दोलखा महोत्सव सुरु

Read Time = 3 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखा महोत्सव २०७९ सुरु भएको छ । शुक्रबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले महोत्सव उद्घाटन गर्दै बाम तथा लोकतान्त्रिक आन्दोलनका हस्ती जन्माएको दोलखालाई समृद्ध जिल्ला बनाउन सरकारले सहयोग गर्ने बताउनुभयो । देशमा राजनीतिक परिवर्तन भई लोकतन्त्रको संस्थागत विकास भइरहेको भए तापनि आर्थिक समृद्धि नभएसम्म त्यसको प्रत्यक्ष लाभ सर्वसाधारणले नपाउने उहाँको भनाइ थियो ।

स्वदेशमा बाबुआमाको काख अनि बालबच्चाको साथ छोडेर युवाहरू विदेशिनुपर्ने अवस्था अन्त्य गर्न देशको उत्पादकत्व बढाउनु सरकारको लक्ष्य रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । देशको ब्यापार घाटा बर्सेनि बढ्दै गएकाले देशभित्रै उत्पादन बढाई आयात प्रतिस्थापन गर्नुपर्नेमा उहाँको जोड थियो । अहिले विकास निर्माणमा पुँजीगत खर्च कम भइरहेको उल्लेख गर्दै पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको पनि उहाँले बताउनुभयो ।

महोत्सव उद्घाटन समारोहलाई दोलखाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य गंगा कार्की, प्रदेशसभाका सांसद, राजनीतिक दलका नेतालगायतले सम्बोधन गर्दै सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै देशमा समृद्धि आउने बताउनुभएको थियो । दोलखा चेम्बर अफ कमर्शको आयोजनामा सुरु भएको महोत्सव फागुन २७ गतेसम्म चल्नेछ । महोत्सव उद्घाटन समारोहमा विभिन्न जातजातिका झाँकी, खैंजडी, भजन तथा स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

महोत्सवमा एक सय स्टल रहेको दोलखा चेम्बरका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा आर्थिक बहस, नाष्ट र विज्ञान तथा रोबोटिक एसोसिएसनको सहयोगमा रोबोट प्रदर्शन, कम्प्युटर एसोसिएसनको सहयोगमा निःशुल्क मर्मत शिविर तथा साइबर सचेतना कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा स्ट्रिट फुड फेस्टिबल, माउन्टेन फ्लाइटमार्फत् दोलखाका पर्यटकीय स्थल अवलोकन तथा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर अभौतिकीकरण शिविरलगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?