समाजसेवी कुँवरद्वारा स्कुल-कलेजमा अक्षय कोष स्थापना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । समाजसेवी ताराबहादुर कुँवर विद्यालय र कलेजहरूमा अक्षय कोष राखेर समाजसेवी कामहरूलाई निरन्तरता दिइरहनु भएको छ । हिजोआज आफ्नो जन्मथलो काभ्रेका विभिन्न विद्यालयमा गएर अषक्ष कोषको स्थापना गरिरहनु भएको छ । पाँच रुपैयाँ फि तिर्न नसकेर आफ्नो औपचारिक अध्ययनलाई सात कक्षामै सीमित गरेका कुँवरको अनौपचारिक अध्ययनको कुनै सीमै छैन भने पनि हुन्छ ।

आफूले विद्यालय पोशाक लगाउन नपाए पनि दुई दर्जन विद्यालयलाई जाडोको स्वेटर वितरण गरेर काठमाडौं फर्किनुभयो । उहाँ पछिल्लो समय राजनीतिमा पनि लाग्नुभयो । उहाँ आफ्नै जन्मथलो भुम्लुबाट लौरो चुनाव चिहृन लिएर उठ्नुभएको थियो पराजित हुनुभयो । गणितीय हिसाबबाट पराजित भए पनि आफ्नो कर्तव्य उहाँले कहिल्यै छाड्नु भएन ।

‘चुनावी मतबाट पराजित भए पनि मनबाट पराजित भइनँ । उहाँहरूको मतलाई धन्यवाद दिन निर्वाचनलगत्तै आफ्नो चुनावी क्षेत्र गएँ । सकेको सातोतिनो सहयोग गरेँ’, उहाँ भन्नुहुन्छ । कुँवरलाई मत दिन नपाएको पछुतो लागेको भुम्लु सिम्थलीका स्थानीयहरू पश्चातापमा परेको बताउँछन् । जसरी पनि जनतासँग नजिकमा रहेर समाजसेवा गर्ने आफ्नो चाहना रहेको कुँवर बताउनुहुन्छ ।

जन्मदिनको अवसर पारेर ठूलो काम केही गर्न नसके पनि भुम्लुका विद्यार्र्थी भाइबहिनीहरूका लागि एक लाख रुपैयाँको अक्षयकोष व्यवस्था गरेको उहाँले जानकारी दिनु भयो । उहाँले प्रकाश क्याम्पस भुम्लु-८ लाई पहिलो चरणमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभयो छ भने बाँकी पाँचवटाका लागि पनि एक/एक लाख रुपैयाँको कोष राख्ने वचनबद्धता उद्घोष गर्नु भएको छ ।

सोही वचनअन्तर्गत शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्वमंगला बहुमुखी क्याम्पस पाँचखाललाई दुई लाखको चेक हस्तान्तरण गर्नु भएको छ । एक लाख क्याम्पसका लागि जग्गा किन्न र एक लाख रुपैयाँ अक्षयकोष स्थापनाका लागि प्रदान गर्नुभएको हो । आफ्नो निर्वाचन क्षेत्रमा आयोजना हुने सानातिना कार्यक्रम तथा धार्मिक अनुष्ठानहरूमा दिल खोलेर सहयोग गरेको उहाँको भनाइ छ ।

चक्रपथ सफाइका अभियान्ता कुँवर जसरी पनि समाजसेवामा लागिरहने बताउनुहुन्छ । कोरोना महामारीका बेलामा उहाँले विभिन्न ठाउँमा राहत बाँड्नु भएको थियो । कुँवर जीवनपर्यन्त आफू समाजसेवामा लागिरहने बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?