पाल्पामा दोहोरिएका ६ अनुहार

Read Time = 5 mins

- रामचन्द्र रायमाझी

पाल्पा । पाल्पामा केही पुराना अनुहार दोहोरिएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँबाट ६ जना पुराना अनुहार दोहोरिएका हुन् ।

नेकपा एमालेबाट रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी र उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, पूर्वखोला गाउँपालिकाबाट अध्यक्षमा नुनबहादुर थापा र उपाध्यक्षमा भागिरथी शर्मा भट्टराई यस पटकको निर्वाचनमा पुनः दोहोरिनुभएको छ । यस्तै, निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट मुक्तबहादुर सारु, रामपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा यसपटक पनि दोहोरिनु भएको छ ।

यसपटक दोहोरिएका ६ जना प्रमुख तथा उपप्रमुखहरू मध्ये तीन जनाले लोकप्रिय मत बढाएका छन् भने तीन जनाले घटाएका छन् । रम्भा गाउँपालिकाका अध्यक्ष भण्डारी २०७४ सालमा नेपाली कांग्रेसका अशोककुमार फालसँग ६६९ मत अन्तरले विजयी हुनुभएको थियो भने अहिले गठबन्धनका दुर्गाप्रसाद अधिकारीसँग एक हजार ४४ मत अन्तरले विजयी हुनुभयो । यो तथ्यांकले अध्यक्ष भण्डारीको लोकप्रिय मत बढेको छ । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा स्थानीय तह निर्वाचन २०७९ मा चार हजार ७८२ मत अन्तरले विजयी हुनुभयो ।

२०७४ सालमा अध्यक्ष थापा नेपाली कांग्रेसका झमन राजमगरबाट तीन हजार ९०४ मत अन्तरले विजयी हुनुभएको थियो । पूर्वखोलाका अध्यक्ष थापाको २०७४ भन्दा २०७९ मा ८७८ लोकप्रिय मत बढेको छ । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले २०७९ स्थानीय तह निर्वाचनमा लोकप्रिय मत बढाउनुभएको छ । सारु २०७४ मा दुई हजार ३९७ मत अन्तरले अध्यक्षमा विजयी हुनुभएको थियो भने २०७९ मा तीन हजार १८६ मत अन्तरले गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुभएको छ । सारुले ७८९ लोकप्रिय मत यसपटक बढी ल्याउनुभएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा पुनः विजयी हुने भाग्यमानी नेता भए पनि उहाँको लोकप्रिय मत भने घटेको छ । नगर प्रमुख थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा एक हजार २०९ मत अन्तरले विजयी हुनुभएको थियो भने अहिले ३७३ मत अन्तरले मात्र विजयी हुनुभएको छ । नगर प्रमुख थापाको २०७४ को स्थानीय निर्वाचनको मतान्तर हेर्दा अहिले ८३६ लोकप्रिय मत घटेको छ । यसैगरी, पूर्वखोला गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको २०७४ को भन्दा २०७९ को निर्वाचनमा लोकप्रिय मत घटेको छ ।

२०७४ मा उपाध्यक्ष भट्टराई तीन हजार ७८८ मतान्तरले विजयी हुनुभएको थियो भने अहिले तीन हजार ६४४ मतान्तरले विजयी हुनुभयो । उपाध्यक्ष भट्टराईको २०७४ मा भन्दा यसपटकको निर्वाचनमा १४४ मत घटेको छ । रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठको २०७४ मा भन्दा यस पटकको निर्वाचनमा लोकप्रिय मत घटेको छ ।

उपाध्यक्ष श्रेष्ठ २०७४ मा ६८२ मतान्तरले विजयी हुनुभएको थियो भने यसपटक ६६१ मतान्तरले मात्र विजयी हुनुभयो । उपाध्यक्ष श्रेष्ठको २०७४ भन्दा २०७९ मा भएको निर्वाचनमा २१ मत घटेको हो ।

तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकामा प्रमुख तथा उप-प्रमुखमा नयाँ नेतृत्व आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?