रानीमहलबाट आम्दानी गर्दै स्थानीय सरकार

हिमालय टाइम्स
Read Time = 8 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । नेपालको ताजमहल र प्रेमको प्रतीकका रूपमा परिचित ऐतिहासिक पर्यटकीय स्थल हो पाल्पाको रानीमहल दरबार । यहाँ देश विदेशबाट थुप्रै पर्यटकहरू आउने गर्दछन् । आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण केन्द्रको रूपमा रानीमहल दरबार रहेको छ । यो दरबारको उचित प्रयोग गर्न नसक्दा वर्षौंदेखि यहाँबाट हुने लाखौं आम्दानी खेर गएको थियो । पर्यटकीय क्षेत्र आम्दानीको गतिलो माध्यम पनि हो । यही माध्यमलाई अहिले पाल्पाको तानसेन नगर सरकारले आफ्नो गतिलो आम्दानीको स्रोत बनाएको छ । वर्षौदेखि प्रयोगविहीन अवस्थामा रहेको रानीमहल दरबारलाई व्यवस्थित गरी नगर सरकारले अहिले मनग्य आम्दानी गर्न थालेको छ ।

आन्तरिक स्रोत पहिचान गर्न नसक्दा अधिकांश स्थानीय सरकारहरू प्रदेश र संघीय सरकारको बजेटमै निर्भर बनिरहेका बेला तानसेन नगर सरकारले भने पर्यटकीय क्षेत्रबाट आम्दानी गर्न थालेको हो । नगर सरकारले रानीमहलमा आउने पर्यटकहरूबाट शुल्क उठाएर आम्दानी गर्न थालेको छ । रानीमहल दरबार अवलोकन गर्न पुग्ने पर्यटहरूबाट प्रवेश शुल्क उठाउने गरिएको छ । पाँच महिनाको अवधिमा नगर सरकारले रानीमहल दरबारमा पर्यटक शूल्कबाट मात्र १७ लाख २६ हजार ५२० रूपैयाँ आम्दानी गरेको छ । उसले माघ महिनामा मात्र एक लाख ७७ हजार ७२०, फागुन महिनामा तीन लाख ६२ हजार पाँच सय, चैत महिनामा तीन लाख २८ हजार पाँच सय, वैशाख महिनामा चार लाख ७६ हजार तीन सय र जेठ महिनामा तीन लाख ८१ हजार पाँच सय आम्दानी गर्न सफल भएको नगरपालिका राजस्व शाखा प्रमुख मधुसूदन घर्तिले बताउनुभयो ।

कोरोना संक्रमणको कारण दुई वर्षसम्म बन्द अवस्थामा रहेको रानीमहलमा नगरपालिकाले पर्यटकलाई चाहिने आवश्यक पूर्वाधार निर्माणसँगै २०७८ माघ १ गतेदेखि पुनः सञ्चालनमा ल्याएको थियो । रानीमहल दरबारलाई पुरातत्व विभागले १० वर्षसम्मका लागि रेखदेख तथा संरक्षणको जिम्मा तानसेन नगरपालिकालाई दिएको थियो । नगर सरकारले पर्यटकका लागि रानीमहल दरबार अवलोकनको लागि विहान ८ बजेदेखि ५ बजेसम्म खुला गर्ने व्यवस्था मिलाएको छ । उसले आवश्यकताअनुसार रातीमा समेत उक्त दरबार अवलोकनका लागि व्यवस्था गरेको छ । कोभिडको कारण कुरूप अवस्थामा पुगेको रानीमहल दरबार नगर सरकारकोे वातावरण तथा सरसफाइ शाखाका प्रमुख शंकर भण्डारीको संयोजकत्वमा सरसफाइदेखि पर्यटकीय पूर्वाधार निर्माण गरी माघ १ गतेदेखि औपचारिक रूपमा सबैका लागि खुला गरिएको थियो ।

कुरूप बनेको रानीमहल अहिले हेर्ने लायक बनेको छ । जंगली अवस्थामा पुगेको रानीमहल पूर्ण रूपमा सरसफाइ गरी हेर्न लायक भएको हो । रानीमहल दरबारमा तानसेन नगरपालिकाका कर्मचारीबाट दैनिक रूपमा नियमित सरसफाइ हुँदै आएको छ । रानीमहलमा पुग्ने महिला, पुरुषहरूका लागि छुट्टै शौचालय, निःशुल्क वाईफाई, युरोगार्डको पिउने पानी, पानीका फोहोरा, फुल बगैंचासहित आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाले रानीमहल दरवार भित्र, राणा खड्ग शमशेर, रानी तेजकुमारीको आकर्षक तस्बिरसहित फोटो खिच्ने व्यवस्था, त्यति बेला प्रयोगमा ल्याएका सरसमान सहितको संग्रहालय सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताउनुभयो ।

रानीमहल दरबारमा तानसेन नगरपालिकाले नियमित रुममा तीनजना कर्मचारीहरू खटाउँदै आएको छ । नियमित सरसफाइदेखि, पर्यटकहरूको लागि टिकट व्यवस्थापन, हेरालु तथा मालीको रूपमा नगरपालिकाका कर्मचारीहरू खटिदै आएका छन् । रानीमहलको स्तरउन्नती भएपछि दरबार अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू बढेका छन् । रानीमहलमा पर्यटकको संख्या वृद्धिसँगै होटल, रेष्टुराहरूको संख्यासमेत बढेको छ । तानसेनदेखि रानीमहल पुग्दा बाटो–बाटोमा नयाँ-नयाँ होटल रेष्टुराहरू सञ्चालनमा छन् । रानीमहल दरबारलाई अझै सुन्दर आर्कषक बनाउन आगामी वर्षमा रंगरोगन गर्ने, अन्य किसिमका पर्यटकीय पूर्वाधारहरू थप गर्ने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । रानीमहलसँगै श्रीनगर क्षेत्रलाई पनि व्यस्थित रूपमा आगामी वर्षदेखि सञ्चालन गर्ने तयारीमा जुटेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

रानीमहल नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको छ । रानी तेजकुमारीको निधनबाट विक्षिप्त बन्नुभएका खड्गशमशेरले उहाँकै सम्झनामा रानीमहल निर्माण गर्न लगाएको बताइन्छ । १९५० मा निर्माण सुरु भएको यो दरबार १९५५ पूरा भएको थियो । उत्तरमुखी कालीगंगा बगेको स्थान छानेर रानीमहल निर्माण गरिएको छ । भव्य संरचनायुक्त संसारका कुनै गन्तव्यभन्दा कम छैन रानीमहल । उत्तरमुखी गंगा खुट्टाले कुल्चिँदा पवित्र भइन्छ भन्ने मान्यतासहित सिँढी ओर्लिएर कालीगण्डकीसम्म पुग्ने गरी दरबार बनाइएको छ ।

नेपालको ताजमहल भनिने रानीमहललाई खड्गशमशेर र तेजकुमारीको अमर प्रेमको प्रतीकका रूपमा लिइन्छ । दरबारको भित्तामा जोडीको नाम लेख्दा प्रेम अमर रहन्छ भन्ने विश्वासले यहाँ पुग्ने जोडी दिगो प्रेमको कामना गर्छन् । कालीगण्डकी नदीको उत्तरतर्फ हानिएको मोडमा विशाल चट्टानमाथि रानीमहल निर्माण गरिएको छ । दरबारको बायाँतर्फ शीतलपाटी छ । दरबार परिसरमा ढुंगाबाट निर्मित आकर्षक पोखरी छ । शिव र गंगाका दुई मन्दिर पनि यहाँका आकर्षण हुन् । रानीमहल युनानी शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । रानीमहल तानसेनबाट १४ किलोमिटर उत्तरमा पर्छ । दुई घण्टा पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?