लेख गाउँ अनि गुँदाला भोजोला ताल, पर्यटनको आकर्षण बन्दै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 6 mins

पाँचथर, मिक्लाजुङ । पहाडको टुप्पोमा बेगले हुइकिरहेको कुहिरो,तल शिर झुकाए हेर्दा तराईको समथर भुभाग अनि शिर उठाएर हेर्दा टलक्क टल्कने हिमाल अनि छैवमै निलो आकाश सहित आफ्नै दृश्य छायाँमा देखिने ताल आहा ! यो ताल निकै आकर्षक छ । अनि आफ्नो सुन्दरता देखाउन पर्यटक पर्खिएर बसेको भान गराउँछ । तालकोे मनमोहक दृश्यले त्यहाँ पुग्ने जोसुकैलाई एकै छिन भएपनि भुलाउछ र सधै यहि वरीपरी बसी रहुँ झैँ लाग्नु कुनै अनोठो हुँदैन । मिलेको समथर भुभाग र यहाँको प्राकृतिक एवं जैविक विविधता नै यस तालको प्रमुख आकर्षण हो ।

पाँचथर र इलाम जिल्ला भएर पहाडको डाँडैडाँडा छिचोलेको रबि, राँके सडक खण्डमा पर्ने मिक्लाजुङ ७ लेख गाँउमा रहेको यो गुँदाला भोजोला ताल सुन्दर छ । सडककै छेउमा रहेको गुँदाला भोजोला ताल देखेपछि फोटो खिच्ने रहरले सबैलाई आकर्षित गर्ने गर्दछ । कुहिराेले ताललाई छोप्दा होस् या नजिकैको बस्ती समेतले मन नै लोभ्याउँछ । छिनमै लागेको कुहिरोलाई हावाले उडाएर लग्ने यहाँको विशेषता नै हो । लेखगाँउमा कुहिरोसँगको लुकामारी दिनभर चलिरहने गर्दछ ।

रबि÷राँके सडक खण्डककोमा पर्ने यो ताल मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारबाट चिसोपनी पञ्चमी बजार, कन्याटार बजार हुँदै लेख गाउँमा पुग्न सकिन्छ । भेडेटारबाट नजिक पर्ने यहाँ अहिले धरान, धनकुटाबाट तालको अवलोकनमा पर्यटक आउने गरेका छन् । तराईमा गर्मी बढ्दा यो तालमा आउने पर्यटकको संख्या बढ्ने गरेको लेख गाँउका स्थानियको भनाई छ । यहाँबाट सूर्योदय र सूर्यास्तको अनुपम दृष्य समेत देख्न सकिन्छ । यहि डाँडाको नाममाबाट गाँउपालिकाको नामाकरण समेत भएको छ । मिक्लाजुङको काखमा लेखगाँउ छ । मिक्लाजुङ दृष्यावलोकन र धार्मिक विश्वासले चर्चित रहेको छ । यहाँ पर्यटन प्रवद्र्धन गर्नका लागि भन्दै यो पोखरी बनाईएको हो ।

लेखगाउँ बस्तीमै रहेको यो पोखरीले यहाँको आर्कषणमात्र थपेको छैन मन भुल्याउने थलोको रुपमा स्थापित बन्दै गरेको छ । गुँदाला भोजोला ताल चर्चामा आउनु अगाडी लेख गाउँलाई कसैले नचिन्ने तर ताल बनेपछि तालकै कारण पर्यटकहरु आउन थालेको स्थानिय दिलेन्द्र राईले बताउनुभयो । निकै गहिराइ र करिब ३०० मिटरमा फैलिएको तालको वरपर हरियाली रहेको छ । यो तालमा ढुङ्गा सयर (बोटिङ) गर्दै रमाउन सकिन्छ । तालमा रमाइ सकेपछि लेख गाँउमा अर्गानिक खानेकुराहरु खाँदै रमाउन पाइने यसको अर्को विशेषत रहेको छ । केही वर्ष अघिसम्म यो ताल बोझो घारी मात्र रहेको थियो तर अहिले यसको स्वरुप बदलिएको छ । मेची पहाडी पर्यटनको कार्यक्रमको सहयोगमा र स्थानियहरुको अग्रसरतामा यो ताल पर्यटकीय तालको रुपमा स्थापित भएको हो ।

तालको छेबैमा रहेको गाँउलाई साना साना थुम्कीला डाँडाहरुले घेरेकोले लेखगाँउले यो तालको थप शोभा थपेको हो । डाँडाहरुले घेरिएर बस्तीहरु रहेका छन् । एकदमै ग्रामीण बस्ती तर, अभ्यास आधुनिकताको । बस्ती निक्कै आकर्षक छ । यहाँ परम्परागत खेती प्रणाली छ । घरहरु काठले आर्कषक गरी सजाइएका छन् । साना साना थुम्कीला पहाड र छेउमै फाटिलो क्षेत्रमा बसेको बस्ती साँच्चै आकर्षक । पहाडका बस्तीमा घर टाढा टाढा हुन्छन् । लेखगाउँमा  घरहरु पनि निक्कै पातला छन् । तर यहाँ बाक्लो बनक्षेत्र, खोल्सी, पोखरीहरुले घुमिरहुँ पार्ने बातावरण रहेको छ । मेची राजमार्गको राँके हुँदै यहाँ पुग्न सकिन्छ । धरानबाट भेडेटार, छ नम्बर बुधवारे हुँदै पनि सडकबाट पनि यहाँ पुग्न सकिन्छ । मोरङको लेटाङबाट यता तिर आउने सडक पनि जोडिन्छ । यस क्षेत्रलाई हनिमुन स्पोर्ट बनाउन सकिने सम्भावना समेत रहेकों छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?