एकीकृत समाजवादीसँग नेम्वाङलाई मत माग्न गएका एमाले नेताले भने : कुराकानी सकारात्मक भयो

पार्टी एकताको अभियानको शुभारम्भ भएको दाबी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको छ ।

बिहीवार एमालेका उपाध्यक्षसमेत रहनुभएका उहाँले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गर्नुभएको हो । उहाँसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल हुनुहुन्छ ।

नेकपा (एकीकृत समाजवादी) बाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागी रहनुभएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्ेमदवार बन्नुभएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न तिब्र भेटघाटमा हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) ले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताउनु भयो ।

उहाँले पार्टी अध्यक्ष नेपालले मत माग्न आएको धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताउनु भयो ।

उहाँले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रस्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताउनु भयो ।

त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरुले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताउनु भयो ।

उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?