ललितपुर । खाद्य सुरक्षा, खाद्य सम्प्रभुताका लागि जैविक विविधतामैत्री कृषिमा विज्ञहरूले जोड दिएका छन् । खाद्यका लागि कृषि अभियान, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र लिवर्ड नेपालको संयुक्त आयोजनामा कृषि जैविक विविधता सप्ताहका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विज्ञ तथा अभियन्ताले यस्तो जोड दिएका हुन् । सिक्किमका किसान सञ्जीव प्रधानले नेपाल र सिक्किमजस्ता पहाडी क्षेत्रमा सबैखाले जैविक विविधता उपलब्ध भएकाले सिक्किम र नेपाल जैविक विविधतामा धनी रहेको बताउनुभयो । तथापि पहाडी क्षेत्रमा भएको परिवर्तित खाद्य संस्कृतिले मानव स्वास्थ्यका साथै पहाडी पर्यावरण पनि संकटमा पर्दै गएको उहाँले बताउनुभयो ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्राध्यापक धर्म डंगोलले अनुसन्धान, अध्ययन र प्रसारलाई कृषि पर्यावरणमा केन्द्रित गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । किसानसँग प्राध्यापकसँग नभएको ज्ञान भएको तर त्यो सिकाइ प्रसार गर्ने व्यवस्था नहुनाले ज्ञानको प्रसारण हुन नसकेको उहाँको भनाइ थियो । कीर्तिपुर नगरपालिकामा कृषि शिक्षासम्बन्धी आफूहरूले विकास गरेको पाठ्यक्रमको उदाहरण दिँदै डंगोलले अध्ययन संस्थान पछिल्लो समय पर्यावरणीय कृषिको ज्ञान विस्तारमा लागेको जानकारी गराउनुभयो ।
राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्याम दर्जीले गाउँबाट रैथाने उत्पादन शहरतिर आउन थालेको तर बदलामा गाउँघरमा केक र चाउमिनको दबदबा बढेको बताउनुभयो । शिक्षा नीति तथा अभ्यास केन्द्रका टीका भट्टराईले खाद्यका लागि कृषि अभियानको नामाकरण नै खेतीपाती सर्वप्रथम खानाका लागि गरिने तर नीति तथा कार्यक्रममा त्यो मर्म नदेखिएको बताउनुभयोे । कृषिलाई शिक्षासँग जोड्न पाठ्यक्रममै सुधार गर्नुपर्ने आवश्यकता उहाँले आँैल्याउनुभयो ।
कृषिविज्ञ देवेन्द्र गौचनले आफूहरू लामो समयदेखि कृषि जैविक विविधता संरक्षण गर्न लागेको भए पनि १०औँ आवधिक योजनादेखिमात्रै कृषि जैविक विविधताका कुरा समेटिन थालेको बताउनुभयो । तर पनि कृषि पाठ्यक्रम, कार्यक्रम तथा नीति एकल खेतीको प्रवद्र्धन गर्न लक्षित भएकाले जैविक विविधता सरकारको प्राथमिकतामा पर्न नसकेको उहाँको भनाइ थियो ।
कृषि जैविक विविधता प्रवद्र्धन हुन नसक्नुमा बजारले रैथाने बाली चिन्न नसक्नु, संरचनागत असफलता र नीतिको असफलता मुख्य चुनौतीका रूपमा रहेको गौचनले आँैल्याउनुभयो । लिवर्ड नेपालका भरत भण्डारीले कृषि पर्यावरणलाई हेर्ने दृष्टिकोण फार्म कृषिभन्दा फराकिलो बनाउन आवश्यक रहेको बताउनुभयो । कृषि जैविक विविधताको प्रवद्र्धन गर्न संरचना र लगानीको उचित व्यवस्थाका साथै कृषि पर्यापर्यटनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
फेकोफन नेपालकी कोषाध्यक्ष शान्ता न्यौपानेले नेपालमा कृषि वनलाई प्रोत्साहित गर्दै वनमा आधारित खाद्य संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो । कृषि उद्यमी कल्पना लामिछानेले नेपालको शिक्षा प्रणालीले विद्यार्थीलाई खेती प्रणालीबाट विमुख गर्दै गएको भन्दै कृषि तथा कृषि उत्पादन प्रोत्साहनबारे बोलेरभन्दा पनि गरेर बढी सिक्ने क्षेत्र भएको बताउनुभयो ।
भक्तपुरका कृषक टेकबहादुर लाखाजूले नेपालमा कृषि क्षेत्रबाट किसान पलायन हुनुमा सरकार नै जिम्मेवार रहेको बताउनुभयो । अनुदानका बहानामा सरकारले रसायन, विषादी र हाइब्रिड बिउ भित्र्याएर कृषिलाई विकृत बनाएको उहाँको आरोप थियो । कृषिविज्ञ तथा प्राध्यापक छवि पौडेलले आफू कर्णालीमा रहँदा सिकेका केही रैथाने ज्ञानमाथि प्रकाश पार्दै कर्णाली क्षेत्रमा छरुवा धान र ढैँचा लोप हुँदै गएको बताउनुभयो । इन्साफ नेपालका शंकर भट्टराईले किसान र युवाको विदेश पलायनबिना कृषि क्षेत्रले फड्को मार्न नसक्ने बताउनुभयो । नेपालमा रैथाने बालीमा उच्च पौष्टिकता भए पनि कस्तो-कस्तो पौष्टिकता पाइन्छ भनेर अनुसन्धान गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कृषि विद्यार्थी सोनिका पौडेलले कृषि जैविक विविधता संरक्षण गर्न प्रोत्साहन गर्नुपर्नेमा सरकारले टनका टन रासायनिक मल ल्याउने दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो । कृषि विद्यार्थी प्रज्ञा पोखरेलले पर्यावरणीय कृषि प्रवद्र्धनका लागि रैथाने कृषिको उपभोग संस्कृतिमा जोड दिनुपर्ने बताउनुभयो ।
कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले सर्भाइभल अफ फिटेस्टको सिद्धान्तअनुरूप हाम्रा केही रैथाने बाली हराउँदै गएको र केही बाली भने मानव सिर्जित कारण पनि हराएको बताउनुभयो । विश्वबाटै माटोको गुणस्तर खस्किँदै गएकाले रैथाने कृषिको अनुसन्धान, प्रोत्साहन र संरक्षणका केही काम भए पनि पर्याप्त नरहेको उहाँको भनाइ थियो । सरकारले नीतिगतरूपमै विद्यालयमा दिवा खाजामा रैथाने खानाको व्यवस्था गर्ने नीति ल्याए पनि कार्यान्वयनमा समस्या रहेको पनि केसीले बताउनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कृषि जैविक विविधताका सबै क्षेत्रको अनुसन्धान तथा तथ्यांक संकलन गरेर सोही आधारमा कृषिका नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता आँैल्याउनुभयो । जैविक विविधताको प्रोत्साहन गर्न खाद्य संस्कृति र उपभोगको सामाजिक सचेतनाको प्रोत्साहन, किसानलाई उत्पादन प्रोत्साहनका लागि अनुदान, किसानको उत्पादनको बजार व्यवस्था, रैथाने बालीको विविध परिकारको विकास, पर्यापर्यटन, उद्यमशीलताको व्यवस्थामा पनि उहाँले जोड दिनुभयो ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले लामो समय रसायनमा आधारित खेती प्रणालीले माटो बिगार्दै गएकाले कृषिको व्यावसायिकीकरणको व्याख्यामै परिवर्तन आवश्यक रहेको बताउनुभयो । सरकारले प्रांगारिक खेतीमा जोड दिने बताए पनि सोहीअनुसार कार्यक्रम भने ल्याउनेतर्फ चासो नदिएको भनाइ उहाँको थियो । सो अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख मेघनाथ तिमिल्सिना, फरेष्ट एक्सन नेपालका लिलानाथ शर्माले जैविक कृषिमा जोड दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच