्ड्रोम भएका बालबालिकाहरूको जीविकोपार्जन तथा समावेशी शिक्षाको सम्भावना उजागर गर्न दुई दिने समारोहको आयोजना गरेको हो ।
डाउन सिण्ड्रोम भएका बालबालिकालाई सिकाइमा केही बढी समय लाग्ने भए तापनि उनीहरू ‘सिक्न र गर्न सक्छन्’ भन्ने विभिन्न उदाहरण प्रस्तुत गरेर सम्भावनाको उजागर गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न व्यक्तित्वले आफ्नो प्रस्तुतिपत्र प्रस्तुत गर्दै डाउन सिण्ड्रोमलगायत अपांगता भएका बालबालिकाका लागि समावेशी शिक्षा तथा उनीहरूको जीविकोपार्जनका लागि के-कस्ता सम्भावना, अवसर, समस्या तथा चुनौती छन् भन्ने बारेमा स्पष्ट पार्दै आफ्ना भोगाइका अनुभव पसुनाएका थिए । यसै अवसरमा डाउन सिण्ड्रोम भएका बालबालिकाले के-कसरी तालिम प्राप्त गरी हाल रोजगारीसमेत गरिरहेका छन् भन्ने उदाहरण प्रस्तुत गरिएको थियो । सो समापन समारोहमा उनीहरूले राष्ट्रियगान तथा विभिन्न नृत्य उत्साहजनक रूपमा प्रस्तुत गरेका थिए । जसले ‘अवसर दिँदा र हामीसँगै रहँदा’ हामी पनि ‘सिक्न र गर्न सक्छौं’ भन्नेसमेत सन्देश प्रवाह गरेको थियो ।
समारोहलाई सम्बोधन गर्नु हुँदै डाउन सिण्ड्रोम समाज, नेपालका अध्यक्ष, शिला थापाले सन् २०१० मा डाउन सिण्ड्रोम भएका बालबालिकाको अभिभावकहरूले यस समाजको स्थापना गरी डाउन सिण्ड्रोम भएका बालबालिकालाई दैनिक क्रियाकलाप तथा जीवनोपयोगी सीप सिकाउँनका लागि दिबा सेवा केन्द्र सञ्चालन गर्दै आएको र सबैलाई एकजुट पारेर उनीहरूको अधिकारका लागि आवाजसमेत उठाइरहेको जानकारी दिनुभयो ।
यसका साथै डाउन सिण्ड्रोम भएका बालबालिकाको शिक्षा, रोजगारका लागि सबै वर्ग तथा क्षेत्रबाट आवाज उठाउनुपर्ने टड्कारो आवश्यकता रहेको र सरकारले यस क्षेत्रमा विशेष ध्यान दिँदै उनीहरूको विकासका लागि आवश्यक लगानी गर्नुपर्ने भनाइ राख्नुभयो । यसैगरी समारोहमा उपस्थित सबै वक्ताले डाउन सिण्ड्रोम भएका बालबालिकालाई आवश्यक शिक्षा, तालिम तथा रोजगारीका लागि सरकारले तत्कालै कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।
डाउन सिण्ड्रोम भएका बालबालिका सामान्य बालबालिकाको तुलनामा हिँड्न, बोल्न उठ्न, बस्न र खान सक्ने क्षमताको विकास ढिलो हुने गर्छ । यस्ता बालबालिकालाई विशेष स्याहारको जरुरत पर्दछ । डाउन सिण्ड्रोमलाई नेपाल सरकारले बौद्धिक अपांगता भएको तथ्यांकमा राख्ने भएकाले डाउन सिण्ड्रोम भएकाहरूको यकिन तथ्यांक छैन । तर, नेपालमा वार्षिक १५ सय बालबालिका डाउन सिड्रोमको लक्षण लिएर जन्मिने गरेको अनुमान छ । विश्वमा हरेक एक हजार बालबालिकामा एक जनामा डाउन सिण्ड्रोमको समस्या देखिने गरेको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच