शीर्ष तीनमा उक्लियो जावलाखेल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष तीनमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोमाथि २-१ को जित हात पार्दै जावलाखेल शीर्ष तीनमा उक्लिएको हो । लिगको छैटौँ चरणअन्तर्गत भएको खेलमा जावलाखेललाई जित दिलाउन फोडे फोफाना र एनकोटो मोसाबीले समान एक गोल गर्नुभयो । सातदोबाटोका दीपकराज सिंह ठकुरीले एक गोल फर्काउनुभयो ।

खेलको ४३ औँ मिनेटमा फोफानाले पेनाल्टीमार्फत् गोल गर्दै जावलाखेललाई अग्रता दिलाउनुभयो । ५० औँ मिनेटमा मोसाबीले गोल गर्दा जावलाखेल २-० ले अघि रहृयो । त्यसपछि खेलको ७५ औँ मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए पनि जावलाखेल २-१ ले विजयी भयो ।

जावलाखेलको यो चौथो जित हो । सातदोबाटोको यो दोस्रो हार हो । यस जितसँगै जावलाखेलले ६ खेलमा १३ अंक जोडेको छ । पराजय बेहोरेको सातदोबाटो ६ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । यस्तै, च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन् ।

खेलको २०औँ मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाउनुभएको थियो । ६२औँ मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २-० ले अघि बढाउनुभयो । त्यसपछि एनआरटीले खेलमा पुनरागमन गर्‍यो । ७१औँ मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २-१ को स्थितिमा ल्याउनुभयो । इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २-२ गोलको बराबरीमा ल्याउनुभयो ।

यस बराबरीसँगै एनआरटीले ६ खेलमा तीन अंक जोडेको छ । एनआरटी १३औँ स्थानमा रहेको छ । चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ । चर्च ब्वाइज तेस्रो स्थानमा रहेको छ । पहिलोपल्ट दोहोरो राउण्ड रोबिनका आधारमा हुन लागेको लिगको विजेता टिमले ७५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै, उपविजेताले ५० लाख र तेस्रो हुने टिमले २५ लाख नगद पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यस्तै, यस सिजनमा एन्फाले प्रतियोगिताको तयारीका लागि प्रत्येक क्लबलाई २० लाख प्रदान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?