पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर
बागलुङ । आइतबारदेखिको निरन्तर वर्षातका कारण दर्जनौं पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । असारदेखि नै नियमित संचालनमा आउन नसकेको करिडोर पहिरोका कारण अहिले पूर्ण ठप्प भएको हो ।

सामान्य खुला जस्तो देखिए पनि करिडोरमा जुनसुकै बेला पहिरो खस्ने र जोखिम हुने कारणले करिडोरको बलेवादेखि मालढुंगा खण्डमा कुनैपनि सवारी चलेकै थिएनन् । झरी पर्न थालेपछि यो सडक पुरै ठप्प भएको हो । करिडोरको दक्षिण खण्डमा पनि दर्जनौं पहिरो खसेकोले यात्रा कठीन भएको स्थानीयले बताए ।

पहिरोकै कारण बागलुङ कुश्मीसेरा सडक पनि मंगलबार बिहानैदेखि अबरुद्ध भयो । दिउँसो खुलाउने प्रयास भएपनि निरन्तर बग्ने लेदोले बागलुङ कुश्मीसेराको गलुवामा सडक सहज संचालन हुन नसकेको हो । रातीदेखि नै खसेका पहिरोले करिडोरको दर्जनबढी स्थानमा सडक अबरुद्ध भएको र गलुवाको पहिरोले यात्रीलाई सास्ती दिएको प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।

गत बर्ष खसेको ठूलो पहिरोमा निरन्तर लेदो खसेपछि यो सडक अबरुद्ध भएको हो । ‘लेदो सहितको पहिरो खसिरहेको छ, जोखिम मोलेर सवारी गुड्न दिएका छैनौं’, रानाले भन्नुभयो, ‘पहिरो पन्छाउन डोजर प्रयोग भएपनि निरन्तर बर्षातले अप्ठ्यारो भएको छ ।’

करिडोर र बागलुङ कुश्मीसेरा खण्ड अबरुद्ध हुँदा दक्षिण बागलुङको बलेवादेखि जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सम्मका यात्रीले यात्रा गर्न पाएका छैनन् । करिडोरमा भने असार लागेपछि नै नियमित सवारी गुड्न नसकेका हुन् । सडक रोकिएकै कारण दैनिक आउने दूध र तरकारी समेत ल्याउन नसकिएको हो ।

सडक नचलेपछि कतिपय किसानले कुश्माको बाटो घुमाएर बागलुङ बजारमा दूध ल्याएको स्थानीय व्यवसायी हिरादेवी शर्माले बताउनुभयो । पहिरोले गत बर्ष तीन महिनासम्म यो सडक अबरुद्ध थियो । २ करोड लागतमा मात्रै पुननिर्माण गर्न सकिने भनिएको सडक बनाउन बागलुङ नगरपालिकाले २० लाख खर्चेर ट्रयाक खोलेको थियो । यो बर्षातमा पनि दैनिक जसो अबरुद्ध हुन लागेपछि जैमिनी नगरपालिकाले डोजरको व्यवस्थापन गरेर खुलाउने काम गरिरहेको छ ।

यो पहिरोले हिउँदमा समेत यात्रीलाई सास्ती दिएको छ । पानी नपरेको दिनमा पनि यो पहिरो निरन्तर खस्ने गरेको छ । झण्डै ५ सय मीटर लामो र १ किमी उचाइको यो पहिरोले कालीगण्डकी किनारका ४ वटा सडक ट्रयाक बिगारेको छ ।

दैनिक सदरमुकाम आउने कर्मचारी, बिद्यार्थी र किसानले पनि पहिरोकै कारण सास्ती खेपेका छन् । ‘आफ्नै सवारी साधन भएपनि पहिरोले गर्दा लैजान सकिएन’ बलेवास्थित एक विद्यालयकी शिक्षिकाले भन्नुभयो्, ‘हरेक दिन पैदल यात्रा गर्दा हैरान परिएको छ ।’

यता निरन्तर वर्षातले मध्यपहाडी लोकमार्गमा पनि यात्रीले सास्ती खेपेका छन् । पश्चिम गलकोट, बुर्तिवाङ लगायतका स्थानबाट आउने जाने यात्रीले सबैभन्दा बढी सास्ती खेपेको बताए । ‘पहिलो तीन घण्टामा आउने बाटो यो पटक ७ घण्टा लाग्यो, त्यो पनि कैयौं स्थानमा फस्दै, हिलाम्मे हुँदै आयौं’ यात्रु कर्ण सुनारले भन्नुभयो, ‘लोकमार्ग निर्माण गर्ने ठेकेदारलाई दबाव दिएर सहज यात्रा बनाउन लगाउनु पर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?