फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिस नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले भिन्सेन्जोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

बुधबार बसेको कार्यसमिति बैठकले त्यसबाहेक विभिन्न २० वटा निर्णयहरू गरेको छ । बैठकले थ्री नेसन कप आयोजना गर्ने, ओलम्पिकको एसिया छनोट आयोजना गर्ने, बी र सी डिभिजनको नयाँ मिति तय गर्ने, जिल्ला लिगदेखि उमेर समूहका प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न स्थायी कमिटीको संयोजक चयन गर्ने, आपत्कालीन समिति गठन गर्नेलगायतका निर्णय गरेको छ । नयाँ सिइओ नियुक्तिको सूचना प्रकाशन गर्ने र विभिन्न विभागको हेड नियुक्तिसम्मको निर्णय बैठकले गरेको छ ।

यद्यपि तीन उपाध्यक्षसहित ११ जना कार्यसमिति सदस्यले गणपूरक संख्या नै नपुगेको भन्दै बैठक अवैधानिक भएको भन्दै बहिष्कार गर्नुभएको थियो । महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्नुपर्ने मागसहित एजेण्डा थप्न निवेदन दिएका बहुमत कार्यसमिति सदस्यको माग सुनुवाइ नभएपछि उहाँहरूले बहिष्कार गर्नुभएको हो ।

उपाध्यक्षत्रय दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडा र सदस्यहरू रूपेश अधिकारी, रविन्द्र चन्द, रमेश व्यञ्जनकार, भरत बुढ्थापा, पेमा डोल्मा लामा र महेन्द्र क्षेत्रीले बैठक बहिष्कार गर्नुभएको हो । बैठक छाडेर पत्रकार सम्मेलन गर्दै असन्तुष्ट समूहले एन्फा कार्यसमिति बैठकको वैधानिकता नरहेको दाबी गरेका थिए ।

तर, एन्फा अध्यक्ष नेम्वाङले विधानको धारा ३९ (३) अनुरूप भन्दै कार्यसमितिका बहुमत सदस्यको प्रस्तावित एजेण्डा बैठकको कार्यसूचीमा थप गर्न नसक्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?