सामाजिक सेवामा खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीमा खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–६ स्थित कृष्णप्रसाद मरासिनीको परिवारले आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा खडानन्द दमयन्ती स्मृति प्रतिष्ठान स्थापना गरेको हो । “सेवा नै सबभन्दा ठूलो धर्म हो” भन्ने मूल भावनाका साथ खडानन्द दमयन्ती स्मृति प्रतिष्ठानको स्थापना गरिएको छ ।

दीनदुःखी तथा विपन्न परिवारलाई आर्थिक एवम् भौतिक सहयोग प्रदान गर्ने, गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठानका सचिव ईश्वरी मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानद्वारा विभिन्न स्वास्थ्य सिविर सञ्चालन गरी निःशुल्क औषधि वितरण गर्ने, एकल तथा जेष्ठ नागरिकलाई विभिन्न किसिमको सहयोग गर्ने, प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गरिनेछ । प्रतिष्ठान स्थापनाभएसँगै अहिले विपन्न परिवारलाई सहयोग समेत गर्न सुरु गरेको छ ।

विहिबार खडानन्द दययन्ती स्मृति प्रतिष्ठानको सम्पर्क कार्यालय रेसुंगा नगरपालिका–६ नेटाखर्कमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको बिशेष उपस्थितिमा पाठेघर ट्युमरको उपचार गराईरहनुभएकी स्थानीय विष्णु पाण्डेलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । पाण्डेलाई ५१ हजार १०० रुपियाँ सहयोग गरेको छ । त्यस्तै, दुर्घटनामा परी टाउको उपचार गराइहनुभएकी यमुना नेपालीलाई दश हजार रुपियाँ उपचारका लागि प्रतिष्ठानले सहयोग गरेको छ । प्रतिष्ठानले उपलब्ध गराएको आर्थिक सहयोग नगरप्रमुख पन्थीले पाण्डे र नेपालीलाई हस्तान्तरण गर्नुभयो । उहाँले प्रतिष्ठानको माध्यमबाट विपन्न, पीडितहरुलाई गरेको सहयोगको प्रंशसा गर्नुभयो ।

सामाजिक सेवाको भावनाले स्थापना गरेको प्रतिष्ठानको उहाँले प्रशंसा समेत गर्नुभयो । नगरप्रमुख पन्थीले प्रतिष्ठानको माध्यमबाट सरकारले गर्ने कार्य एक परिवारले सुरु गरेको भन्दै यो अभियानलाई निरन्तर रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । सबैभन्दा ठुलो मानवीय धर्म नै विपन्न र दिन दुःखीको सहयोग गर्नु रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका सल्लाहकार सदस्य रामप्रसाद मरासिनीको सभापतित्व रहेको कार्यक्रममा नगरप्रमुख पन्थीको प्रमुख आतिथ्यता संयोजक कृष्णप्रसाद मरासिनीको स्वागत मन्तव्य तथा सचिव इश्वरीप्रसाद मरासिनीको सञ्चालनमा आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । त्यस क्रममा त्यहाँका वडाका वडाअध्यक्ष गनबहादुर गुरुङ्गले समाजमा प्रतिष्ठानका माध्यमबाट थप सहयोगी कार्यहरुलाई अगाडी बढाउँदै यो पवित्र कार्यलाई सधै निरन्तर दिन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?