कञ्चनपुरमा अछामी होरीको रौनक

हिमालय टाइम्स
Read Time = 6 mins

देवेन्द्र खड्का/हिटा
महेन्द्रनगर । हिन्दू धर्मावलम्बीहरूले आ-आफ्नो कला संस्कृति मूल्य मान्यताअनुसार एक आपसमा विभिन्न रङ दलेर होली पर्व मनाउने गर्दछन् । यो पर्वलाई अछाम जिल्लामा भने फरक तरिकाले मनाउने प्रचलन छ । यो पर्वलाई विशेष गरी अछामी भाषामा होरी भन्ने गर्दछन् ।
राम सीता बन जानैँ पढ्यो ।
पिताको आज्ञा मान्नैँ पढ्यो ।
१४ वर्ष बन काट्नै पढ्यो ।।
राम सीता बन जानैँ पढ्यो ।।
कैकेइले बर माग्नै पढ्यो ।
राम सीता बन जानैँ पढ्यो ।।
बनका कन्थमुल खानै पढ्यो ।
राम सीता बन जानैँ पढ्यो ।।।
यी अछाममा खेलिने होरीका श्लोकहरू हुन् । शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका-१ बाह्कुण्डामा सेतो पहिरन, घाँटीमा माला, निधार र गालामा अबिर लगाएका पुरुषहरू छुट्टाछुट्टै समूह बनाई गोलाकार आकारमा उक्त श्लोक गाउँदै होरी खेलिरहेका थिए । गोलाकार घेराभित्र होरीको श्लोकको लयसँग बाजा मिलाउँदै दुई/चारजना ट्याम्को, नरसिंगा, झ्याली बजाइरहेका थिए भने महिला, बालबालिकाहरू उक्त होरी खेलेको हेरिरहेका थिए । पुख्र्यौली घर अछाम भई हाल बसाइँ सरी तथा कामको सिलसिलामा कञ्चनपुर रहेका अछामीहरूले प्रत्येक वर्ष कञ्चनपुरको बाह्कुण्डास्थित अछाम सेवा समाजको प्रांगणमा होरी खेल्ने गरेको अछाम सेवा समाज कञ्चनपुरका अध्यक्ष रूपबहादुर रावलले बताउनुभयो ।

‘एक आपसमा रङ दलेर होली खेलिन्छ तर सेतो जामासहितको लुगा लगाएर रङ नलगाई खेल्नु भने होरी हो,’ पुख्र्यौली घर अछामको मार्कु भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बस्दै आउनुभएका नर विश्वकर्माले भन्नुभयो, ‘होरी प्रायः अछाममा खेलिन्छ तर हामी पुख्र्यौली घर अछाम भई हाल विभिन्न सिलसिलामा कञ्चनपुर बस्दै आएका अछामीहरू आफ्नो संस्कृति होरीको संरक्षण, जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष यहाँ(कञ्चनपुर) आएर होरी खेल्छौँ ।’

उहाँका अनुसार होरी अछामीहरूको महत्वपूर्ण पर्व हो । कामको सिलसिलामा भारत तथा परदेशमा रहेका अछामी दाजुभाइहरू होरी खेल्दा लगाइने विभिन्न प्रकारका माला लिएर होरी खेल्न गाउँघर फर्किने गर्दछन् । वनमा लालीगुराँस, सिमल, असुणा ढकमक्क फुलेका हुन्छन् र परदेशका दाजुभाइ होरी खेल्न गाउँ भित्रिँदा गाउँघरमा खुसीयाली छाउँछ । शिवरात्रीको दिनमा शिवजीको मन्दिरबाट औपचारिकरूपमा होरीको सुरुवात गरे पनि पञ्चमीको दिनदेखि प्रत्येक साँझबाट गाउँ-गाउँमा आफ्नो पटकानीमा सबै दाजुभाइ मिलेर होरी खेल्ने प्रचलन रहेको छ । सुरुका दिनहरूमा साँझको खाना खाएपछि राती सबैजना पटकानीमा जम्मा भएर सामान्य लुगाको पहिरनमा खेलिन्छ भने तीन-चार दिन राती, दिउँसो जामा, पगरी लगाएर खेल्ने गरिन्छ । होरीमा गाइने सबै भाका भगवान् शिव, पर्वती, राम, सीता, कृष्णको नाममा आफ्नै भाषामा देउडा तयार गरी लय हालेर गाउँदै खेलिन्छ ।

होरीको अन्तिम दिनमा मेलको हाँगा काटेर त्यसमा रंगिचंगी ध्वजापताका लगाउने र त्यसलाई होरी खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ । त्यही चीरलाई पूर्णिमाको दिन होरी खेलेर अन्त्यमा परालको मुठासँग आगोले पोलिन्छ । साथै होरी खेल्दा कुनै गल्ती भएको भए गल्तीको क्षमा माग्न देवीको नाममा बोकाको बलिसमेत दिने गरिन्छ ।

अछाममा खेलिने होरीसहित पुतला, भुवालगायतका संस्कृतिको संरक्षण तथा जगेर्ना गर्न कञ्चनपुरमा रहेका अछामीहरूले समेत प्रत्येक वर्ष यहाँ होरी, पुतला, भुव खेल्ने गर्दछन् । पछिल्लो समयमा मौलिक लोक संस्कृतिअनुसार भन्दा पनि एक आपसमा रङ दलेर होरी खेल्ने प्रचलन बढ्न थालेपछि परम्परागत होरी लोप हुने सम्भावना बढेकाले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नतर्फ सबैले ध्यान दिनुपर्ने भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काले बताउनुभयो । वडाध्यक्ष खड्काको पुख्र्यौली घर अछाम हो । अछामी होरीको सुरुवात अछामकै तत्कालीन कालीमाटी गढीका राजा भान शाहको पालाबाट सुरु भएको होरीका जानकार बताउँछन्  । भान शाहको विवाह भारतको कुमाउ गढवालबाट भएकाले त्यहीँबाट दाइजोका रूपमा होरी भित्रिएको जनविश्वास छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?