अमेरिका जाने लहडमा ८० लाख गुमाएका खड्का बाख्रा पालेर रमाउँदै

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । जीवनका उर्वर ९ वर्ष अरबका खाडीमा विताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा रु ८० लाख गुमाएका म्याग्दीका एक युवा गाउँमा नै फर्केर बाख्रा पालन व्यवसाय शुरु गर्नुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबराका ३४ वर्षिय कर्णबहादुर खड्काले साउदी,कतार र इराकमा ९ वर्ष पसिना बगाएर कमाएको रु ८० लाख अमेरिका जाने प्रयासमा डुवेपछि गाउँमा नै फर्किएर बाख्रा पालन व्यवसाय शुरु गर्नुभएको हो ।

४ वर्ष साउदी,३ वर्ष इराक र २ वर्ष कतार गरी ९ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिए पछि अमेरिकाको सपना विर्सिएर गाउँकै व्यवसायमा खड्का रमाउनुभएको हो ।

खड्काले खाडी मुलुकमा कमाएको पैसाले बेनी र पोखरामा गरी ३ वटा घडेरी जोड्नुभएको थियो । खाडी मुलुकबाट फर्केपछि अझ बढी कमाउने लोभमा उहाँले तीनवटै घडेरी बेचेर अमेरिकाका लागि प्रयास गर्नुभयो । तर प्रयास सफल भएन । बोर्डरबाटै फर्कनुप¥यो । अमेरिका हिँड्नुभएका कर्णबहादुरलाई मेक्सिकोमा पुगेपछि समस्या शुरु भयो । त्यहाँबाट तीन पटकसम्म अमेरिका छिर्ने उहाँको प्रयास असफल भयो । त्यसपछि उहाँ आफ्नै गाउँ फर्किनुभयो र शुरु गर्नुभयो बाख्रापालन व्यवसाय ।

“म अमेरिका छिर्न लागेका बेला बोर्डरमा त्यहाँको प्रहरीले पक्राउ ग¥यो, अनि त्यहीबाट फर्काइदियो,” उहाँले भन्नुभयो, “राम्रै भयो अहिले आफ्नै ठाउँमा पौरख गर्न पाएँ ।”

गैर कानुनी रूपमा मेक्सिको हुँदै अमेरिका छिर्न लाग्दा उहाँ पक्राउ पर्नुभएको हो । त्यहीबाट नै उहाँलाई नेपाल फर्काइयो । अमेरिकाको सुन्दर सपना देख्दा ८० लाख रुपैयाँ सकियो । तर रित्तो हात फर्कन प¥यो । त्यसपछि भने कर्णबहादुरले आफ्नै गाउँमा पशुपालन गर्न थाल्नुभयो ।

सुरुमा कुखुरा पालनबाट व्यवसाय थाल्नुभयो । तर यो व्यवसायबाट सोचेजस्तो भएन । कमाइको साटो उल्टो घाटा भयो । तर उहाँ हार्नु भएन । पहिलेदेखि नै आफूले गर्दै आएको बाख्रा पालन गर्न थाल्नुभयो ।
खड्काले रु सात लाख बैंकमार्फत ऋण लिनुका साथै अन्य पैसा सरसापट गरी रु १५ लाखको लगानीमा उहाँले बाख्रा पालन व्यवसाय थाल्नुभयो ।

दिप्सन कृषि तथा पशुपन्छी फर्म दर्ता गरी शुरु गरेको व्यवसायमा अहिले ४० ओटा लोकल र बोयर क्रस जातका बाख्रा छन् ।
अमेरिका जाने रहरमा त्यतिधेरै पैसा गुमेपनि खड्काको आशा भने मरेको छैन । गाउँमा नै पौरख गरेर अमेरिका जाने लहडमा गुमेको पैसा कमाउने र आफ्नै माटोमा केही गरेर देखाउने दृढ इच्छा शक्ति लिएर उहाँ व्यवसायमा खटिरहनुभएको छ ।

खड्काले भन्नुभयो “पैसा नै सवैथोक हो जस्तो लाग्थ्यो तर, त्यस्तो होइन रैछ, आत्मसन्तुष्टि र पारिवारिक खुसीले जीवनमा धेरै महत्व राख्दो रहेछ, यो कुरा मैले गाउँमा फर्केर पशुपालन व्यवसाय शुरु गरेपछि थाहा पाएँ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?