दाङ । थारू सम्वन्धि कला, संस्कृति र जीवनशैलीमा आधारित चित्र तथा मूर्तिकलामा विशेष दख्खल राख्ने कैलाली जानकी नगरपालिका–३ भगतपुर निवासी मिठ्ठु थारु पश्चिम तराईका जिल्लामा लोकप्रिय चित्रकारका रूपमा चिनुनुहुन्छ । थारूको चित्रकला तथा मूर्तिकला लोभलाग्दो छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १२/१३ वर्षको उमेरमा भक्तपुरमा साहुको घरमा कामदारका रूपमा बसी अध्ययन गरेका थारुले चित्र तथा मूर्तिकला सम्बन्धी धेरै ज्ञान त्यही सिक्नु भएको हो । थारुमा भएको कलाको खुवीले चित्रकला तथा मूर्तिकलामा लागेको छोटो समयमै सयौँ चित्र तथा मूर्तिहरू बनाउनुका साथै रहरमा सिकेको सीपबाट राम्रो आम्दानी भएको छ ।
सानैदेखि चित्रकलामा रुचि राख्ने मिठ्ठुलाई सुरुमा घरपरिवार र आफन्तको साथ भने भएन । जसले गर्दा २०६४ मा एलएलसी पास भएपछि उहाँ चित्रकलासम्बन्धी अध्ययन गर्न चाहे पनि कमर्श पढ्न थाल्नु भयो । खाली समयमा उहाँले चित्रकलामा ध्यान दिनुभयो । घरको काम सकेपछि साँझ–बिहान फुर्सदको समयमा चित्र बनाउनेदेखि केही नयाँ सिक्नका लागि घरनजिकै रहेको आर्ट ग्यालरीमा पुग्ने गरेको बताउनुहुन्छ । त्यहाँ अरूले बनाएका चित्रहरू हेर्ने र घरमा आएर आपूmले पनि चित्रहरू बनाउने गरेको बताउनुहुन्छ तर घरमा चित्र बनाउनका लागि न भनेजस्तोे कलर हुन्थ्यो न राम्रो कागज । त्यसैले खाली कागजमा पेन्सिलले स्केच कोरेर कतिपटक भाँडा माझ्ने निलो तथा हरियो रँगका सावुनलाई भिजाएर चित्रहरूमा रँग भर्ने गर्नुभयो । एक दिन ती आफैले बनाएका चित्रहरू भक्तपुरकै एउटा ग्यालरीमा विक्री भएपछि थप हौसला बढेको उहाँ वताउनुहुन्छ । उहाँले बनाएका तीनवटा चित्रहरू पहिलो पटक हिमाली दृश्यको ठूलो चित्र चार हजार र साना चित्रहरू दुई–दुई हजार रूपैयाँमा विक्री भएका थिए ।
‘चित्रकला बनाए पनि कतै देखाउने अवसर पाएको थिएन । ग्यालरीमा चित्रहरू बनाउने र किनबेच हुने गरेको देखेको थिएँ’, उहाँले भन्नुभयो, ‘त्यही कारण मैले बनाएका चित्रहरू त्यहाँ लगेर देखाँए । मालिकलाई मन परेछ, चित्रहरू किनिदिनुभयो ।’ पहिलो पटक विक्री भएका चित्रहरूले उहाँलाई कमाई मात्रै दिएनन्, चित्रकला अध्ययनसँगै अघि बढ्नका लागि थप हौसला दिएको उहाँ वताउनुहुन्छ। त्यसपछि चित्रकला अध्ययनका लागि विजेश्वरी फाइन आर्टमा कक्षा ११ र १२ पढ्नुभयो । त्यहाँ चित्रकलासँगै मूर्तिकलासम्बन्धी ज्ञान सिकेको उहाँले वताउनुहुन्छ ।
पढाइका क्रममा उहाँमा भएको चित्रकला तथा मूर्तिकलासम्बन्धी सीपलाई गुरुहरू अनील महर्जन र रविन महर्जनले चित्रकला र पूर्णकाजी शाक्यले मूर्तिकलासम्बन्धी धेरै सिक्ने अवसर दिनुभयो । त्यही सीपका कारण पछिल्लो समय विभिन्न ठाउँहरूमा चित्र तथा मूर्तिहरू बनाउने गरेको वताउनुहुन्छ। उहाँकाअनुसार लुम्बिनी तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूका पार्क, होमस्टे, मन्दिर, दरबार, ठूला होटेलहरूलगायतका विभिन्न पर्यटकीय ठाउँहरूमा चित्र तथा मूर्ति बनाउँदै आउनुभएको छ ।
चित्रकलासम्बन्धी नेपाल ललितकला क्याम्पसमा स्नातक तह अध्ययन गरिरहेका मिठ्ठु आफूलाई मन लागेको विषय अध्ययन गरे सफल भइने बताउनुहुन्छ । ‘मलाई पढ्न मन चित्रकला थियो तर सुरुमा कमर्श विषयमा प्लस–टु पढेँ तर पास गर्न सकिनँ’, उहाँले भन्नुभयो, ‘पछि चित्रकला पढ्न थाल्नुभयो, त्यहाँ फेल नै नभएर स्नातक तहको अन्तिम तयारीमा छु ।’ नवयुग आर्ट स्टुडियो कैलालीमा खोलेका उहाँले पढाइसँगै व्यावसायिक रूपमा चित्रकला तथा मूर्तिकलामा अघि वढ्नुभएको हो । चित्र तथा मूर्तिहरू बनाउनका लागि विभिन्न ठाउँबाट मागसँगै पैसा समेत कमाउन थालेपछि घरपरिवार पनि अहिले सन्तुष्ट रहेको उहाँ वताउनुहुन्छ । ‘सुरुमा घरपरिवारबाटै यस्तो काम गर्नुहुन्न । चित्रकलामा भविष्य छैन भन्नुहन्थ्यो’, विगत सम्झँदै उहाँ भन्नुहुन्छ, ‘अहिले चित्रहरू बनाउन देशका विभिन्न ठाउँबाट बोलाउँदा खुसी हुनुहुन्छ ।’
चित्रकला तथा मूर्तिकलामा आर्थिक आम्दानीसँगै रमाइरहेका मिठ्ठुले चखौरामा दंगीशरण राजाको मूर्ति पहिलो पटक आपूmले बनाएको बताउनुहुन्छ । ‘दंगीशरण राजाको चर्चा सुनेको थिएँ तर कतै फोटो समेत रहेनछ । मलाई चखौरामा उहाँको मूर्ति बनाउने अवसर प्राप्त भयो’, उहाँले भन्नुभयो, ‘तर उहाँको मूर्ति बनाउनका लागि हेर्ने एउटा फोटो पनि थिएन । त्यसैले थारू समुदायका अग्रजहरूको कुरा सुनेर दंगीशरण राजाको जीवनशैली बारेमा अध्ययन गरेर मूर्ति बनाएको हुँ । पछि धेरै मन पराइदिनुभयो ।’ उहाँले २०७३ सालमा तत्कालीन थारू राजा दंगीशरणको मूर्तिसँगै संग्रहालयमा चित्रहरूसँगै अन्य मूर्तिहरू समेत बनाउँछन् । चखौरासँगै मुख्य रूपमा पाल्पाको रानी महल दरबार, बाँकेको गाभर होमस्टे, बर्दिया बर्काभौँरा र बाँसगढीचोक र कैलालीको थापापुरलगायतका विभिन्न ठाउँमा २ सय ५० बढी चित्र तथा करिब एक सयको हाराहारीमा मूर्तिहरू निर्माण गरिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच