हरि मन्जुश्री (२०१६/२/५) उहिलेको पूर्व-४ नं. भोजपुरबाट सग्लो शरीर लिएर नेपालभरिका अति परिश्रमी, सुयोग्य, मनस्वी, राष्ट्रवादी नेपालीको राजधानी र त्यस्तै फटाहा, निकम्मा, भ्रष्टाचारी, व्यभिचारी, हावादारी, गफाडी, केटी बेचुवा, मूर्ति बेचुवा, इमान बेचुवा, गठबन्धन र सठबन्धन बेगर बाँच्नै नसक्ने, आफ्ना हातगोडा सुताएर सधैं ठूलो पद प्रतिष्ठा ताक्ने महामनाको पनि राजधानी भएर रहेको कठमाडौंमा २०३४ सालमा आइपुगेका थिए । यिनको एकातिर पढ्ने अर्कातिर बिहानबेलुकाको जोहो मिलाउन पर्ने समस्याका कारणले घुँडा धसेर परिश्रमका ज्वालामा शरीर आहुति चढाउन नसकेका दिन भोकै बस्नु या सुत्नु पर्ने नियति भने सँगै आएको थियो ।
यद्यपि यिनको जन्म त्यस प्रातःस्मरणीय कुलमा भएको थियो जुन कुललाई बालागुरु षडानन्दको कुल भनेर पनि चिनिन्छ । षडानन्द अधिकारीबाट हरिकुमार अधिकारी पाँचौं पुस्तामा पर्दछन् । गुणको बैरी मानुष जातिले बसोवास गर्ने यस कान्तिपुरीका खाल्डामा बाँच्नका निमित्त एक दिनमा ६/७ वटा पत्रिकामा पनि लेखेँ भनेर एक दिन उनले मलाई सुनाएका थिए । काठमाडौंमा आएपछि नै उनले हरिकुमार अधिकारीका ठाउँमा हरि मन्जुश्री भनेर आफ्नो संगेताभिधान परिवर्तन गरेका रहेछन् । त्यसका आन्तरिक गाथातिर म आँखा लाउँदिन ।
बालागुरुका दाजुभाइ कतैका हाँगाबाट आएका अधिकारी बाहुन हुन् हरि मन्जुश्री । उनले जनताका इच्छाले प्रदान गरेका दानदातव्यबाट मात्रै सञ्चालन गरेको संस्था हो ‘शब्दयात्रा प्रकाशन’ । हाम्रा पहाडतिरको निपाने खेत या घैया छर्ने खोरियाको जस्तै अवस्था देख्छु यस संस्थाको पनि ।
उनको र मेरो पनि परिचय चाहिँ जीवनचन्द्र कोइरालाले गराएका थिए । त्यो बेला उनी बनेपातिर सरेका रहेछन् र त्यहाँ एउटा सानो कोठामा बसेर अहोरात्र कम्प्युटर चलाउने काम गर्दथे । साना ठूला उनले लेखेर प्रकाशन गरेका ६०/७० वटा पुस्तक त मसँग पनि छन् । जीवनको र हरिको काम थियो ग्रन्थ खोज्ने, लेख्ने र प्रकाशन गर्ने । यसमा उनीहरू दुवै कसैले गरिदिनु पर्यो भनेका पुस्तकलाई साङ्गोपाङ्ग बनाएर समाजका अघिल्तिर ल्याइदिन्थे । हरिजीको संस्था थियो ‘शब्दयात्रा प्रकाशन’ भने जीवनको संस्था थियो ‘कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान’ । जीवनलाई अपराधी कोरोनाले बोलाएपछि उनको संस्था लामो निद्रामा सुतेको छ शायदै ब्युँझला जस्तो लाग्छ ।
जीवनचन्द्र कोइरालाको जीवन आर्थिक दृष्टिले नेपालको मध्यम वित्तीय नेपालीको थियो जसले एक पेट खान र एक आङ लाउनका लागि त्यति धेरै चिन्ता नलिँदा पनि हुन्थ्यो । पितापुर्खा विर्तावाल कोइराला र पाण्डित्य परम्पराका भएका हुनाले जीवनको जीवनचक्रको आफ्नै प्रकारको बाटो थियो । हरिजीको भने पहाडबाट आउने निस्वबाहुन छेत्रीको अवस्था थियो । बिहान र दिउँसो काम गरेर राति पढ्ने, बिहान र राति काम गरेर दिउँसो पढ्ने, सुविधा त्यस बेलाको पिछडिएका नेपालमा थियो, रहेछ र त हामी जस्ताले पनि आजका नेपालका भाग्यविधाता ठानिने गिदीबोसेको संगत पाएछौँ ।
आज विकसित भएका नेपालमा यस प्रकारले आफ्नो व्यक्तित्व बनाउन खोज्नेले देश छाड्नै पर्छ । यही हो प्रजातान्त्रिक समाजवादी र सर्वहाराका तारणहारले सञ्चालन गरेका नेपालको शैक्षिक या रोजगारीको अवस्था । मैले पनि गुठी संस्थानले दिएको आवास र भोजन पाएको हुनाले दुई अक्षर पढेछु । म जसरी नै पढेका श्रीभद्र शर्मा, पूर्णप्रसाद ब्राहृमण, बाबुराम पौडेल, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, रामचन्द्र पौडेल, चिरञ्जीवीकुमार वाग्ले आदि सबै यसैगरी गुठीको भात खाएर पढेका हुनाले आज यिनले सञ्चालन गरेका नेपालमा संस्कृत शिक्षामा गुठीको भोजन र आवासयुक्त शिक्षालय सिध्याएर छाडे ।
आफू रूखमा चढेपछि त्यो भर्याङ रहिरहृयो भने त को-को आउँछन् आउँछन् । कति बुद्धिमान र परोपकारी महान् आत्मा भएका रहेछन् त्यहाँ पढेर राष्ट्रको चुडान्त शिखरमा पुगेका महामनाहरू ‘आफू मरेपछि डुमै राजा’ सिध्याइदिए । आबालब्रहृमचारी गुरु षडानन्द जनकपुरको ज्ञानकूपमा बसेर केही वर्ष व्याकरण र वेद पढेर वनारसतिर लागेका रे भन्ने सुन्थेँ । मैले इतिहास खोतल्दा दिङ्लापछि मटिहानी र जनकपुरका राजकीय संस्कृत प्रधान पाठशाला खुलेका तथ्य भेटेथेँ । शोध गर्न भ्याएको छुइन । तथ्यले कति पुष्टि गर्छ अहिले नै भन्न सकिन ।
तिनै बालागुरुका दाजुभाइ कतैका हाँगाबाट आएका अधिकारी बाहुन हुन् हरि मन्जुश्री । उनले जनताका इच्छाले प्रदान गरेका दानदातव्यबाट मात्रै सञ्चालन गरेको संस्था हो ‘शब्दयात्रा प्रकाशन’ । हाम्रा पहाडतिरको निपाने खेत या घैया छर्ने खोरियाको जस्तै अवस्था देख्छु यस संस्थाको पनि । पानी परेको मौका छोपेर निपाने खेतमा धान रोपिन्छ तर पछि आवश्यक बेलामा वर्षा भएन भने धानका ठाउँमा पोगटा फल्छ । भिरालो पाखो फाँडेर गरिबगुरुवाले घैया छर्छन् दशैंमा चिउरा खाउँला भनेर तर भदौरे झरिले पहिरो लडाएर लैजान्छ कहिले त कहिले चाहिँ सिलोबालो गर्न पाइन्छ । हो यस्तै हाल छ शब्दयात्रा प्रकाशनको पनि । किनभने यो संस्था नाम चलेका आजका सत्ताधारीको होइन, यसले सत्तामा गएका व्यक्ति खोजेर अभिनन्दन पनि गर्दैन ।
जससँग प्रतिभा छ, प्रतिभा पगालेर सिलाजीत बगाउन सक्ने निमुखा लेखक, कलासाधक, जनता र देशका निमित्त सरकारका आँखाको कसिङ्गर बनेर काम गर्ने पत्रकारको चाहिँ यस संस्थाले खोजी गर्दछ । राष्ट्रपति प्रधानमन्त्री भए भनेर हिजो पनि कसैको खोजी गरेन भोलि पनि कसैको खोजी गर्नेवाला छैन । त्यस आसनमा बसेर साधना गर्ने जनक, याज्ञवल्क्य, सतानन्द, भृगु, वशिष्ठ जस्ताको खोजी खोजी पूजा पनि गर्दछ ।
यसै कारण आजको हाम्रो सरकारले त्यस संस्थाको नामसम्म पनि सुनेको छैन भने लगानी र अनुग्रह त चाकडीवालाले नपाउने हो । झलनाथजीको सर्पखेतीले पायो त । जीफन्टले सधैं कुम्ल्याउँछ त । बल्ल देशमा जनताका एकेडेमी बनेका छन् । एक न एक दिन घैंटाका पिँधमा कसो घाम नलाग्ला । पँधेरो ओभानु र अँगेनु चिसो कहिल्यै हुँदैन भन्छन् । अब ‘शब्दयात्रा प्रकाशन’ संस्थाको इतिवृत्ततिर पनि लागौँ :
शब्दयात्रा प्रकाशनका केही आफ्नै पन छन् ती हुन् :
१, विदेशी र नेपाल सरकारबाट आजसम्म एक पैसा पनि आर्थिक सहयोग नलिएको ।
२, जनस्तरीय आर्थिक तथा भौतिक सहयोगबाट नै संस्था सञ्चालित रहेको ।
३, मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता गरी समाज कल्याण परिषद्मा आबद्ध रहेको ।
शब्दयात्रा प्रकाशनका केही बिलकुलै नयाँ तर हाम्रा परम्परासँग सम्बद्ध पक्ष पनि रहेछन् :
(क) व्यक्तिलाई पुरस्कृत गर्दा किरीट लाइदिएर रुद्राक्षको माला लाइदिने गरिन्छ (दोसल्ला ओढाउने र खादा भिराउने काम गरिँदैन । यो हाम्रो परम्परा विरुद्ध छ ।)
(ख) सम्मान तथा पुरस्कार दिइन्छ तर दुवैमा नगदलाई भेटी भनेर देवस्थलमा चढाए झैँ सम्बद्ध महामनालाई चढाइन्छ । (दिने होइन पनि दिने पनि विदेशी र विधर्मी परम्पराबाट आएको हो ।) ।
(ग) सम्मानित तथा पुरस्कृत व्यक्तिबाट मन्तव्य प्रकट नगराएर एउटा बनिबनाउ पत्रमा आशीर्वचन मागिन्छ । (भाषण गराउने प्रथा पनि हाम्रो होइन) । युधिष्ठिरको यज्ञमा श्रीकृष्णको अग्रपूजापछि कृष्णले भाषण गरेका छैनन् बरू पाहुनाका गोडा धुने र चिसा गोडा पुछ्ने काम गरेका छन् । दशरथको पुत्रेष्ठी यज्ञपछि पनि ऋष्यशृंगले भाषण दिएको देखिँदैन ।
(घ) पुस्तक सार्वजनिकभन्दा पहिले ती या त्यो पुस्तक नेपाली थैलीमा राखिएको हुन्छ÷हुन्छन् । थैलीको मुखमा रहेका तुना तानेर थैलीको मुख खोली पुस्तक सार्वजनिक गरिन्छ । यो विशुद्ध नेपाली शैली हो । सभापति पहिला बोल्छन् र कार्यादेश दिन्छन् अनि उद्घोषकले सबै काम गर्दछन् । सभान्त चाहिँ त्यहीँको कोही बालक, वृद्ध र सामाजिक गरिमायुक्त व्यक्तिले गर्दछन् ।
(ङ) आरम्भमा वैदिक स्वस्तीवाचन र कुलगायन गरेर मात्र सभापतिले आदेश दिएपछि कार्यक्रम सुरु गर्ने परम्परा छ ।
विगत लामो समयदेखि गर्दै आएका वार्षिक कार्यक्रमका सम्बन्धमा पनि छड्केनजर लाउन मन लागेको छ :
बनेपामा पाँचआना जग्गा प्राप्त गरेर त्यहाँ बनेका घरमा माथिल्लो तलामा पुस्तकालय । तल्लो तलामा सभाकक्ष र मूलद्वारभन्दा अघिल्तिर चौतारो बनाएर त्यसमा षडानन्द अधिकारी, देवीप्र्र्रसाद सापकोटा, कृष्णलाल अधिकारी, नरबहादुर भारती र मेलवादेवी गुरुङका सालिक राखिएका छन् । धुलीखेलमा बेलप्रसाद श्रेष्ठको सालिक स्थापना गरिएको छ । बेलप्रसाद त्यस क्षेत्रका राम्रा उद्योगपति र समाजसेवी, समाज सुधारक व्यक्ति हुन् । यहाँ रहेका पुस्तकालयमा करिब १२ हजार विविध विषयका पुस्तक रहेका छन् ।
बनेपामा पाँच आना जग्गा प्राप्त गरेर त्यहाँ बनेका घरमा माथिल्लो तलामा पुस्तकालय । तल्लो तलामा सभाकक्ष र मूलद्वारभन्दा अघिल्तिर चौतारो बनाएर त्यसमा षडानन्द अधिकारी, देवीप्र्र्रसाद सापकोटा, कृष्णलाल अधिकारी, नरबहादुर भारती र मेलवादेवी गुरुङका सालिक राखिएका छन् ।
यसैगरी शब्दयात्रा प्रकाशनले आफ्नै प्रकाशनगृह र सभाभवनका अतिरिक्त ६४ कला विद्याकी अधिष्ठात्री देवी सरस्वतीको र राधाकृष्णको मन्दिर निर्माण गरेर शिक्षा, अध्यात्म र कामभावको तुष्टीकरण गर्ने पौरस्त्य परम्परा पनि झल्काइएको देखिन्छ । भोगमात्र ऐश्वर्य होइन त्याग पनि जीवनैश्वर्य प्राप्तिको मार्ग हो भन्ने सन्देशका निमित्त बुद्धको मूर्ति स्थापना गरिएको छ । यस संस्थाले विभिन्न लेखकका दुई सयवटा पुस्तक प्रकाशन गरिसकेको देखिन्छ । साहित्यिक पत्रिका प्रकाशनलाई पनि यसले नियमित गरेको रहेछ ।
हालै आएर यसले आवासको व्यवस्थासहित अनुसन्धान केन्द्र सञ्चालन गरेको पनि देखिन्छ । वस्तुतः धनले, पदले, धुत्र्याइँले केहीले पनि मान्छे अमर बन्दैन । त्यागमय भोगले कृष्ण जगद्गुरु भएका थिए भने त्यागमय योगबाट बुद्ध विश्वदीप बन्दै गएका देखिन्छन् । कृष्ण र बुद्धका मर्गलाई अवलम्बन गरी ओशोले धेरै नवधनाड्यलाई थकथक गराएर गए । जीवन यसरी बाँच्नु पर्छ भन्ने शिक्षा दिएर गए । रोदनमय त्याग र त्रासमय संग्रहले मान्छेलाई मुक्ति होइन बन्धन निगडा प्रदान गर्दछ ।
शब्दयात्रा प्रकाशनले गरेको जस्तै र हरि मन्जुश्रीले जस्तै चिरस्थायी काम गर्ने अभिप्रेरणा यो देशका केही गर्छौं भन्ने युवकमा जागिदेओस् । केही गर्न आउने गफ गर्ने तर महको ढुंग्रामा डुब्न हतारिने रविका छविमा कोही नआऊन् । किनभने ‘मनस्वीकार्याथी नगणयति दुःखं न च सुखम्’ । यो ईशापूर्व पाँचौं शताब्दीका भारतीय भूमि भोजपुरका राजा भर्तृहरिको अनुभवपक्व वाक्य हो । पौरस्त्य जगत्का पहिला वाक्य वैयाकरण पनि हुन् यिनी । पाणिनिले पद व्याकरण लेखेपछि यिनले वाक्य व्याकरण लेखेर पाल्पा जाने बाटामा पर्ने सिद्धबाबाका स्थानभन्दा माथिको पर्वतमा तपस्यानिरत रहेका बेला नै यी शब्दब्रहृमा ब्रहृमभूय बनेका थिए ।
रोदनमय त्याग र त्रासमय संग्रहले मान्छेलाई मुक्ति होइन बन्धन निगडा प्रदान गर्दछ ।
” रोदनमय त्याग र त्रासमय संग्रहले मान्छेलाई मुक्ति होइन बन्धन निगडा प्रदान गर्दछ ।”
मनलाई प्रभावित गर्ने शब्द संग्रह ।जय होस्!