विदेश र शहर छोडेर व्यावसायिक बाख्रापालनमा महिला, बाख्रापालनले बनायो आत्मनिर्भर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 12 mins

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–५ अर्चलेकी कविता रावलले व्यावसायिक बाख्रापालन गर्दै आउनुुभएको छ । दुई वर्ष दुवई बसेर आउनुुभएकी उहाँले अहिले गाउँमै बसेर व्यवसायिक बाख्रापालन गर्नुभएको छ । तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारी कार्यक्रममा ग्रामिण आर्थिक संघ (रेडा)पाल्पाले बाख्रा उपहार दिए पछि व्यवसायिक बाख्रापालनमा लागेको रावल बताउँनुहुन्छ ।

बाख्रापालनामा लाग्नुभएकी रावललाई यतिबेला पछाडी फर्केर हेर्नु परेको छैन् । परिवारको खर्च धान्न, छोराछोरीको पढाइ खर्चका लागि अरूसँग माग्न नपरेको उहाँ बताउनुहुन्छ । यसैबाट औषधिमूलो, लत्ताकपडा र भैपरीखर्च सजिलै चलेको छ ।

‘श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ । मैले परिवारको रेखदेख गर्ने र बाख्रा फार्मलाई समय दिँदै आएकी छु,’ रावलले भन्नुुभयो, ‘काम नगरी पनि हुँदैन । एक/दुई बाख्रा घरमा त्यसै पनि पाल्नुपर्ने हाम्रो चलन जस्तै छ । त्यसलाई व्यवस्थापन गरेर व्यावसायिक रुपमा नै गर्नुपर्छ भन्ने आँटले आज व्यवसायमा सफल हुँदै गएकी छु ।’ दुई वर्ष विदेश बसेर घर फर्किनुुभएकी उहाँ गाउँमा बाख्रा उपहार पाइने थाहा पाए पछि घरमै बसेर बाख्रा पाल्ने सोंच बनाएको बताउँनुहुन्छ । अरूको काम गर्नुभन्दा आफ्नो काममा निकै सहज हुने र पारिवारिक रेखदेख पनि हुने भएपछि विदेशको जागिर छोडेर बाख्रापालनमा लागेको उहाँको भनाई छ । श्रीमान बैदेशीक रोजगारमा भए पनि आफुले पनि केही गर्नु पर्छ भन्ने सोंचले व्यवसायिक रुपमा बाख्रा पाल्न थालेको रावले बताउनुुभयो । ‘मेरो कमाईले घरको खर्च धानेको छ । श्रीमानको कमाई बचत गर्ने गरेका छौँ’, उहाँले भन्नुुभयो । रावलले सुरुको वर्ष ७०/८० हजारको बाख्रा विक्री गरिसक्नुभएको छ । विस्तारै बाख्रा उत्पादन वृद्धि गरी ठूलो संख्यामा व्यावसाय गरेर यसैबाट मनग्य कमाइ गर्ने उहाँ बताउनुहुन्छ । ‘गाउँघरमा प्रशस्त घाँसपात र चरनको सुविधा छ, त्यसमा पनि व्यवासायिक घाँस खेती गर्नेलाई तानसेन नगरपालिका, हेफर र रेडाले घाँसको विउ समेत दिने गरेको छ, व्यावसाय गर्छु भन्नेका लागि घर–घरमा बाख्रा उपहारस्वरुप पाइएकै छ, बाख्रा खरिदमा लगानी गर्न नपर्ने, सित्तैमा पाएपछि गाउँका महिलामा बाख्रापालनमा उत्साह र आकर्षण बढेको छ,’ उहाँले भन्नुुभयो ।

अर्चलेकै निर्मला हमाल पनि अहिले व्यवसायिक बाख्रापालनामा लाग्नुुभएको छ । छोराछोरी पठाउन तानसेन बजारमा कोठा भाडामा लिएर बस्दै आउनुभएकी उहाँ विगत दुई वर्षदेखि भने घर फर्किएर बाख्रापालन व्यवसायीमा लाग्नुुभएको हो । सधैँ दुई–चार पैसाका लागि अरूमा निर्भर रहँदै आउनुुभएकी उहाँ अहिले भने आफ्नो खर्च आफैँ धान्न सक्ने हुनुुभएको छ । तानसेन नगरपालिका,हेफर प्रोजेक्ट नेपाल र रेडाले बाख्रा उपहार दिएपछि हमालमा उत्साह थपिएको छ । श्रीमान जागिरे भए पनि उहाँ भने व्यवसायिक बाख्रापलनामा लाग्नुुभएको छ । ‘मसँग अहिले ३२ वटा बाख्रा छन् । यसलाई अझै बढाउँदै लगेकी छु । मेरो कमाईले घरको खर्च र छोराछोरीको पढाई धानेको छ । श्रीमानको कमाई बचत गर्ने गरेका छौँ, हमालले भन्नुुभयो, ‘पाँचवटाबाट सुरु गरेकी थिएँ । त्यसैबाट बढाएर यहाँसम्म पु¥याए ।’ घरको काममा दैनिकी बिताउँदै आउनुुभएको उहाँले यतिबेला पछाडी फर्केर हेर्नु परेको छैन । हमालले अहिले बाख्राबाटै बार्षिक झण्डै एक लाख आम्दानी गर्दै आउनुुभएको छ । उहाँको खोरमा अहिले स्थानीय र उन्नत जातका बाख्राहरु छन् । खोरमा हुर्केका बाख्रा पाठा बिक्री गर्न उहाँलाई सहर बजार दुगुर्नु पनि पर्दैन । साझेदारी संस्थाहरुले राम्रो भाउमा घरमै आई खसिबोका किन्ने गरेको र यही पेसामा आफू रमेको हमाल बताउनुहुन्छ ।

रावल र हमाल केही प्रतिनिधि पात्र मात्र हुुन् । उहाँहरु जस्तै तानसेनका ५ सय १५ घरपरिवार अहिले व्यवसायिक बाख्रापालनामा लागेका छन् । विगतमा यहाँका प्रायः अधिकांश घरमा एक/दुईवटा बाख्रा पाल्ने चलन थियो । घरमा आइपर्ने सानातिना आर्थिक समस्या टार्न पनि बाख्रा पाल्ने गर्थे । विशेषगरी एक/दुईवटा बाख्रा पालेर आफ्नो घर खर्च टार्ने काम गर्दै आएका यहाँका निम्न आय भएकाहरु अहिले भने व्यावसायिक बाख्रापालनमा जोडिएका छन् । तानसेन नगर सरकारको ७५ प्रतिशत, हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र रेडाको सहजिकरणमा कृषि तथा पशु उद्यमशिलाता विकास साझेदारी कार्यक्रममार्फत बाख्रा उपहार दिन थालेपछि यहाँका कृषक व्यवसायिक बाख्रापालनमा लागेका हुन् । यहाँ विगत ३१ महिनादेखी यो कार्यक्रम सञ्चालनमा छ । कृषि तथा पशु उद्यमशिलतामार्फत कृषि पशु उत्पादन बढाउने, बजारीकरण गर्ने, युवा उद्यमी बढाउने, विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउदै उद्यमी बनाउने महान अभियानका साथ त्रिपक्षीय साझेदारीमा यो कार्यक्रम सञ्चालन भएको हो । अहिले तानसेनका १४ वटै वडामा यो कार्यक्रम लागु छ । यो कार्यक्रमबाट विशेष गरी निम्न आएका भएकाहरु बढी लाभान्वित भएका छन् ।

बाख्रापालनको लागि भौगोलिक भू्–वनोट,हावापानी र खसी बोकाको बजारको राम्रो सम्भावना भएकाले पनि यहाँका कृषकहरु बाख्रापालनमा बढी आकर्षित भएका हुन् । कृषकहरुले व्यवासायिक बाख्रापालन गर्न लागेपछि राम्रो आम्दानी गर्न सफल भएका छन् । यस व्यवसायमा पुरुषको तुलनामा महिलाहरु बढी लागि परेका छन् । व्यवसायिक बाख्रापालनमा लागेका ५ सय १५ जना मध्ये ३ सय ९५ जना त महिला नै छन् । तानसेनमा १ सय २० जना पुरुषले मात्र अहिले व्यवसायिक बाख्रापालन गरेका छन् । उनीहरु आधुनिक खोर निर्माण गरी व्यवसायिक रुपमा लागेका हुन् । दैनिक रुपमा घर खर्च समेत चलाउन गाह्रो हुने गरेका परिवारमा अहिले बाख्रापालन गर्न थालेपछि भने आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । यहाँका महिलाहरुको आथिक विकास मात्र भएको छैन व्यवसायिक बाख्रा पालन गर्दा आवश्यक पर्ने तालिमले गर्दा क्षमताको विकास समेत भएको छ ।

कृषकहरुद्धारा उत्पादित बाख्राहरुको विक्री वितरणको लागि विभिन्न सहकारी संघसस्थाहरुले सहयोग गर्दै आएका छन् । आधारशिला तालिमको ज्ञानलाई आत्मासाथ गर्दै सबै कार्यक्षेत्रमा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत सम्पूर्ण शेयर सदस्यहरुलाई व्यवसायमा केन्द्रीत गरी सामाजिक र आर्थिक समृद्धि गराउन सहकारीबाट बाख्राहरुको जिवित तौलको आधारमा बजारीकरण गर्दै विचौलियाको मारबाट जोगाउन र कृषकको पसिनाको मूल्य किसानले नै पाउन सक्ने भएकाले सम्पूर्ण व्यवसाय सहकारीमार्फत गरिने गरेको हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम अधिकृत विष्णु पाण्डेले बताउनुुभयो । समूहमा आवद्ध महिलाको मागका आधारमा बाख्रा वितरण गर्ने, उमेर पुगेको र त्यसबाट उत्पादन भएपछि उपहारको रूपमा आफूजस्तै आवद्ध रहेको अर्को समूहका सदस्यलाई उपहारका रूपमा दिने गरी बाख्रा प्रदान गर्ने गरिएको उहाँले बताउनुुभयो । ‘लिनेमात्रै होइन कि हामीले उत्पादन गरेका बाख्रा अरूलाई पनि दिन सक्षम छौँ भन्ने संस्कार सिकाउन र बाख्रापालनमा प्रोत्साहन दिनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका हौँ, बाख्रापालनबाट महिलाको आयस्तर उकास्न ठूलो टेवा पुगेको छ’, उहाँले भन्नुभयो । साझेदारी कार्यक्रममार्फत किसानलाई प्रत्यक्ष लाभ हुने गरी काम गरिदै आइएको तानसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले बताउनुभयो । कृषि र पशुपालन व्यवसायलाई प्रोत्साहन गरेर आर्थिक क्रान्ति ल्याउने गरी यो कार्यक्रम गरिएको साझेदारी संस्था ग्रामीण आर्थिक संघ (रेडा) का कार्यकारी निर्देशक लिला कार्कीले बताउनुुभयो । उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत महिला, युवाहरुलाई व्यवसायिक रुपमा बाख्रा, बंगुर, लोकल कुखुरा, तरकारी, अदुवा, अकबरे खुर्सानी, कागती र च्याउ खेतीमा लगाइएको निर्देशक कार्कीले बताउनुभयो ।

विभिन्न आधारशीलाका बारेमा महिलालाई आयआर्जनमा वृद्धि गर्न तानसेन नगरपालिकाभित्र विभिन्न समूह निर्माण गरी कार्यक्रम सञ्चालन भइरहेको तानसेन कृषि तथा पशु उद्यमशीलता परियोजनाका संयोजक नृप परियारको भनाई छ । उहाँका अनुसार परियोजनामार्फत अहिलेसम्म तानसेनमा १ हजार ८ सय ७८ वटा बाख्रा वितरण गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?