रास्वपाका ‘तीन भाइ’ को पत्रकार सम्मेलन

उपनिर्वाचनमा ‘क्लिनस्वीप’, अर्को चुनावमा दुई तिहाइ

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रमा ‘क्लिनस्वीप’ गर्ने दाबी गरेको छ । शनिबार तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार तय गर्दै रास्वपाले उपनिर्वाचनमा तीनै सिट जित्ने दाबी गरेको हो । पार्टीले चितवन-२ मा सभापति रवि लामिछाने, तनहुँ-१ मा अर्थविद् डा. स्वर्णित वाग्ले र बारा-२ मा पूर्वएआइजी रमेश खरेललाई टिकट दिएको छ । पत्रकार सम्मेलनमा तीनै उम्मेदवारले सम्बन्धित क्षेत्रमा आफूहरू विजयी हुने दाबी गर्नुभयो । उपनिर्वाचन हुने तीन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गर्ने उहाँहरूको दाबी छ । सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनावपछि ‘तीन भाइ’ (तीनैजना) जितेर घण्टाघरमा विजय उत्सवमा पत्रकार सम्मेलन गर्ने बताउनुभयो ।

वैशाख १० गते प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ-१ मा सत्ता गठबन्धनका तर्फबाट गोविन्द भट्टराई उम्मेदवार हुनुहुन्छ भने एमालेले सवेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन-२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा-२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवार हुने तयारी छ । सत्ता गठबन्धन र एमालेले उम्मेदवार तय गरेका छैनन् ।

स्वर्णिम र रमेश खरेल जनाउ घण्टीमात्र हुन्, हामी दुई तिहाइ ल्याएर सरकार बनाउने छौँ : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले आगामी चुनावमा दुई तिहाइ बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौँ क्षमतावान मानिसहरू जोडिने भन्दै लामिछानेले आउँदो चुनावपछि बहुमतको सरकार बनाउने परिकल्पना आफूले गरेको बताउनुभयो । वाग्ले र खरेलजस्ता विज्ञहरू आफ्नो पार्टीमा आउनु सिंगो देशका लागि उज्यालोको संकेत भएको उहाँले बताउनुभयो । ‘आजको कार्यक्रम हजारौँ क्षमतावान मानिसहरू जोडिन आँटेको जनाउ घण्टीमात्रै हो । सम्पूर्ण होइन । आज हामी तीन भाइ छौँ । तपाईंहरूको आगमनले हुर्कंदै गरेको पुस्तालाई भरोसा दिएको छ,’ उहाँले भन्नुभयो, ‘निराशाको एउटा ठूलो बादल छाएको ठाउँमा आशाको किरण बालिदिनुभएको छ । एउटा ज्योति बालिदिनुभएको छ । म त्यो दिनको परिकल्पना गरिरहेको छु, जतिखेर हामीले दुई तिहाइको सरकार बनाउने छौँ । तपाईंहरूजस्तो विज्ञहरूले मन्त्रालयहरू हाँक्नुहुनेछ ।’

सरकारमा जाने/नजाने निर्णय उपचुनावपछि
रास्वपाले सरकारमा जाने/नजानेबारे उपनिर्वाचनपछि मात्रै निर्णय गर्ने भएको छ । सभापति लामिछानेले सरकारमा जाने वा नजानेबारे उपचुनावपछि मात्रै निर्णय गर्ने बताउनुभयो । उपचुनाव सकिँदासम्म सरकारको न्यूनतम साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने उहाँको भनाइ छ । प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनतम साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेण्डाहरू समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको उहाँले बताउनुभयो । ‘सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ । सरकारले सही बाटो लियो भने त्यसपछि सोच्ने छौँ,’ उहाँले भन्नुभयो, ‘निर्वाचन सकिएपछि समर्थन फिर्ता लिने कि नलिने भन्ने निर्णय गर्ने छौँ । भ्रष्टाचारीलाई समाउँछौँ नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ ।’

राजनीतिक ‘सिण्डिकेट’ र माफियातन्त्र तोड्न नसके कसैको भविष्य सुरक्षित छैन : खरेल
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-२ का लागि उम्मेदवार बन्नुभएका रमेश खरेलले राजनीतिक ‘सिण्डिकेट’ र माफियातन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । भागबण्डा र लुछाचुँडी तोड्न नसके सबैैको भविष्य असुरक्षित हुने उहाँले बताउनुभयो । अहिलेको निराशाबाट पार लगाउने रास्वपामात्रै भएको उहाँको भनाइ छ । ‘लर्को लागेर नेपाली दाजुभाइ विदेशिने र विदेशबाट पनि बाकसमा फर्किने अवस्थाले सबैलाई पीडा दिएको छ । देशको यो निराशाबाट हामीलाई ‘मोटिभेट’ गर्ने रास्वपा हो भन्ने मैले ‘फिल’ गरेको छु,’ उहाँले भन्नुभयो, ‘जबसम्म यो देशमा सुशासन कायम गर्न सक्दैनौँ, कानुनी राज्य स्थापना गर्न सक्दैनौँ । हामी एक ठाउँमा उभिएर सिण्डिकेट र माफियातन्त्रलाई तोड्न सकेनौँ भने कसैको भविष्य सुनिश्चित छैन ।’

जेलनेल र संघर्षको भत्ता खाने होइन, ‘डेलिभरी’ गर्ने हुटहुटीले रास्वपा रोजेँ : वाग्ले
अर्थशास्त्री स्वर्णिम वाग्लेले छोटो समयमा देश बनाउने अभियान थाल्न आफू रास्वपामा जोडिएको बताउनुभएको छ । अब राजनीतिक योगदान र जेलनेल बसेको र संघर्ष गरेका आधारमा भत्ता खाने समय सकिएको भन्दै डेलिभरीका लागि प्याराडाइम सिफ्ट भएको उहाँले बताउनुभयो । ‘अब जेलनेलको भत्ता खाने होइन डेलिभरी दिने समय हो । पर्खेर बस्ने समय छैन र यो हाम्रो अभियान त्यसैको संकेत हो,’ उहाँले भन्नुभयो, ‘नेपाललाई चाँडै बनाउने अर्जेन्सीका कारण अब पर्खेर बस्ने अवस्था रहेन । नेपाल बनाउन ढिलो भइसक्या छ । ‘सेन्स अफ अर्जेन्सी’ले हामी जोडिएका छौँ । समयसीमा नै तोकेर अब डेलिभरीको राजनीतिमा कोल्टे फेराउनुपर्छ ।’ राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारीका रूपमा आफू तनहुँबाट विजयी हुने उहाँको दाबी छ । वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताउनुभयो । पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको उहाँले बताउनुभयो । ‘अन्य परम्परागत र पुराना पार्टीमा टिकट किनबेच हुन्छ । यहाँ कुनै पनि हस्तक्षेप भएन । हामीले ढुक्कले उम्मेदवार बुझ्न सक्यौँ,’ उहाँले भन्नुभयो, ‘अन्य पार्टीमा वडा सदस्यका लागि दुई/चार लाख पैसा दिनुपर्छ । मेयरमा करोड र सांसद र मालदार मन्त्रालयमा मन्त्री बन्न १०औँ करोडको डिल हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?