तिलोत्तमा फुटबल चैत ४ गतेदेखि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्डकप’ को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल-११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।
विभागीय तथा ‘ए’ डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमबीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्डकपमा हालसम्मकै सर्वाधिक ११ लाख ११ हजार १११ सहित कप, मेडल र प्रमाणपत्र र उपविजेताले पाँच लाख ५५ हजार ५५५ नगद राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो ।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद राशि प्राप्त गर्नेछ भने उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार राशि प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्याद अफ दी म्याचले ११ हजार १११ नगद पाउनेछन् ।

प्रतियोगिताको यस संस्करणमा करेन्ट रूपन्देही-११ सहित मनाङ मस्र्याङ्दी क्लब काठमाडौं, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेण्ड्स क्लब र सुदूरपश्चिम-११ गरी आठ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिनुभयो । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता संस्करण विसं २०७५ मा सम्पन्न भएको थियो ।

यस क्षेत्रकै पुरानो प्रतियोगिताका रूपमा रहेको तिलोत्तमा गोल्डकप तत्कालीन बुटवल नगर पञ्चायतले विसं २०३१ मा स्थापना गरी विसं २०३३ देखि प्रतियोगिता सुरु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?