आजको आवश्यकता : भ्रष्टाचार निवारणका लागि सदाचार शिक्षा

Read Time = 14 mins

✍️ घनश्याम कोइराला

प्र पतेतः पापि लक्ष्मी नश्येतः प्रामुतः पत । अयस्मयेनाङ्केन द्विषते त्वा सजामसि.....अर्थात् हे अन्यायका धन ! तँ यहाँबाट टाढा जा । यहाँबाट भागेर हाम्रा शत्रुका नजिक गएर बस् । हामी फलामे लठ्ठीले तँलाई हाम्रा शत्रुतिर लखेट्छौँ । अथर्ववेद (७.१२०.१)को यो मन्त्र आर्थिक भ्रष्टाचारका विरुद्ध सदाचारप्रति परिलक्षित रहेको छ । आजको शिक्षामा कानुनको डर देखाएर, दण्डका प्रावधान घोकाएर भ्रष्टाचारविरोधी बनाउने प्रयत्न गरिन्छ, तर भ्रष्टाचारप्रति मानिसको मनैदेखि घृणा उत्पन्न हुने र सदाचारी हुने विषय देखिँदैन ।

राजनीति र प्रशासनलगायत सामाजिक जीवनका हरेक क्षेत्रमा भ्रष्टाचारले गाँजेको छ । अहिले हरेक भाषण भ्रष्टाचारका विरुद्ध हुने गरेको छ । हरेक प्रशासनिक निर्देशन भ्रष्टाचारका विरुद्ध हुने गरेको छ । भ्रष्टाचारका विरुद्ध जनजनले बोल्ने गरेको सुनिन्छ । गाउँ-सहरका हरेक चिया पसल र चौतारी भ्रष्टाचारविरुद्धका गफ केन्द्र बनेको देखिन्छ । भ्रष्टाचारका विरुद्ध नियमकानुन पनि बाक्लै बनेका छन् । डरलाग्दा सजायका प्रावधान बनेका छन् । भ्रष्टाचार निवारणका लागि संवैधानिक आयोगसमेत बनेको छ । तर, भ्रष्टाचारमा कमी आएको देखिँदैन । भ्रष्टाचारका नयाँ–नयाँ आयाम विस्तार हुँदै आएको छ । सोझो हिसाबले यसरी भनौं-भ्रष्टाचारका विरुद्धमा नीति, ऐनकानुन, निर्देशन, चर्चापरिचर्चाले भ्रष्टाचार रोक्न सकेको छैन ।

भ्रष्टाचार निवारणका अनेकौँ प्रयत्नहरू भइरहेका पनि छन् । संयुक्त राष्ट्रसंघले सन् २००३ मा महासन्धि पारित गरेपछि सन् २००४ देखि यसका पक्ष राष्ट्रहरूले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन सुरु पनि सन् २००५ देखि प्रभावकारी भएको छ । हरेक वर्ष अंग्रेजी महिनाको डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको छ । यस अभिसन्धिमा संसारका १४० राष्ट्रले हस्ताक्षर गरेका छन् । तर, भ्रष्टाचार नगर्न प्रेरित गर्ने गरी शिक्षा दिने प्रबन्ध गरिएको छैन । युवा–विद्यार्थीहरूलाई वेदको शिक्षा दिन सक्ने हो भने समाजले यति बाक्लो भ्रष्टाचारको बिगबिगी भोग्न पर्दैन थियो कि ?

सदाचार प्रवद्र्धनका लागि परम्परागत गुरुकुल शिक्षामा रहेका विषयहरू कालजयी छन् । तर, तिनीहरूलाई पनि घोकन्ते र कर्मकाण्डी बनाइएको छ । शिक्षाका यी विषयलाई व्यावहारिक बनाउनसके मौलिक पहिचान र स्वाभिमान बढ्न सक्छ ।

तर, हामी कसैले पनि सदाचारका बारेमा कहिल्यै मन लगाएर सोच्यौँ ? कहिल्यै गम्भीर भएर चिन्तन्-मनन् गर्‍यौँ ? सदाचार विस्तार गर्ने, हुर्काउने-बढाउने बारेमा कुनै तहमा शिक्षाको प्रबन्ध गर्‍यौँ ? त्यस्तो भएको देखिँदैन । बरू, भ्रष्टाचारका विषयमा सदाचार विस्तारबारे त्योभन्दा कमै प्रयास गरेको भए ठूलो परिणाम आउन सक्थ्यो । त्यसैले ‘अबको आवश्यकता सदाचार शिक्षा’ हो । ज्ञान, भक्ति र योग सँगसँगै सदाचारलाई कर्ममा जोड्नु शिक्षाको सन्दर्भमा महत्वपूर्ण विषय हुन आउँछ । हाम्रो पूर्वीय वाङ्मयमा धर्म, अर्थ, काम र मोक्षलाई जीवनको लक्ष मानिएको छ । वास्तवमा आध्यात्मिक विषय छाम्दा ज्ञान, भक्ति र योग यी तीनवटाको सदुपयोगको सत्परिणाम नै मोक्ष हो भन्ने स्पष्ट हुन्छ । यसमा सदाचार अन्तर्निहित हुन्छ, किनभने धर्मको सम्बन्ध सत्कर्मसँग हुन्छ । सद्+आचार=सदाचार हो अर्थात् शुद्ध-सम्यक् आचरण-व्यवहार नै सदाचार हो ।

अर्थको सम्बन्ध भनेको समृद्धिसँग, कामको सम्बन्ध सत्परिणामसँग रहेको स्पष्ट छ । यसरी आफूसँग भएको ज्ञानको सदुपयोग सत्परिणामको कामनासँग निष्ठापूर्वक समर्पण गर्नु नै परिणामतः योग हो र यो योग आफैँमा विशिष्ठ शक्तिपुञ्ज हुन्छ । त्यसैले यो विषय पनि सदाचारसँग अभिन्न रूपले जोडिन्छ, जोडिएको छ, जोड्न आवश्यक छ । ज्ञानहीन/आडम्बरी, समर्पणहीन/स्वार्थी, ऊर्जा/शक्तिहीन फोस्रा प्रमाणपत्रधारी जमात उत्पादनबाट समाजले, राष्ट्रले पाउने भनेको आडम्बरी, स्वार्थी, पूर्वाग्रही, मगन्ते, गुनासे, आरिसे, भ्रष्ट मात्रै हो । आजको नेपाली समाजले भोगिरहेको यथार्थ यही होइन र ?

सदाचार प्रवद्र्धनका लागि परम्परागत गुरुकुल शिक्षामा रहेका विषय कालजयी छन् । तर तिनीहरूलाई पनि घोकन्तु र कर्मकाण्डी बनाइएको छ । शिक्षाका यी विषयलाई व्यावहारिक बनाउन सके मौलिक पहिचान र स्वाभिमान बढ्नसक्छ । ऋगवेदमा भनिएको छ : भद्रमिच्छन्त ऋषयः स्वर्विदस्तपो दीक्षामुपनिषेदूरग्रे । ततो राष्ट्रं ज्ञद्ध बलमोजश्च जातं तदस्मै देवा उपसंनमस्तु अर्थात्-सबैका हितचिन्तक, आत्मज्ञानी ऋषिहरूले सृष्टिका आरम्भमा तपस्या र दीक्षा आदिको नियम पालन गरेका थिए । त्यसैबाट राष्ट्रिय भावना र राष्ट्रिय सामथ्र्य उत्पत्ति भयो । त्यसैले ज्ञानी मानिसहरू त्यस राष्ट्रका सामु विनम्र भएर राष्ट्रसेवामा लागून् । यहाँ सदाचारको विषय स्पष्ट देख्न सकिन्छ ।

मथि नै उल्लेख भइसकेको छ, भ्रष्टाचार भनेको आर्थिक क्षेत्र-घुस खाने मात्र होइन, शक्तिको दुरुपयोग सबैभन्दा ठूलो भ्रष्टाचार हो । त्यसैले त्यतिबेलाका ठूला देवता रुद्रलाई शक्तिको दुरुपयोग नगर्न जोडदार रूपमा आवाज घन्काएका छन् । यथा : शक्ति : मा नो महान्तमुत मा नो अर्भकं मा न अक्ष्यन्तमुत मा नद्रउक्षितम् । मा नो वधीः पितरं मोत मातरं मा नः प्रियास्तन्वो रूद्र रीरिषः अर्थात् हे रूद्र ! हाम्रा ज्ञानी र बलिया वृद्धलाई नसताऊ । हाम्रा साना बालकलाई हिंसा नगर । हाम्रा बलिया युवाहरूलाई घात नगर । हाम्रा गर्भस्थ शिशुहरूलाई हिंसित नगराऊ र हाम्रा आमा-बालाई नाश नगरिदेऊ । हाम्रा आफन्तको शरीर कष्टमा नपार । (यजुर्वेद, १६ । १५ मन्त्र) ।

वेद मानिसको हितका लागि संकलित व्यवहार विज्ञान हो । वेदका मन्त्रहरूले शरीरका प्रत्येक अंक प्रत्यंगलाई सत्कार्यमा प्रेरित गरेका छन् । मन्त्रले क्षमतायुक्त व्यक्तित्वमा जोड दिएको छ । जस्तै : शिरो मे श्रीर्यशो मुखं त्विषिः केशाश्च श्मश्रूणि । राजा मे प्राणो अमृत ठ्र्ठँ सम्राट् चक्षुर्विराट् श्रोत्रम् अर्थात् हाम्रो शिर ऐश्वर्यले सम्पन्न होस् । हाम्रो मुख यशस्वी होस् । हाम्रा कपाल र जुँगा कान्तियुक्त होऊन् । हाम्रो श्रेष्ठ प्राण अमृतसमान होस् । हाम्रा आँखा मानिसलाई चिन्न सक्ने होउन् । हाम्रा कान मानिसहरूका सबै खालका कुरा सुन्न सक्ने होऊन् । (यजुर्वेद, २०/५) त्यस्तै जिहृवा मे भद्रं वाङ्महो मनो मन्युः ...अर्थात् हाम्रो जिब्रो कल्याणकारी वचन बोल्ने होस् । हाम्रो वाणी महिमायुक्त होस् । । (यजुर्वेद, २०/६)

ज्ञान, भक्ति र योगका साथै सदाचार, सद्भाव, मेलमिलाप, राष्ट्रभक्ति, अनुशासन, उत्तरदायित्व तथा मानिसमा भएका अन्तर्निहित व्यक्तित्व एवं शक्तिको प्रकटीकरण गर्न वैदिक शिक्षा आवश्यक छ । वैदिक शिक्षालाई आधार बनाएर दिइने आधुनिकतम शिक्षाले मात्र परम्परा र आधुनिकताका बीचमा सन्तुलन कायम गर्न सक्दछ ।

समानता र मेलमिलाप, द्वन्द्वरहित समाज निर्माणका लागि प्रेरित गर्ने अनेकौं प्रसंग वेदमा रहेका छन् । एउटा उदाहरण : ज्यायस्वन्तश्चित्तिनो मा वि यौष्ट संराधयन्तः सधुराश्चरन्तः । अन्यो अन्यस्मै वल्गु वदन्त एत सध्रीचीनान् वः सम्मनसस्कृणोमि अर्थात् हे मानिसहरू ! कोही नछुटिकन सानाठूला सबैलाई ख्याल राख्दै, समान व्यवहार गर्दै, विचार मिलाउँदै, मिलेर काम गर । एकापसमा प्रेमपूर्ण कुरा गर्दै हिँड । हामी पनि तिमीहरूको जस्तै काममा लाग्नेछौँ । (अथर्ववेद ३.३०.५)

मातृभूमि प्रतिको निष्ठा वेदमा उत्तिकै प्रबल रहेको छ । आजका युवाले वेदमा भएका यी कुरा बुझ्ने माध्यम केही छ ? सत्यं बृहदृतमुग्रं दीक्षा तपो ब्रहृम यज्ञः पृथिवीं धारयन्ति । सा नो भूतस्य भव्यस्य पत्न्युरूं लोकं पृथिवी नः कृणोतु अर्थात् सत्यनिष्ठा, यथार्थको व्यापक जानकारी, दक्षता, पराक्रम, तपश्चर्या, ब्रहृमज्ञान र त्याग बलिदान यिनै भावनाले नै भूमि वा मातृभूमिलाई पालनपोषण र संरक्षण गर्दछन् । विगतका र आउँदो समयका सबै प्राणीलाई पालन गर्ने मातृभूमिले हामीलाई विस्तृत स्थान देओस् । (अथर्ववेद १२.१.१) भद्रमिच्छन्त ऋषयः स्वर्विदस्तपो दीक्षामुपनिषेदूरग्रे । ततो राष्ट्रं बलमोजश्च जातं तदस्मै देवा उपसंनमस्तु अर्थात्-सबैका हितचिन्तक, आत्मज्ञानी ऋषिहरूले सृष्टिका आरम्भमा तपस्या र दीक्षा आदिको नियम पालन गरेका थिए । त्यसैबाट राष्ट्रिय भावना र राष्ट्रिय सामथ्र्यको उत्पत्ति भयो । त्यसैले ज्ञानी मानिसहरू त्यस राष्ट्रका सामु विनम्र भएर राष्ट्रसेवामा लागून् । अथर्ववेद (१९/१४/१) हाम्रो राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने सामथ्र्य वैदिक शिक्षामा प्रबल छ ।

ज्ञान, भक्ति र योगका साथै सदाचार, सद्भाव, मेलमिलाप, राष्ट्रभक्ति, अनुशासन, उत्तरदायित्व तथा मानिसमा भएका अन्तर्निहित व्यक्तित्व एवं शक्तिको प्रकटीकरण गर्न वैदिक शिक्षा आवश्यक छ । वैदिक शिक्षालाई आधार बनाएर दिइने आधुनिकतम शिक्षाले मात्र परम्परा र आधुनिकताका बीचमा सन्तुलन कायम गर्न सक्दछ । अब भ्रष्टाचारविरुद्ध मात्र होइन, सदाचार अभिवृद्धिमा लाग्न विलम्ब गर्नु हुँदैन । अस्तु ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
विशाल आचार्य
विशाल आचार्य
2023-03-31 10:42 am

साह्रै राम्रो लेख !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?