राष्ट्रपति निर्वाचन आज

गठबन्धनलाई सुविधाजनक मतभार, भोट क्रस हुनेमा एमाले ढुक्क

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न आज (बिहीबार) मतदान हुँदै छ । मुलुकले आज नयाँ राष्ट्रपति पाउनेछ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । संघीय संसद् र प्रदेशसभा सदस्यका लागि मतदान कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृत सहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको पौडेलले जानकारी दिनुभयो । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभा सदस्य ५५० मतदाता छन् । राष्ट्रपति पदको निर्वाचनमा आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई उम्मेदवार बनाएका हुन् । एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । एमालेले १० पुसमा भएको सहमतिनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षा गर्दै आएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० सांसद गरी ८८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । यस आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १४९ र प्रदेश सांसदको मतभार २६ हजार चार सय गरी कुल मतभार ५२ हजार ५४९ छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २७५ मतभार ल्याउनुपर्छ । उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया फागुन २७ मा सुरु हुने आयोगले जनाएको छ । निर्वाचन भने चैत ३ मा हुनेछ ।

संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र
राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलग/अलग मतदान केन्द्र तयार गरिएको छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ । निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिस्ट्रार लोकनाथ पराजुलीलाई खटाइएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात÷सात जनाको कर्मचारीको टोली खटिनेछ । समग्र निर्वाचनका लागि राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलका तर्फबाट रमेश लेखक र सुवास नेम्वाङका तर्फबाट महेश बर्ताैला प्रतिनिधिका रूपमा रहनुभएको छ ।

मतदान सकिएको चार घण्टाभित्र नतिजा सार्वजनिक
मतदान सकिएको चार घण्टाभित्र नतिजा सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ । आजै बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘तीन बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुन्छ । सात बजेभित्र नतिजा आइसक्छ ।’

बुथमा मतदाताले मोबाइल लैजान नपाउने
राजनीतिक दलहरूले क्रम भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोनलगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भन्नुभयो, ‘सुरक्षाकर्मीले आवश्यक सुरक्षा जाँच गर्छन्, यो गोप्य मतदान हो, बुथमा जाँदा मोबाइललगायत कानुनले निषेध गरेका कुनै पनि उपकरण लैजान मिल्दैन ।’

सांसदहरू पार्टीको निगरानीमा
राष्ट्रपति निर्वाचनका लागि भोट हाल्न प्रदेशका ५५० सांसद काठमाडौं आइसकेका छन् । नेपाली कांग्रेस सहितका आठ दलीय गठबन्धन तथा नेकपा एमाले, राप्रपालगायत दलका प्रदेश सांसदहरू बुधबार नै काठमाडौं आइसकेका हुन् । आठ दलीय गठबन्धनले आफ्ना सांसदलाई बुधबार बिहान १० बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिएको थियो । गठबन्धनले आफ्ना सांसदहरूलाई सामूहिक प्रशिक्षण दिने तयारी गरे पनि निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको थियो । मंगलबार बसेको गठबन्धनको बैठकले पार्टीले आफ्ना सांसदलाई मत हाल्ने तरिका सिकाउने निर्णय गरेको थियो । काठमाडौं आएका प्रदेश सांसदहरूले पार्टी कार्यालयमा गएर हाजिर गरेका छन् । सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने या अनुपस्थित रहने आशंकामा आठ दलीय गठबन्धनले सांसदहरूलाई पार्टीको सम्पर्कमा रहनुपर्ने निर्णय गरेको छ ।

मतपत्रमा उम्मेदवारको फोटो
राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यसपटक उम्मेदवारको नाम र फोटोसहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनुभयो । संघीय र प्रदेश सांसदका लागि फरक रङको ९९० मतपत्र छापिएका छन् । राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर छ । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर छ । मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार नेम्वाङको फोटो छ । मत बदर कम गर्न यसपालि फोटोसमेत राखिएको हो । आयोगले राष्ट्रपति निर्वाचनका लागि तोकेको मौन अवधि सोमबार राति नै सुरु भइसकेको छ ।

चार दल अनिर्णीत
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् र प्रदेश संसद्मा आबद्ध अधिकांश राजनीतिक दलले पक्षधरता देखाए पनि केही राजनीतिक दलले कसलाई मत दिने ? अझै खुलेका छैनन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्मा रहेका दुईवटा दल र प्रदेश संसद्मा रहेका दुई दल गरी चार राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै कसलाई मत दिने भन्ने खुलाएका छैनन् । यसरी खुल्न नसकेका संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल मजदुुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी छन् ।

राप्रपाले निर्वाचनमा भोट नहाल्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो । राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीले बताउनुभयो । ‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो । आफूहरूको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको उहाँको भनाइ थियो । राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो ।

राप्रपाले हिन्दूराज्यसहित राजसंस्था फर्काउने एजेण्डा बोकेको छ । मंसिर ४ को संसदीय निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकारमा गएको राप्रपा एमाले-माओवादी गठबन्धन भत्किएसँगै सरकारबाट बाहिरिएको थियो । निर्वाचन आयोगले मौनअवधि सुरु भइसकेपछि सार्वजनिक रूपले पक्षधरता खुलाउन नमिल्ने पनि बताइसकेको छ ।

यी हुन् मतदानमा सहभागी हुन नपाउने सांसद
संघीय संसद्का केही सांसदहरू भने राष्ट्रपति निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् । संघीय संसद्का ३३४ मतदातामध्ये मनाङका कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा हुनुहुन्छ । विशेष अदालतमा भ्रष्टचार मुद्दा चलिरहेका कारण गुरुङ सांसदको हैसियतमा भूमिका निर्वाह गर्न पाउनुभएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पद गएको थियो । लामिछानेको सांसद पद खारेजसँगै चितवन क्षेत्र नम्बर २ रिक्त हुन पुगेको थियो । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार छन् । कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराइरहनु भएको छ । केही समयअघि आगलागीमा परेर उहाँको शरीरको भाग जलेको थियो । उहाँको हाल भारतको मुम्बईस्थित नेसनल बर्नस सेन्टरमा उपचार भइरहेको छ ।

यस्तो छ अंकगणित
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रदेशसभाका ५५० सदस्य र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता छन् । अंकगणितका आधारमा राष्ट्रपतिमा आठ दलीय गठबन्धनसँग सुविधाजनक मतभार देखिएको छ । गठबन्धन पक्षधर उम्मेदवारका पक्षमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा गरी ३१ हजार ९७८ मतभार छ । एमालेका पक्षमा भने प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभामा गरी कुल १६ हजार २२१ मतभार देखिन्छ । कांग्रेससँग प्रतिनिधिसभामा ६ हजार ९५२ मतभार छ । राष्ट्रियसभामा ८६९ मतभार छ । कांग्रेससँग कोशी प्रदेशमा एक हजार ३९२, मधेस प्रदेशमा एक हजार ५६, बागमतीमा एक हजार ७७६, गण्डकीमा एक हजार २९६, लुम्बिनीमा एक हजार २९६, कर्णालीमा ६७२, सुदूरपश्चिममा ९१२ गरी जम्मा १६ हजार २२१ मतभार छ ।

एमालेसँग प्रतिनिधिसभामा ६ हजार १६२, राष्ट्रियसभामा एक हजार ३४३, कोशी प्रदेशमा एक हजार ९२०, मधेशमा एक हजार १०४, बागमतीमा एक हजार २९६, गण्डकीमा एक हजार ५६, लुम्बिनीमा एक हजार ३९२, कर्णालीमा ४८०, सुदूरपश्चिममा ४८० गरी जम्मा १५ हजार २३३ मतभार छ ।

माओवादी केन्द्रसँग प्रतिनिधिसभामा दुई हजार ५२८, राष्ट्रियसभामा एक हजार २६४, कोशीमा ६२४, मधेशमा ३४८, बागमतीमा एक हजार आठ, गण्डकीमा ३६६, लुम्बिनीमा ४३२, कर्णालीमा ६२४ र सुदूरपश्चिममा ५२८ गरी कुल सात हजार ७५८ मतभार छ । नेकपा एकीकृत समाजवादीसँग संघ र प्रदेशमा गरी दुई हजार ६२२ मतभार छ । यस्तै, जसपासँग दुई हजार १४५, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, जनमतसँग एक हजार २४२ र राष्ट्रिय जनमोर्चासँग २०६ मतभार छ । राप्रपासँग संघ र प्रदेशमा गरी दुई हजार ४५० मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एक हजार ५०१, नेमकिपासँग २२३, नेपाल संघीय समाजवादीसँग ४८ (मधेश प्रदेशसभामा), हाम्रो नेपाली पार्टीसँग ९६ (बागमतीमा) मतभार छ । यसैगरी, संघ र प्रदेशमा गरेर स्वतन्त्र सांसदको मतभार एक हजार ५० छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?