काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेपछि माओवादीमा ठूलै हलचल भएको छ । सर्वोच्चले सो रिट दायर गर्न अनुमति दिएपछि विभिन्न दल र घटकमा विभाजित माओवादी नेताहरू झस्किएका छन् । शान्ति प्रक्रियामा आएपछि माओवादी शक्ति छिन्नभिन्न अवस्थामा छन् । प्रचण्ड माओवादी केन्द्रको नेतृत्व गरेर बस्नुभएको छ । मोहन वैद्य लगायतका नेताहरू अर्कै मोर्चामा छन् ।
नेत्र विक्रम चन्द नेकपा माओवादी नाममा संगठित हुनुहुन्छ भने धर्मेन्द्र बास्तोला नेकपा बहुमतको नाममा सक्रिय हुनुहुन्छ । बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीको नेतृत्वमा हुनुहुन्छ । रामबहादुर थापा बादल लगायतका नेताहरू एमालेमा हुनुहुन्छ । उहाँहरू विभिन्न पार्टीमा विभाजित भए पनि जब माओवादी सशस्त्र द्वन्द्वको विषय आउँछ एक आवाज हुने गर्नुभएको छ ।
आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी शक्तिहरूलाई एक ठाउँमा उभिन आह्वान गर्नुभयो ।
हामी अहिले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकता सबैले महसुस गरेका छन् । म साथीलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु’, उहाँले भन्नुभएको थियोे, ‘माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तŒवहरू धेरै कमजोर हुनेछन् । माओवादीले एकपटक फेरि विजयको यात्रा तय गर्नेछ ।’
उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव, नेकपा (माओवादी क्रान्तिकारी)लगायतका नेताहरूले माओवादीविरुद्ध चौतर्फी घेराबन्दी भएको भन्दै सम्पूर्ण माओवादी शक्ति एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।
१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनुभएको थियो । तीन वर्षपछि सोही सार्वजनिक अभिव्यक्तिविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै १९ फागुनमा सर्वोच्चमा रिट दिनुभएको थियो ।
त्यसअघि सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिलाई लिएर निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो । दरपीठ आदेशविरुद्ध निवेदकहरूले दिएको अर्को निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्रले आपत्ति जनाएको छ । ‘प्रचण्डले संविधानप्रदत्त अधिकारलाई प्रयोग गरी अमुक सार्वजनिक कार्यक्रमहरूमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनी कलुषित पूर्वाग्रही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्तविपरीत र नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
एकता कत्तिको सम्भव छ ?
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पूर्वमाओवादी घटकहरूको एकता गर्न सक्रिय बन्नुभएको छ । पछिल्लो समय सार्वजनिक मञ्चबाटै पूर्व-माओवादीहरूको एकतामा जोड दिनुभएका प्रचण्डले गत माघ २२ गते आफ्ना पूर्वसहकर्मी नेत्रविक्रम चन्द (विप्लव)लाई बालुवाटारमा भेट्नुभएको थियो । प्रचण्ड र विप्लव मात्रै होइन, कुनैबेला सँगै युद्ध लडेका तर अहिले अलग बाटोमा रहेका माओवादी विचारधाराका अन्य नेताहरूले समेत माओवादीको एकतामा जोड दिइरहेका छन् । विभिन्न दलहरूसँग संवादमा रहेका प्रचण्ड पार्टीको नामबाट माओवादी शब्द हटाउनसमेत तयार देखिनुभएको छ ।
जनता समाजवादी पार्टी छाडेपछि पछिल्लो समय प्रचण्ड र बाबुराम भट्टराईबीच निकटता बढेको देखिन्छ । तर, अन्य नेताहरूसँगको सम्बन्ध भने उस्तै देखिन्छ । मोहन वैद्य किरणसँग प्रचण्डको सम्बन्ध सुध्रिन सकेको देखिन्न । नेत्रविक्रम चन्द लगायतका नेताहरूसँग एकै पार्टी निर्माणको प्रयास मञ्चबाहिर गृहकार्यमा पुग्न सकेको छैन । एमाले र माओवादी एकतापछिको नेकपामा रहेका माओवादी नेताहरू जो एमालेमै मिसिएका छन् । तर, न उनीहरू एमाले छाडेर माओवादीमा फर्कन प्रयासरत देखिन्छन् न प्रचण्डले ठोस पहलकदमी लिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच