काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नै गतिमा अघि बढिरहेको नाम हो दीपेश श्रेष्ठ वैद्य । उहाँको स्वरमा रहेका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । दुई दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा सक्रिय रहनुभएका वैद्यले हालै आफ्नै शब्द तथा स्वरमा नयाँ गीत ‘झम्के बुलाकी’ सार्वजनिक गर्नुभएको छ ।
सुन्दर गाउँले दृश्य कैद गरिएको भिडियोमा दीपेशलाई नरेश केसी र भावना पुनमगरले स्वरमा साथ दिनुभएको छ । यसभन्दा पहिले दीपेशको स्वरमा ‘कथा’ सार्वजनिक भएको थियो । ‘कथा’ गीतमा एक युगल जोडीको बिछोडको कथालाई रचनाको रूपमा प्रस्तुत गरिएको छ । गायक दीपेशले २०५७ सालतिर रामचन्द्र काफ्लेको सहयोगमा पहिलो गीत ‘तिमीलाई देखे देखि’ रेकर्ड गर्नुभएको थियो ।
दिपेशले त्यसपछि ‘टु हिृलस’ समूह स्थापना गरेर आफ्नो गीति एल्बम ‘फेम’ सार्वजनिक गर्नुभएको थियो । उक्त समूहमा दीपेश र सुमननिधि तिवारी रहनुभएको थियो भने उक्त एल्बममा रहेको ‘कुटुमा कुटु’ भन्ने गीतमा नायिका ऋचा शर्माले अभिनय गर्नुभएको थियो संगीत अनि रचना ब्याण्ड ८८४८ को थियो । ऋचा शर्माको अभिनय यात्रामा पुलको रूपमा उक्त म्युजिक भिडियोले काम गरेको थियो ।
सन् २००९ पछि वैद्य केही समयसम्म सांगीतिक क्षेत्रबाट ओझेल रहनुभएको थियो । उहाँ २००९ देखि २०१५ सम्म बेलायतमा रहनुभयो भने सन् २०१६ मा बेलायतबाट नेपाल फर्कने बित्तिकै एरेञ्जर महाराज थापाको संगीत संयोजनमा ‘नेपाल सम्हाल’ बोलको गीत गाउनुभयो । त्यतिखेर भूकम्पले थलथलिएको नेपाल र नेपालीलाई सान्त्वनास्वरूप उहाँले उक्त गीत ल्याउनुभएको थियो ।
त्यसपछि ‘चौबन्दी’, ‘बाबा’, ‘संस्कृति’, ‘गोर्खाली’ जस्ता गीतले उहाँलाई आमश्रोतामाझ थप चर्चा दिलायो । संगीतकार राजनराज सिवाकोटीको संगीतमा सन् २००८ मा रेकर्डिङ भएको ‘तिम्रो मौन’ बोलको गीत पनि श्रोताको मन जित्न सफल भएको भएको थियो । सन् २०२२ मा भएको संघीय चुनावमा उहाँले अमृत राज वैद्यसँगै ‘भोट फर भट्टराई’ बोलको र्याप गीतमा पनि शब्द, संगीत र स्वर दिनुभएको थियो ।
गीतसंगीतको क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर स्वरुप विभिन्न संघसंस्थाले उहाँलाई सम्मानित गरेका छन् । प्रायः रक विधाको गीत गाउने दीपेशले यति बेला आफ्नै च्यानलमार्फत सार्वजनिक गरेको ‘झम्के बुलाकी’ले आफ्ना अघिल्ला सिर्जनाहरूले झै सफलता पाउने कुरामा विश्वस्त हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच