सत्तामा पुग्ने समय सधैँ झगडा, चेत फर्केको छैन कांग्रेस नेताहरूको

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 12 mins

काठमाडौं । दोस्रोपटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । संविधानअनुसारको यो विस्तारबाट पनि सरकार गठनका लागि निर्धारित कोटा पच्चीस स्थान पूर्ण हुन सकेन । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नवोदित दल जनमत पार्टीका कारण पच्चीस स्थान भर्न प्रधानमन्त्रीले सक्नुभएन । जनमत पार्टीको माग थियो उद्योग मन्त्रालयको । सायद अंशबण्डामा त्यो माग पूरा नहुने भएको हुनाले अहिले भइरहेको खानेपानी मन्त्रालयसमेत परित्याग गर्ने घोषणा जनमत पार्टीसम्बद्ध वहालवाला मन्त्रीले गर्नुुभएको समाचार छ । प्रधानमन्त्रीका पक्षमा मतदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्न सकेको छैन भने आंशिकरूपमा मात्रै जसपाले सहभागिता जनाएको छ । तर, मुख्य समस्या नेपाली कांग्रेसमा नै देखिएको हुनाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन ।

(क) कांग्रेसमा किचलो :
विपक्षमा रहँदा असन्तुष्टि भए पनि पार्टीले गर्नैपर्ने आन्दोलन र परिवर्तनका लागि हुने हरेक कार्यहरूमा कांग्रेस एक देखिएको हुन्छ । यसको इतिहास हेर्ने हो भने संकटका समय, आन्दोलन र संघर्षका समयमा कांग्रेसको नेतृत्वदायी चुरो सदा एक हुने गरेको छ । ००७ सालको जनक्रान्तिको सफलतालगत्तै कांग्रेसमा त्यही सफलताले विभाजनको ढोका खुला गरेको इतिहास बनायो । परिवारभित्र उत्पन्न विवादमा राजा, दरबारियाहरू, राणाको अवशिष्ट शक्ति र विदेशी मित्रहरूको स्वार्थको अनावश्यक टोनिक कांग्रेसका नशा-नशामा प्रविष्ट हुन पुग्यो । प्रश्न बिपी कोइराला र मातृकाप्रसाद कोइरालाको मात्रै भएन । त्यसपछि त जय र पराजयका अनेक क्षणमा विवादको शृंखला घट्नुको साटो बढ्न लागेको देखिन्छ । सशस्त्र आन्दोलनमा शान्तिपूर्ण र अहिंसात्मक सिद्धान्तका पक्षधर एकापट्टि रहे र अर्कापट्टि विदेशीभूमिमा आश्रय लिएका हतियार पक्षधरहरू । तर, हतियारको राजनीतिले कांग्रेसलाई गम्भीर क्षति पुर्‍याएको हुनाले ०३३ बाट नेपाली कांग्रेसका मूर्धन्य नेता, नेपालका सन्दर्भमा प्रजातन्त्र र समाजवाद अनि राष्ट्रियताबारेको सिद्धान्तका प्रथम भाष्यकार बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिनुभएपछि कांग्रेसमा बलियो एकता स्थापित भयो । यदाकदा खास अवस्थामा केही सैद्धान्तिक विवादहरू हुने गरेका हुन् । तर, ०४६ को जनआन्दोलनले निर्दलीय सत्ताको अन्त्य गरेपछि कांग्रेसमा सत्ताकलह सतहमा निरन्तर देखिने गरेको छ ।

(ख) कांग्रेसमा कलहको मूल कारण :
एकथरी कांग्रेसमा सत्ताको भोक अगस्ती ऋषिको पेटजस्तो छ । सिंगै समुद्रपान गर्दा पनि तीर्खा नमेटिने र सम्पूर्ण पृथ्वीको उत्पादन मुखमा कोच्दा पनि नभरिने अगस्तीको कथा नेपाली कांग्रेस नेतृत्वको चरित्रजस्तै भएको छ । ०४७ को अन्तरिम सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तत्काल शान्ति सुव्यवस्था कायम गर्ने, बहुदलमा आधारित संविधान जारी गर्न नेतृत्वदायी भूमिकाका साथ सहजीकरण गर्ने, भारतसँग बिग्रेको सम्बन्धलाई पुनः सहज बनाउने र आमनिर्वाचन गरी संसदीय प्रजातन्त्रको संयन्त्र स्थापित गर्ने जिम्मेवारी पूरा गर्नुभयो । उहाँले त्यसरी जिम्मेवारी पूरा गरेको प्रतिईष्र्या गर्नेहरूबाट पुनः कांग्रेसमा अन्तरविरोध आरम्भ भयो । एकातिर प्रधानमन्त्री पदलाई खास महत्व नदिने जनआन्दोलन २०४६ का कमाण्डर गणेशमान सिंहको उदाहरण सर्वप्रिय हुन पुग्यो भने अर्कातिर सिंहको त्यागलाई समेत अवमूल्यन गर्ने र कृष्णप्रसाद भट्टराईको सफलतालाई निरर्थक बनाउन खोज्नेहरूले कांग्रेसको सैद्धान्तिक चुरोमा प्रहार केन्द्रित गरे । यहीँबाट कांग्रेसमा सिद्धान्तविरुद्ध शक्तिको आक्रमण बेजोड रहेको छ । यसका पात्रहरू समय र परिस्थितिअनुरुप परिवर्तन हुने गरेका छन् । त्यस समयमा गिरिजाप्रसाद कोइरालाले शक्तिलाई महत्वपूर्ण ठान्नुभयो भने त्यो प्रवृत्ति अहिले आएर सभापति देउवासम्म हस्तान्तरित भएको अवस्था छ । कोइरालादेखि देउवासम्मको सत्ता यात्राभित्र अनेक पात्रहरू निरन्तर सिद्धान्तभन्दा पनि शक्तिका पक्षमा उभिएका छन् ।

(ग) शक्तिकै लागि सिद्धान्त बहिष्कृत :
नेपाली कांग्रेसमा कोइरालाकै सन्निकटहरूको बाहुल्य विभाजित अवस्थाका दुवै धारमा निर्णायक छ । स्वयं सभापति देउवा निरन्तर आफूलाई गिरिजाप्रसाद कोइरालाको असल शिष्य भएको दाबी गरिरहनुभएको छ भने राष्ट्रपति हुनुभएका पौडेलले आफूलाई कोइरालाको राजनीतिक उत्तराधिकारी बताउने गर्नुभएको थियो । यी दुवैजना अहिले एकै ठाउँमा हुनुहुन्छ र सिद्धान्तविरुद्ध शक्तिको नीतिमा रमाइरहनुभएको छ । अर्कातिर डा. शेखर कोइरालाहरू हुनुहुन्छ । उहाँहरू त जरादेखि नै कोइरालाको उत्तराधिकारी हुनुहुन्छ र शक्ति र राजनीति दुवैतिर उहाँहरूको दावेदारी गिरिजाप्रसाद कोइरालाकै विरासतमा उभिएर भइरहेको छ । अर्थात् नयाँ पुराना, यता वा उता जताका भए पनि नेपाली कांग्रेसको आजको मतभेद सिद्धान्तविरुद्ध शक्ति नभएर शक्तिशालीविरुद्ध शक्तिमाग देखिएको छ । केही नेताहरू वा केही व्यक्तिहरू कांग्रेस नेतृत्वमा अपवादमा छन् । जो तर्कका आधारमा पार्टीको अवस्थालाई मूल्यांकनका साथ विमर्श गरिरहेका भेटिन्छन् । यथार्थमा भन्ने हो भने ती कांग्रेसजनहरू जो विवेकसम्मत सिद्धान्त र व्यवहारका आधारमा नीतिका पक्षमा छन्, तिनीहरूकै कारण कांग्रेस हरेक अवस्थाको सामना गर्दै टिकिरहेको देखिन्छ । यसैकारण अनेक गल्तीका विपरीत कांग्रेसको कमजोर धागोमा उनिएको सत्तासिँढी पटक-पटक बलियो हुने गरेको छ । अहिले पनि कांग्रेसकै कारण सरकार र सत्ताको खाँबो बलियो हुने अवस्था छ । तर, कांग्रेस आफैं सत्ताकलहको समुद्रमा पौडी खेल्न लाग्यो भने यो सरकारमात्रै होइन खुद कांग्रेस आफैं मक्काएको वृद्धवृक्षजस्तो भएर ढल्न सक्छ ।

(घ) सरकारको स्थिरता कांग्रेसको बलमा :
प्रतिनिधिसभाका २७५ स्थानमध्ये ८९ स्थान भएको नेपाली कांग्रेसको एकताबद्ध समर्थनबिना दाहाल नेतृत्वको वर्तमान सरकार टिक्न सक्दैन । यदि सरकारलाई अरू अनेक धामीहरूबाट जोगाउने हो भने कांग्रेसका नेताहरूले सरकारलाई निरपेक्षरूपमा सहयोग र समर्थन गर्नुपर्छ । मन्त्रिपरिषद्मा को नेता जाने वा नजाने, कुन मन्त्रालय चाहिने वा नचाहिने जस्ता खुद्रे विवादमा कांग्रेस अल्झिनुको परिणाम यो सरकारको आयु अनिश्चित हुनेछ । अनिश्चित आयुको सरकार मानिने भएपछि प्रशासनयन्त्र, सुरक्षा संयन्त्र, समाजका अन्य पक्ष कसैको पनि सकारात्मक सहयोग सरकारले पाउने सम्भावना विल्कुलै हुँदैन ।

कांग्रेसले ऐक्यबद्ध भएर पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सहयोग नगर्ने हो भने विगतमा गरिएका गल्ती सच्चिएको प्रमाणित जसरी हुँदैन त्यसरी नै कांग्रेसको कलहको आगो ननिभ्ने गरी बढ्न सक्छ । राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेदवारको समर्थन गर्नकै निम्ति तत्कालीन गठबन्धन तोडेको माओवादी नेतृत्वलाई सुरक्षित र सफल गराउने जिम्मेवारी पनि कांग्रेसकै हो । एमालेसँग स्थापित गठबन्धन माओवादी पक्षले नतोडेको भए नेपाली कांग्रेसको राष्ट्रपति असम्भव हुने थियो । यदि राष्ट्रपतिमा कांग्रेस विजयी नभएको भए र एमाले माओवादी गठबन्धन नटुटेको भए आउने पाँच वर्षसम्म नेपाली कांग्रेसको हैसियत कस्तो हुने थियो अहिले विवेचना गरिरहनुपर्दैन ।
कांग्रेस लोकतान्त्रिक आन्दोलनको मियो हो इतिहासमा । तर, त्यो इतिहासमा निष्पन्न दायित्वको अर्थ केही व्यक्ति मन्त्री हुनु वा नहुनु, कोही राष्ट्रप्रमुख हुनु वा नहुनु, कोही कुनै पदमा पुग्नु वा नपुग्नु भन्ने होइन । कांग्रेसले आफ्नो भागमा परेको आठ स्थानमा समेत यसरी झगडा गर्ने अवस्था आइरहेको छ भने यो पार्टीको सहभागिताको पनि कुनै अर्थ हुँदैन ।

जे भए पनि पुष्पकमल दाहालको सरकारले आंशिक स्वरूप ग्रहण गरेको छ । यस स्वरूपमा समाविष्ट मन्त्रीहरूलाई यसबेला बधाई दिँदै गर्दा उहाँहरूको कार्यकाल विवेकपूर्ण, न्यायपूर्ण, कानुनसम्मत र पीडितहरूका घाउमा मल्हम लगाउन सफल हुन्छ कि हुँदैन भन्ने यथार्थलाई स्मरण गर्नैपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-04-04 5:14 am

एकथरी कांग्रेसमा सत्ताको भोक अगस्ती ऋषिको पेटजस्तो छ । सिंगै समुद्रपान गर्दा पनि तीर्खा नमेटिने र सम्पूर्ण पृथ्वीको उत्पादन मुखमा कोच्दा पनि नभरिने अगस्तीको कथा नेपाली कांग्रेस नेतृत्वको चरित्रजस्तै भएको छ ।

नेपाली राजनीतिको मुख्य समस्या ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?