नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माणमा ताकेता

Read Time = 7 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमता वृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभिएका थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ ।

रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसनदेखि बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ । रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ भने ७३ टावर खडा गरिएको छ । २० किलोमिटर तार तानिएको छ । छवटा टावरको जग हाल्ने र तीनवटा टावर खडा गर्ने काम भइरहेको छ । रामेछापमा पर्ने तीनवटा टावर निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ ।

दोलखामा पर्ने ८४ टावरमध्ये मेलुङ गाउँपालिका-७ सित्तलीमा निर्माण हुने एउटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुन सकेको छैन । अधिग्रहण गरिने जग्गाका लागि २०७७ को पुसमा प्रतिरोपनी १० लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएकोमा असहमति जनाउँदै जग्गाधनीले निर्माणमा अवरोध गरिरहेका छन् । सिन्धुपाल्चोकमा पर्ने ३१ टावरमध्ये १३ वटाको जग हालिएको छ भने तीनवटा खडा गरिएको छ । भौगोलिकरूपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावर निर्माणस्थलसम्म पुग्न पहुँच सडक खन्ने काम भइरहेको छ । नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन भ्रमण गरी प्रसारण लाइन र सबस्टेसन निर्माण प्रगतिका बारेमा छलफल गरेको छ ।

टोलीले प्रसारण लाइन निर्माणमा रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरण आपूर्ति, स्थानीय अवरोध, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको छ । सो खण्ड प्रसारण लाइन र सबस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिएको छ ।

नयाँ खिम्ती-बाह्रबिसे खण्ड प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमले ठेक्का पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । सोही कम्पनीहरूले नै २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण गरिरहेका छन् । प्राधिकरणले सबस्टेसन निर्माण आगामी असारभित्र सम्पन्न गर्ने समयसीमा दिएको छ ।

प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र छ करोड १६ लाख ७४ हजार रुपैयाँ बंैक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी केइसी इन्टरनेसनलले ठेक्का पाएको थियो । प्राधिकरण र कम्पनीबीच २०७६ को जेठमा ठेक्का सम्झौता भएको हो । तामाकोशी-काठमाडौं २२०÷४०० केभी प्रसारण लाइन आयोजना बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । प्रसारण लाइनमा सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?