जेनिशाको उपन्यास ‘लस्ट लेटर्स’ लोकार्पण

Read Time = 6 mins

काठमाडौं । अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएकी जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बूढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाईं, कवि उषा शेरचन, प्रदेशसभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रूपमा उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।

नेप्लीज फेसन होमद्वारा आयोजित लोकार्पण समारोहमा एमाजनद्वारा प्रकाशित अंग्रेजी भाषाको उक्त उपन्यास विमोचन गरिएको हो । श्रेयस्कर डंगोलद्वारा कभर डिजाइन गरिएको सो उपन्यासलाई एमाजन अथवा अमेजनका उत्पादन बेच्ने तेस्रो पक्षका बिक्रेतामार्फत अनलाइन रूपमा खरिद गर्न सकिने लेखिका मानन्धरले जानकारी गराउनुभयो ।

यो उपन्यास तयार पार्ने सोचका बारेमा लेखिका जेनिशा मानन्धर भन्नुहुन्छ, ‘काठमाडौंको झोँछे सधैं एउटा त्यस्तो ठाउँको रूपमा रहेको छ, जहाँ म मेरा साथीहरूसँग लामो समय बिताएर आफ्ना भावना तथा विचार उनीहरूसँग छलफल गर्न मन पराउँछु । हरेक पटक म त्यहाँ पुगेर साथीहरूलाई पर्खिएर बस्दा त्यहाँ वरपर भएका मानिसलाई हेर्छु र उनीहरूकै कथाहरू बनाउँछु । मैले लेखेका धेरै कथाका लागि यो शहर प्रेरणादायी भएको छ । कुनै बेला मैले ‘काठमाडौं नाउ एण्ड देन’ नामक प्रोजेक्टमा काम गरेकी थिएँ । त्यो बेला मैले यो शहरका केही पुराना तस्वीर हेर्दै थिएँ । त्यहीँबाट यो उपन्यास लेख्ने पहिलो विचार फुरेको थियो । त्यसपछि त्यही विचारले कथा बन्दै उपन्यासको स्वरूप लिएको हो ।’

नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित विमोचन समारोहमा लेखिका मानन्धरलाई शुभकामन दिँदै उपसभामुख रानाले नेपाली साहित्यकारको कृति अन्तर्राष्ट्रियस्तरमा प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै यो पुस्तक नेपाली भाषामा समेत अध्ययन गर्न चाहेको बताउनुभयो । फरक प्रसंगमा उपसभामुख रानाले आफ्नो पाँच वर्षे कार्यकालमा निडर भएर आम जनताको आवाजलाई प्राथमिकता दिने बताउनुभयो ।

लेखिका मानन्धरलाई बधाई दिँदै काठमाडौं महानगरपालिकाका उपमेयर डंगोलले पछिल्लो पुस्ताले वास्तविक माया ममता गुमाउँदै गएको बताउनुभयो । उपप्रमुख डंगोलले माया-ममता गुमाउँदै गएको अहिलेको पुस्ताका मानिसका लागि ‘लस्ट लेटर’ पुस्तक सुहाउँदो भएको टिप्पणी गर्नुभयो । ‘यो पुस्तकमा सम्बन्ध, माया, प्रेमको बारेमा छ र यो कुरा हामीले पनि गुमाइरहेको अवस्था छ । अब यो किताबले फेरि जोड्ने छ भन्ने आशा लिएको छु, उपप्रमुख डंगोलको भनाइ छ-‘माया, प्रेम, सम्बन्धको बारेमा रहेको पुस्तकले सबैको मर्मलाई समेटेको छ ।’

समारोहमा साहित्यकार इन्दिरा प्रसाईंले लेखिका जेनिशा मानन्धरलाई अन्तर्राष्ट्रिय साहित्यकार बन्न सफल भएकोमा बधाई दिँदै एमाजन जस्तो अन्तर्राष्ट्रिय संस्थाले नेपाली साहित्यकारको पुस्तक छाप्नु ठूलो उपलब्धि भएको बताउनुभयो । ‘राजनीतिले थिलथिलो बनाएको देशलाई नेपालको कला, साहित्यले अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सफल भएकोमा गर्व सक्ने भएका छौं’, साहित्यकार प्रसाईंले भन्नुभयो, ‘लेखिका मानन्धरलाई नेपाली भाषामा पनि लस्ट लेटर्स प्रकाशित गर्न सुझाब दिन्छु । हामीलाई नेपाली भाषामा पढ्न मज्जा आउँछ ।’

समारोहकी सभापति मानन्धरले भन्नुभयो, ‘कोभिड १९ को बेला सारा संसार एक्ला-एक्लै बाँच्न संघर्ष गरिरहेको बेला जेनिशाले लस्ट लेटर्स लेख्ने हिम्मत गरेर आज इतिहास रच्न सफल भएकी छन् जस्तो लागेको छ । एउटी नेपालीले चाहृयो भने जे पनि गर्न सक्छ भन्ने कुरा जेनिशाले प्रमाणित गरेर देखाएकी छिन् ।’ समारोहमा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, प्रदेशसभा सांसद यमुना श्रेष्ठ, कवि उषा शेरचनलगायत वक्ताले लेखिका मानन्धरलाई बधाई दिनुभएको थियो । तस्वीर : सुरेन्द्र थापा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?