उद्योगलाई विद्युत् दिन प्रसारण लाइनको रिङ बन्दै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीयवासीलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइने भएको हो । नेपाल विद्युत् प्राधिकरणले परासी र रूपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो माग सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल-हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अघि बढाएको छ । गण्डक-परासी ३३ केभी डबल सर्किट र बुटवल-ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन चालु अवस्थामा छन् ।

सुनवल सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीनवटा फिडरमध्ये एउटा सञ्चालनमा आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गर्नुभएको छ । घिसिङले नयाँ लाइन सञ्चालनसँगै सो क्षेत्रका उद्योग र स्थानीयवासीलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको बताउनुभयो । साथै उहाँले निर्माणाधीन ३३ केभी डबल सर्किटका दुर्ईवटा फिडर निर्माण तत्काल सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन फिडरबाट सो क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिल उद्योगसहित स्थानीय रूपमा विद्युत् आपूर्ति भइरहेको थियो । सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ ।

प्राधिकरणका अनुसार परासीमा सञ्चालित सिमेन्ट, स्टिललगायतका ठूला तथा साना उद्योगले हाल करिब ७५ मेगावाट विद्युत् खपत गरिरहेका छन् । सञ्चालित उद्योगको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगका लागि करिब ४० मेगावाट गरी सो क्षेत्रमा एक सय १५ मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरिएको छ । रूपन्देहीको भैरहवासहित सो क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुनेछ । कालीगण्डकी र सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्नेछ । कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ ।

साथै, हेटौंडा-भरतपुर-बर्दघाट र बर्दघाट-नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत् नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुनेछ । सो क्षेत्रमा विद्युत् आपूर्ति र दुर्ई देशबीच विद्युत् व्यापारका लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्नेछ । हेटौंडा-भरतपुर २२० केभी प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर-बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल-बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अहिले पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमता नधान्दा भरतपुरबाट पश्चिम (बुटवल)तर्फ विद्युत् प्रवाहका लागि समस्या छ । हेटौंडा-भरतपुर-बर्दघाट र बर्दघाट-नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुने प्राधिकरणले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?