विषादीको प्रयोग र विषाक्त जनजीवन

हिमालय टाइम्स
Read Time = 7 mins

वर्तमान समयमा हाम्रा खेती बालीहरूमा विषादीको अत्यन्त धेरै प्रयोग गर्ने परम्पराले गर्दा आजकाल मानवजीवन नै विषाक्त बन्दै गइरहेको छ । पहिले-पहिले मानिसहरू आफ्नो जीवन निर्वाहसँग मात्र जोडिएका हुन्थे र आफ्नो उपभोगका लागि उत्पादन गर्थे । आफूलाई बढी भएको अन्नपातमात्र अरूलाई बेच्थे । त्यस बेला व्यावसायिक रूपमा किनबेच हुनेभन्दा पनि ऐँचोपैँचोका रूपमा अरूलाई दिने र गरिब गुरुबालाई अन्नको अभाव हुने समयमा श्रमको सर्तमा दिने गरिन्थ्यो । बेच्नु भनेको पनि आफ्नै वरिपरिका छरछिमेकीहरूलाई कुनै न कुनै सर्तमा दिनु नै थियो । तर, हालका दिनहरूमा मानिस व्यावसायिक बन्दै गएका कारण थोरै जग्गाजमिनबाट सकेसम्म बढी उत्पादन लिन चाहन्छन् ।

जसले गर्दा उन्नत बिउबिजन, रासायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन बढाउन चाहन्छन् । मानव स्वास्थ्यको चिन्ता लिन मानिसहरूले छोडेका छन् र बढीभन्दा बढी आयआर्जन गर्नतिर मात्र उनीहरूको ध्यान जाने गरेको हुन्छ । मानिसको यस्तो सोच र व्यवहारलाई सरकार र कानुनले नियन्त्रण गर्न हाम्रो सरकार सफल भइरहेको छैन । हाम्रो देशमा कानुनहरू छन् र हेर्दा ती राम्रा पनि छन् तर हाम्रो कमजोरी भनेकै कानुनको कडाइका साथ कार्यान्वयन गर्न नसक्नु हो । सायद गरिब देश भएकै कारणले होला माथिदेखि तलसम्मका सबै जिम्मेवारमा आर्जनको लालच रहेको पाइन्छ । माथि रहेकाहरूको समबन्ध सम्पर्क माथिल्लै तहका व्यवसायी, बिचैलिया तथा व्यापारीसँग रहन्छ भने तलकाहरूको सम्पर्क सम्बन्ध तल्ला तह र स्तरका व्यवसायीसँग रहेको हुन्छ ।

तिनीहरूले कानुन कार्यान्वयन गर्नु गराउनुको सट्टा व्यवसायीलाई यस्ता कार्यका लागि प्रोत्साहन गरेर आफू त्यसबाट लाभ लिने प्रयासमा रहेका हुन्छन् । बजारमा बिक्रीका लागि ल्याइएका तरकारी, खाद्यान्न तथा फलफूलहरूमा विषादीको मात्रा परीक्षण गरिँदैन, त्यसमा गुणस्तरको छाप लगाइँदैन र जे होस् अनि जस्तो होस् खुलेआम बिक्रीवितरण गर्न छुट दिने गरिन्छ । धेरै राम्रा, सरदरका र गुणस्तरहीन तीन प्रकारका उपभोग्य सामान बजारमा बिक्री भइरहेका छन् । उपभोक्ताले आफ्नो सामथ्र्य अनुसारको सामान किन्छ र प्रयोग गर्छ । गुणस्तरहीन सामग्री भनेर सम्बन्धित निकायले छानबिन गरेर कम गुणस्तरको सामग्री बिक्रीवितरण गर्ने व्यक्ति कारबाही गर्ने गरेको आक्कलझुक्कल मात्र पाइन्छ ।

यसले गर्दा हामी अत्यधिक मात्रामा विषादीको प्रयोग भएका सागपात तरकारी फलफूल तथा खाद्यान्नहरू समेत प्रयो गर्न बाध्य भइरहेको छौँ । अबका दिनमा यस्ता रासायनिक पदार्थको प्रयोगबिनाको कुनै खाद्यपदार्थ उत्पादन गरिन्छ भन्ने कुरा सामान्यतया अपत्यारिला जस्ता लाग्न सक्छन् । मात्रा नमिलाइकन खेतीमा प्रयोग गरेको रासायनिक पदार्थले खेती फष्टाउनुको सट्टा बिग्रन जान्छ । युरिया वा डिएपी मलको प्रयोग गरेको माटोमा त्यस्ता रसायनको मात्रा पच्चीस वर्षसम्म रहिरहने विज्ञहरूको धारणा छ । नेपालका किसानहरू प्रायः सबैजसो अपठित नै छन् । पढेलेखेका मानिसहरूले खेती गर्ने गरेका छैनन् । त्यसैले नेपाली किसानहरूले मल बिउबारे तालिम लिएका छैनन्, रासायनिक मलका बारेमा पनि उनीहरूले यस्तो तालिम पाएका छैनन् । त्यसले गर्दा मात्रा, समय र बालिनाली मिलाएर त्यसको प्रयोग गरेका हुँदैनन् ।

अज्ञानताकै कारण खाद्यान्न राख्ने भाँडा वा डालाहरूमा मल लगेर खेतीमा छर्छन् र त्यही मल छरेको हात नधोई खाजा खान्छन् । विषादी छर्दा पनि उहीहरू यसै गर्छन् । जसका कारण उनीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नसक्छ । यसैगरी नेपालको बजारका अधिक मात्राका तरकारी भारतबाट आउने गर्छ । लामो बाटोबाट धेरै दिन लगाएर ल्याइने यस्ता तरकारी नकुहियोस् भनेर अत्यन्त धेरै विषादी हालिन्छ तर नेपाल सरकारले त्यसको परीक्षण गर्ने नियम भए पनि गर्ने गरेको छैन । भारत सरकारले नेपाल सरकारलाई यस्ता कार्यमा समेत कूटनीतिक दबाब दिने गरेको छ । कूटनीतिक सम्बन्ध नै बिग्रने डरले जति नै मात्रामा विषादीको प्रयोग भएको भए तापनि त्यसमा हाम्रो सरकार आँखा चिम्लिन्छ ।

यसले गर्दा जनताको स्वास्थ्य नराम्ररी प्रभावित भइरहेको छ । यसतर्फ सरकारले विचार पुर्‍याउनुपर्छ । बेमौसमी तरकारीहरूमा त झन् बढी विषादी हालेको हुन्छ । स्वाभाविक रूपमा मौसमी उत्पादन हुने यस्ता कृषि उपजहरूका लागि त्यति धेरै मिहिनेत र रासायनिक पदार्थ आवश्यक पर्दैन तर बेमौसमी उत्पादनका लागि अत्यधिक मात्रामा रासायनिक पदार्थको प्रयोग हुने गरेको छ । जसले गर्दा यस्ता उपजहरू हानिकारक हुन्छन् । एकातिर यस्ता रासायनिक पदार्थको प्रयोग मात्रा र आवश्यकताबमोजिम गरिनु आवश्यक छ भने अर्कातिर सरकारले यसलाई नियमन गर्न सक्नुपर्छ । यसैगरी, भारतलगायत अन्य मुलुकबाट आयात गरिने खाद्य पदार्थमा आवश्यकताबमोजिम परीक्षण हुनु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?