वर्तमान संविधान चल्ने र ढल्ने नभएर छल्ने दस्तावेज मात्र : पूर्वसभामुख ढुंगाना

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले वर्तमान संविधान जनता छल्ने दस्तावेज भएको विचार प्रकट गर्नुभएको छ । पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापित प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक सन्दर्भमा कृष्णप्रसाद भट्टराई’ विषयक विचार गोष्ठीमा उहाँले वर्तमान संविधान चल्ने वा ढल्ने दुवै नभएर जनता छल्ने दस्तावेज भएको धारणा व्यक्त गर्नुभएको हो । उहाँले संविधान अतिवादीहरूको मुद्दामा केन्द्रित भएको हुनाले यसले विभाजनको रेखा कोरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान सिंगो राष्ट्रको हुनुपर्नेमा केही दलका केही नेताको मात्रै भएको हुनाले वर्तमान परिवर्तन सबैभन्दा खराब हुन पुगेको छ । यो संविधान राष्ट्रको हुन सकेन ।’

ढुंगानाले वर्तमान संविधान कसको हित र स्वार्थमा बन्यो ? भन्दै प्रश्नसमेत उठाउनुभएको छ । उहाँले वर्तमान संविधानप्रति गम्भीर हुन दलहरूलाई सुझावसमेत दिनुभयो । उहाँले भन्नुभयो, ‘अब यसलाई सुधार गर्न पुरानो अवस्थातिर फर्केर होइन अहिलेकै विन्दुबाट आरम्भ हुनुपर्छ । पछाडि फर्कनु सम्भव हुँदैन ।’

कार्यक्रमको मुख्य वक्ताका रूपमा रहनुभएका ढुंगानाले भट्टराईको राजनीतिक योगदान र भूमिका तथा उहाँका जीवनका फरक पक्षहरूको चर्चासमेत गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘मानवीय मूल्यका लागि किसुनजी निरन्तर लाग्नुभयो, कठोर कारावास भोग्नुभयो, कठिन परिस्थितिमा पनि चित्त स्थिर राख्न सक्नुभयो, राजनीतिमा अध्यात्म छ भन्ने पुष्टि गर्नुभयो, जिम्मेवारीमा पुगेर पनि निष्कलंक नेतृत्व दिनुभयो, र ०४७ को कठिन अवस्थामा निर्धारित समयमा संविधान जारी गर्ने, निर्वाचन गराउने, शान्ति सुरक्षा कायम गर्ने र भारतसँगका सम्बन्धहरूलाई व्यवस्थित गर्ने काम गर्नुभयो ।’ त्यो क्षमता किसुनजीमा रहेको उहाँको भनाइ थियो ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले किसुनजीको कूटनीतिक क्षमता र प्रभावमाथि विशुद्ध चर्चा गर्नुभएको थियो । पूर्वप्रधानसेनापति गौरव शमशेर राणा र सुरक्षा तथा भूराजनीति विशेषज्ञ डा. इन्द्र अधिकारीले किसुनजी जस्तो योग्य नेतृत्व वर्तमान समयमासमेत आवश्यकता रहेको विचार प्रकट गर्नुभएको थियो । योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेलले वर्तमानमा राष्ट्रको अर्थतन्त्रप्रति गम्भीर हुनुपर्ने अवस्था भएको तर्फ तथ्य र तथ्यांकसहित विचार प्रस्तुत गर्नुभएको थियो ।

पूर्वमन्त्री एवं प्रतिष्ठानका अध्यक्ष दीपकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वमन्त्री नीलाम्मर आचार्य, अर्थशास्त्री डा. गोविन्दराज पोख्रेल, प्राडा. वीरेन्द्र मिश्र, लोसपा नेता मनीष सुमन, वरिष्ठ अधिवक्ता डा. सूर्य ढुंगेल, संस्थाका सचिव विनोदकुमार भट्टराई, इ. दिनेश कोइराला, वरिष्ठ अधिवक्ता श्याम ढुंगेल, हिटाका प्रधानसम्पादक प्रा. पुरुषोत्तम दाहाल, महिला नेता रेणुका भट्टराई, युवा पत्रकार जगत नेपाल, इ.नरेश कोइराला, किसुनजी प्रतिष्ठान जोरपाटीका सचिव राजु सुनार सहितले वर्तमान राजनीति र किसुनजीका बारेमा विभिन्न अनुभव र अध्ययनका आधारमा विचार प्रकट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?