एमाले र कांग्रेस दुवैले प्रतिपक्षी बेन्च रोजेपछि संसद् बैठक १८ दिन सर्‍यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधिसभाको बैठक १८ दिन पर सरेको छ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो । तर, कांग्रेस र एमाले दुवैले आफूहरू प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराए । त्यसपछि दलहरूसँगको समन्वयमा संसद सचिवालयले सूचना जारी गरेर बैठक नै आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिदियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ । त्यो विशेष कारण भनेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने स्थिति हो । कांग्रेस र एमाले दुवै प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने अवस्था आएपछि संसद बैठक स्थगित गरिएको एक नेताले बताउनुभयो ।

पहिले सरकारमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि प्रतिपक्षको बेन्चमा बस्दै आएको नेपाली कांग्रेस अहिले आठ दलीय सत्ता गठबन्धनमा छ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । तर कांग्रेस सरकारमा गइसकेको भने छैन । सरकारमा सहभागी नभइसकेकाले ऊ पनि बुधबारको बैठकमा प्रतिपक्षको बेन्चमा बस्ने तयारीमा थियो । कांग्रेस र एमाले दुवै प्रतिपक्षको बेन्चमा बस्दा राम्रो सन्देश नजाने भएकाले संसद बैठक स्थगित गरिएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?