निवर्तमान राष्ट्रपति भण्डारीको उतार-चढावपूर्ण कार्यकाल, यस्ता छन् केही प्रशंसनीय कार्य

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गर्नुभएको हो । निवर्तमान राष्ट्रपति भण्डारीलाई नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गर्नुभएको थियो ।

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो । राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कात्तिकमा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल करिब २२ महिनाको रहेको थियो । उहाँ दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित हुनुभएको थियो । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते भएको थियो‚ जसबाट रामचन्द्र पौडेल निर्वाचित हुनुभएको थियो ।

नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिको रूपमा विद्या भण्डारीको कार्यकाल उतार-चढावपूर्ण नै रहृयो । कार्यकालको उत्तरार्धतिर भण्डारी विवादमा पर्नुभयो । राष्ट्रपतिको रूपमा विद्या भण्डारीको कार्यकाललाई हेर्ने सन्दर्भमा थरीथरीका विश्लेषण भइरहेका छन् । राष्ट्रप्रमुख जस्तो गरिमामय संस्थामा बसेर तटस्थ र अभिभावकीय भूमिका निभाउन चुकेको भनेर उहाँको आलोचना हुने गरेको छ भने कतिपयले चाहिँ राष्ट्रहित र राष्ट्रियताका पक्षमा ऐतिहासिक कदम चालेको भन्दै प्रशंसा पनि गरिरहेकै छन् । उहाँको कार्यकाल कति सफल कति विफल भन्ने कुराको समीक्षा त इतिहासले गर्ने नै छ । तथापि, केही आलोचना र केही प्रशंसाले उहाँको कार्यकाल नेपाली इतिहासमा स्मरण भइरहने छ ।

नागरिकता विधेयक फिर्ता
प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपति भण्डारी कार्यकालको अन्त्यतिर चर्चामा आउनुभयो । राष्ट्रपतिको यो कदमलाई अधिकांशले राष्ट्रियताको पक्षमा लिएको अडान भन्दै प्रशंसा गरेका छन् । प्रतिनिधिसभाले पारित गरेको विधेयकलाई नौ वटा सन्देशसहित २०७९ साउन २९ गते भण्डारीले फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिको कदमप्रति असहमति जनाउँदै तत्कालीन सत्ता गठबन्धनले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने निर्णय गर्‍यो । प्रतिनिधिसभामा प्रक्रिया पूरा गरेर विधेयकलाई हतार-हतार पारित गरियो । यतिसम्म कि एउटै बैठकमा ८३ जना सांसदले बोलेर हतारमा पारित गरेर प्रमाणीकरणका लागि पठाइएको थियो । पुनर्विचार गरेर पठाइएको विधेयक राष्ट्रपतिले दोस्रोपटक फिर्ता गर्ने संविधानमा व्यवस्था या परिकल्पना छैन । तर, पनि भण्डारीले त्यो विधेयक प्रमाणीकरण गर्नभएन । यतिसम्म कि विधेयक प्रमाणित गर्नुभन्दा राजीनामा गर्ने मनस्थिति बनाएको अनौपचारिक धारणा सार्वजनिकसमेत गर्नुभयो । दोस्रोपटक पठाइएको विधेयक प्रमाणीकरण गर्नुपर्ने १५ दिनको समय सीमा नसकिँदै प्रतिनिधिसभाको कार्यकाल सकियो र विधेयक निष्क्रिय भयो ।

सयौँ गर्भवती महिलाको उद्धार
भण्डारी राष्ट्रपति बनेपछि उहाँको अवधारणामा सुरु भएको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत सयौँ गर्भवती महिलाको उद्धार भयो । रामवरण यादवको पालामा ‘राष्ट्रपति चुरे संरक्षण’ कार्यक्रम सुरु भएको थियो । दुवै कार्यक्रम सरकारले गर्ने भए पनि राष्ट्रपतिले चासो दिएर सुरु गरिएका कार्यक्रम हुन् । राष्ट्रपति निर्वाचित भइसकेपछि विद्यादेवी भण्डारीले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई शीतलनिवास बोलाएर सुत्केरी व्यथाबाट अकाल मृत्युवरण गर्ने आमा र शिशुको जीवनरक्षाका लागि विशेष प्याकेजको प्रस्ताव गर्नुभयो । विशेषगरी दुर्गम ग्रामीण क्षेत्रका महिलाको हवाई उद्धारका लागि नारी उत्थान कार्यक्रममार्फत विशेष कार्यक्रम घोषणा गर्न लगाइयो । राष्ट्रपति नारी उत्थान कार्यक्रम लागू भएपछि ग्रामीण क्षेत्रमा हजारौँ महिलाको जीवनरक्षा भएको छ ।

कोभिडविरुद्धको खोपका लागि पहल
राष्ट्रपतिको रूपमा अभिभावकीय भूमिका विद्यादेवी भण्डारीबाट कोभिड महामारीको बेला राष्ट्र प्रमुखको भूमिका निर्वाह भएको थियो । विश्व आक्रान्त भएका बेला भण्डारीले राष्ट्र प्रमुखको हैसियतमा विश्वका शीर्षस्थ नेताहरूसँग टेलिफोन संवाद गरेर नेपाललाई सहयोगको आहृवान गर्नुभएको थियो । राजा वीरेन्द्रपछिको चीनको उच्चस्तरीय भ्रमण विद्या भण्डारीकै कारण सम्भव भएको थियो । सी जिनपिङले नेपालको भरोसा गर्ने नेताको भूमिका रहेकी विद्या भण्डारीले व्यक्तिगत तवरमै टेलिफोन र इमेल संवादपछि नेपाललाई चीनबाट निःशुल्क खोप दिलाएको अभिभावकीय भूमिकालाई बिर्सन सकिन्न । राष्ट्रपतिले सोही समयमा रुस र भारतका राष्ट्रपतिसँग संवाद गर्नुभएको थियो ।
कला संस्कृति संरक्षणमा उल्लेखनीय भूमिका

निवर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रियताको पक्षमा अडान र नेपाली कला संस्कृति संरक्षणमा प्रशंसनीय भूमिका खेल्नुभयो । धार्मिक मठ मन्दिर र चैत्यहरूको भ्रमण, शक्तिपीठहरूको दर्शन र विशेषगरी हिन्दू तथा बौद्ध धार्मिक प्रतिष्ठानहरूको संरक्षणमा राष्ट्रपतिको रूपमा विद्या भण्डारीको अविस्मरणीय योगदान छ ।

यसका साथै हाम्रा सम्पदाहरूको संरक्षण तथा पुनर्निर्माणमा पनि सरकार तथा सरोकारवालालाई बोलाएरै राष्ट्रपतिले निर्देशन दिनुभएको थियो । संविधानले नै सनातन धर्मको संरक्षण गर्ने धर्म निरपेक्षताको व्याख्या गरेकाले राष्ट्रपतिबाट सो भूमिका सफलतापूर्वक पूरा गर्नुभयो ।

विश्वमञ्चमा उच्च छवि
राष्ट्र प्रमुखको रूपमा भण्डारीले राष्ट्रपति पदको ओज र गरिमालाई जोगाइराख्नु भयो । भारत, चीनलगायत छिमेकी र मित्रराष्ट्रको भ्रमणमा नेपालको शिर उचो पार्ने प्रयास गर्नुभयो । छोरीलाई पैतृक सम्पत्तिमा समान हकको कानुन बनाउनेदेखि महिलाको ३३ प्रतिशत हक कानुनमा व्यवस्था गराउने अभियानको नेतृत्व गर्नुभएकी विद्या भण्डारी राष्ट्रपति बन्दा विश्वभर चर्चा पाएको थियो । भण्डारीले राष्ट्रसंघलगायत विभिन्न साझा अन्तर्राष्ट्रिय मञ्चमा उभिएर गरेका सम्बोधन र लबिइङले नेपालको त्यहाँ गर्विलो उपस्थिति बनेकै हो ।

एन्जेला मर्केलहरूकै हाराहारीको विश्वकै शक्तिशाली महिला नेताको सूचीमा नेपालको राष्ट्रपति विद्या भण्डारी पर्नु नेपालको लागि गौरवको कुरा हो । यसका साथै जलवायु परिवर्तनविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोगको आहृवान र देशभित्रै पनि सरकारलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?